सिंहदरबार नछोड्ने उपसचिवलाई नगरपालिका किन पठाइएन ? सहरी विकास मन्त्रालयमा सचिव–सहसचिवबीच चर्कियो शक्ति संघर्ष
वि.सं.२०८२ चैत २४ मंगलवार
shares
काठमाडौं । मुलुकको राजनीतिक व्यवस्था फेरिए पनि प्रशासनिक संरचनाभित्रको शक्ति संघर्ष, गुटबन्दी र आफ्ना मान्छे जोगाउने प्रवृत्ति भने अझै उस्तै रहेको अर्को उदाहरण सहरी विकास मन्त्रालयमा देखिएको छ। प्रधानमन्त्री बालेन शाहनिकट मानिने सुनिल लम्सालले सम्हालिरहेको मन्त्रालयभित्र अहिले सचिव गोपाल सिग्देल र सहसचिव नारायण मैनालीबीचको विवाद उत्कर्षमा पुगेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा बिडारी अवकाशमा गएपछि सचिव सिग्देलले भौतिक मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन्। यही बीच सहरी विकास मन्त्रालयअन्तर्गतको कर्मचारी व्यवस्थापनमा सचिव र सहसचिवबीच चर्को शक्ति संघर्ष सुरु भएको मन्त्रालय स्रोतले जनाएको छ।
विवादको केन्द्रमा छ सहरी विकास तथा भवन निर्माण विभागको कर्मचारी प्रशासन महाशाखा। यसअघि त्यहाँ कार्यरत उपसचिव रामप्रसाद आचार्य सरुवा भएपछि रिक्त रहेको उक्त पदमा कसलाई पठाउने भन्ने विषयले मन्त्रालयभित्रको आन्तरिक द्वन्द्व सतहमा ल्याएको हो।
सचिव सिग्देलले मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखामा कार्यरत उपसचिव बैकुण्ठ उपाध्यायलाई विभागमा पठाउन चाहेका छन्। उपाध्याय २०७५ सालदेखि सहरी विकास र भौतिक पूर्वाधारजस्ता प्राविधिक मन्त्रालयमै घुमाइएका कर्मचारीका रूपमा चिनिन्छन्। लामो समयदेखि सिंहदरबार र मन्त्रालयमै बसेर शक्तिको घेराभित्र रमाइरहेका उनीजस्ता कर्मचारीलाई स्थानीय तह वा नगरपालिका खटाउनुपर्ने आवाज उठिरहेका बेला फेरि अर्को प्रभावशाली विभागमै लैजान खोजिएको भन्दै मन्त्रालयभित्रै असन्तुष्टि बढेको छ।
विभाग मातहत उपत्यकाभित्र ६ र उपत्यका बाहिर २२ गरी २८ वटा कार्यालय सञ्चालनमा छन्। कर्मचारी प्रशासन महाशाखाले सरुवा, पदस्थापन र कर्मचारी व्यवस्थापनको काम गर्ने भएकाले सचिवले आफू निकट कर्मचारीलाई त्यहाँ राख्न खोजेको आरोप मन्त्रालयभित्रैबाट उठेको छ।
उता मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता सहसचिव नारायण मैनाली भने अतिरिक्त व्यवस्थापन तथा गुनासो व्यवस्थापन अधिकारीको भूमिकामा रहेकी उपसचिव इन्दिरा थापालाई विभागमा पठाउन चाहिरहेका छन्। यही विषयले सचिव र सहसचिवबीच चर्को मतभेद निम्तिएको कर्मचारीहरू बताउँछन्।
यस विषयमा सहसचिव मैनालीसँग जिज्ञासा राख्दा उनले विभाग रिक्त नरहोस् भन्ने उद्देश्यले उपसचिव खटाउने विषय उठेको भए पनि अन्तिम निर्णय भइनसकेको बताएका छन्। “कुन उपसचिव कसको मान्छे हो भन्ने कुरा मलाई थाहा छैन,” उनले प्रतिक्रिया दिएका छन्।
भवन विभागमा अहिले महानिर्देशकका रूपमा रविन्द्र बोहरा कार्यरत छन्। उनलाई पनि सचिव सिग्देलकै जोडबलमा महानिर्देशक बनाइएको चर्चा मन्त्रालयभित्र चल्ने गरेको छ। बोहराको कार्यसम्पादनप्रति पूर्वमन्त्री कुमार इङमाङले सार्वजनिक रूपमै असन्तुष्टि जनाइसकेका छन्।
यही विभागमा फेरि सचिवले आफू निकट उपसचिवलाई पठाउन खोज्नु र सहसचिवले अर्को कर्मचारी अघि सार्नुले सहरी विकास मन्त्रालयभित्रको गुटबन्दी, शक्ति संघर्ष र कर्मचारी व्यवस्थापनको विकृति फेरि एकपटक छताछुल्ल भएको छ। स्थानीय तह कर्मचारी अभावले थलिएका छन्, नगरपालिका र जिल्लामा अनुभवी कर्मचारी पुग्न सकेका छैनन्, तर सिंहदरबार वरिपरि घुम्ने कर्मचारीहरूलाई फेरि शक्तिशाली विभागमै राख्ने खेल भने रोकिने नाम लिएको छैन।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
शहरी विकास मन्त्रालयविरुद्ध ‘५ रुपैयाँ अभियान’ घोषणा स्वतन्त्र निजामती कर्मचारी अभियानको अगुवाइ






























