कर्मचारीलाई कडा निर्देशन:५ बजेअघि कार्यालय छोड्न नपाइने
एकीकृत सवारीका नाममा कामचोर प्रवृत्ति रोक्न सामान्य प्रशासन मन्त्रालयको कडाइ
वि.सं.२०८२ चैत २३ सोमवार
shares
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकीकृत सवारी सेवाका नाममा कार्यालय समयभन्दा अगाडि कर्मचारी निस्किने प्रवृत्तिमाथि कडा अंकुश लगाएको छ।
मन्त्रालयले आज सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई पत्र पठाउँदै सिंहदरबारभित्र र बाहिर सञ्चालन हुने एकीकृत सवारी सेवा बेलुका ५ः३० बजे मात्र छुट्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त गुनासोका आधारमा केही निकायमा सञ्चालन हुने एकीकृत सवारीहरू बेलुका ५ बजे नै हिँड्ने गरिएको, बस चढ्ने कर्मचारीहरू पनि ५ बजेअघि नै कार्यालय छोड्ने गरेको र त्यसले कार्यालयको कार्यसम्पादनमै असर परेको निष्कर्ष निकालिएको छ।
मन्त्रालयले कर्मचारीहरू समयअघि नै बाहिरिने प्रवृत्तिले सेवाग्राही मारमा परेको, कार्यालयको काम प्रभावित भएको र सरकारी सेवा प्रवाहमा ढिलासुस्ती बढेको भन्दै अबदेखि कडाइका साथ नियम लागू गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार २०८२ मंसिर २४ गतेदेखि नै एकीकृत सवारी सेवा बेलुका ५ः३० बजे मात्र छुट्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेछ।
कार्यालय समय सकिनु अगावै सवारीको बहानामा निस्किने, हाजिर गरेर काम नगर्ने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमाथि सरकारले अब निगरानी बढाउने संकेत पनि उक्त निर्देशनले दिएको छ।






























