काम नगरे खुट्टा भाँचिदिनुस् !’ भौतिक पूर्वाधारमन्त्री लम्सालको विवादास्पद आदेश, अनुगमनका नाममा ठेकेदारमाथि धम्की

309
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सडक आयोजना अनुगमनका क्रममा दिएको अभिव्यक्तिले नयाँ विवाद निम्त्याएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले काममा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनुस्” भन्दै दिएको निर्देशनलाई गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्तिका रूपमा हेरिएको छ।

आइतबार आयोजना क्षेत्रको अनुगमनमा पुगेका मन्त्री लम्सालले वर्षायामका कारण बढ्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए। काममा लापरवाही वा अनावश्यक ढिलासुस्ती कुनै हालतमा स्वीकार्य नहुने चेतावनी पनि उनले दिएका थिए।

अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले बिजुलीका पोल नहटाइएकाले काममा अवरोध भएको गुनासो गरेपछि मन्त्री लम्साल आक्रोशित बनेका थिए। उनले पोल सार्ने जिम्मा लिएको ठेकेदारलाई जहाँ भए पनि खोजेर ल्याउन निर्देशन दिँदै आक्रामक शैलीमा भने, “यो पोलवाला कन्ट्रयाक्टर जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस्, मतलब भएन। चाँडोभन्दा चाँडो पोल सार्नुपर्‍यो, यहाँका जनताले धेरै दुःख पाए।”

मन्त्रीको यस्तो अभिव्यक्तिले राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिबाट कानुनी शासनभन्दा बाहिर गएर हिंसात्मक भाषा प्रयोग गरिएको भन्दै प्रश्न उठ्न थालेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट कानुनको कार्यान्वयन गराउनेभन्दा पनि शारीरिक कारबाहीको धम्की दिने शैलीले सरकारको कार्यशैलीमाथि नै प्रश्न चिन्ह खडा गरेको टिप्पणी हुन थालेको छ।

यद्यपि मन्त्री लम्सालले आयोजनालाई गति दिन आवश्यक निर्माण सामग्री उपलब्ध गराउन र सम्बन्धित निकायबीच समन्वय गरी काममा सहजीकरण गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडक खण्डलाई तीन वटा प्याकेजमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ। पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन खण्ड समेटिएको छ।

मन्त्रीको विवादास्पद अभिव्यक्तिले भने विकास निर्माणमा ढिलासुस्तीप्रति सरकारको असन्तुष्टि देखाए पनि, त्यसको अभिव्यक्ति कानुनी र मर्यादित भाषाभन्दा बाहिर गएको भन्दै चौतर्फी बहस सुरु भएको छ।

civil hospital
Hams Hospitals