अवैध लेनदेन र आन्तरिक विवादको छायाँ : धनुषामा किन टिक्दैनन् प्रहरी प्रमुख ?
वि.सं.२०८३ जेठ २७ बुधवार
shares
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पछिल्लो एक वर्षभित्र पाँचौँ प्रहरी प्रमुख पाएको छ। एसएसपीमा बढुवा भएका एसपी अमरेन्द्रबहादुर सिंहको स्थानमा एसपी रुपेश खड्का आएपछि धनुषामा प्रहरी नेतृत्व फेरिने क्रम फेरि चर्चामा आएको छ।
धनुषा प्रहरीको नेतृत्व परिवर्तनलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र मान्न कठिन देखिन्छ। पछिल्ला वर्षहरूमा यहाँ खटिएका अधिकांश प्रहरी प्रमुख कुनै न कुनै विवाद, दबाब वा आन्तरिक असमझदारीका कारण कार्यकाल पूरा गर्न नपाउँदै सरुवा भएका छन्। यसले जिल्लाको सुरक्षा प्रशासनमाथि नै प्रश्न उठाएको छ।
यसअघि जिल्ला प्रहरी प्रमुख रहेका एसपी भुवनेश्वर तिवारी र नरहरि रेग्मी व्यवसायीसँगको अवैध लेनदेन र निकट सम्बन्धको आरोपपछि विवादमा तानिएका थिए। ती विवादले प्रहरी संगठनभित्र मात्र होइन, सार्वजनिक वृत्तमा समेत व्यापक चर्चा पाएको थियो। त्यसपछि धनुषा प्रहरीको नेतृत्व सम्हाल्न पुगेका एसपी रुगमबहादुर कुवर पनि लामो समय टिक्न सकेनन्। प्रदेश प्रहरी नेतृत्वसँगको असमझदारी र व्यवसायिक क्षेत्रसँग सम्बन्धित विषयमा उत्पन्न विवादपछि उनको सरुवा भएको थियो।
प्रहरी स्रोतहरूका अनुसार धनुषा जस्तो आर्थिक गतिविधि, सीमावर्ती व्यापार र विभिन्न स्वार्थ समूहको प्रभाव रहेको जिल्लामा प्रहरी प्रमुखमाथि अनेक प्रकारका दबाब रहने गरेका छन्। त्यही दबाब व्यवस्थापन गर्न नसक्दा वा लेनदेनसम्बन्धी आरोपमा मुछिँदा नेतृत्व परिवर्तन हुने गरेको विश्लेषण गरिन्छ।
यही क्रममा एसपी अमरेन्द्रबहादुर सिंहले छोटो समयमै बढुवा पाएर जिल्ला छाडेपछि नयाँ जिम्मेवारी लिएर एसपी रुपेश खड्का जनकपुर पुगेका छन्। तर, उनी स्वयं पनि विगतमा विवादबाट पूर्ण रूपमा मुक्त व्यक्ति भने होइनन्। प्रहरी कर्मचारीलाई संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा पठाउने पूर्व–छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा उनीमाथि कारबाही सिफारिस गरिएको थियो। यद्यपि उक्त सिफारिस कार्यान्वयन भएन र पछि उनी एसपीमा बढुवा भए।
धनुषामा बारम्बार प्रहरी नेतृत्व परिवर्तन भइरहँदा मुख्य प्रश्न भने उही छ—के यो केवल संयोग हो, वा अवैध आर्थिक चलखेल, राजनीतिक प्रभाव र संगठनभित्रका शक्ति संघर्षले प्रहरी प्रमुखहरूलाई टिक्न नदिएको हो ? नयाँ एसपी खड्काको आगमनसँगै धनुषा प्रहरी प्रशासनले स्थायित्व र विश्वसनीयता कायम गर्न सक्ने कि नसक्ने भन्ने विषय अब परीक्षणको घेरामा रहनेछ।




























