निजी मिडियामाथि सरकारी विज्ञापन बन्दको निर्णयविरुद्ध पत्रकार महासंघ सडकमा

294
shares

काठमाडौँ । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आन्दोलनमा उत्रिएको छ। शाखाले भोलि बिहान ११ बजेदेखि बबरमहलस्थित सडक विभाग अगाडि एक घण्टा धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ। यही जेठ २९ गते पनि थप धर्ना कार्यक्रम आयोजना गरिने जनाएको छ।

महासंघले सरकारी विज्ञापन तथा सूचनालाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयलाई विभेदकारी, स्वेच्छाचारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै त्यसको खारेजीको माग गरेको छ। साथै, प्रेसको संवैधानिक हकको संरक्षण, संसद्बाट सर्वपक्षीय कार्यदल गठन तथा संविधान संशोधनको पहलमार्फत नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ।

गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवस्तरीय बैठकले सरकारी विज्ञापन र सूचनाहरू सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएयता नेपाल पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।

महासंघले सरकारको निर्णयले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने मात्र होइन, स्वतन्त्र प्रेसको अस्तित्वमाथि नै प्रश्न उठाउने चेतावनी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने संकेत गरेको छ।

civil hospital
Hams Hospitals