जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

267
shares

काठमाडौं । इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा.अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

 

जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचार गर्नुपर्ने उनी बताउँछन् ।

 

उनका अनुसार शरीरमा आगोको लप्का लागेको अवस्थामा व्यक्ति एक्लै छ भने भुईँमा ढलेर लडिबुडी गर्ने (स्टप, ड्रप एन्ड रोल) विधिबाट आगो निभाउन सकिन्छ । यो जलनमा आगो निभाउने विश्वव्यापी रूपमा प्रयोग हुने प्रभावकारी विधि हो ।

 

त्यस्तै, आगो निभाउनका लागि बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नलाग्ने ब्ल्यांकेटलाई पानीमा भिजाएर प्रयोग गर्न सकिने उनले बताए। तर आगो निभाउने क्रममा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

 

डा। धितालका अनुसार आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा छ भने जलेको भागमा करिब ३० मिनेटसम्म बगिरहेको सामान्य तापक्रमको पानी हाल्नुपर्छ । फ्रिजको चिसो वा तातो पानी प्रयोग गर्न नहुने उनले बताए ।

 

‘जलेको भागलाई पानीमा डुबाउने होइन, माथिबाट पानी बगाउने हो । यदि धारा उपलब्ध छैन भने तल भाँडा राखेर माथिबाट पानी हाल्न सकिन्छ,’ उनले भने ।

 

उनका अनुसार जलनपछि जलेर शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्नु हुँदैन। त्यसो गर्दा छाला थप च्यातिने र घाउ गहिरो हुन सक्ने जोखिम हुन्छ ।

 

जलनपछि बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने बिस्तारै पानी खुवाउनुपर्ने पनि उनले बताए । जलन हुँदा शरीरबाट पानीको मात्रा घट्दै जाने भएकाले शरीरमा तरल पदार्थको कमी हुन सक्ने उनको भनाइ छ ।

 

‘छाला हाम्रो शरीरको सुरक्षा कवच हो । घरको छतले जसरी बाहिरी असरबाट जोगाउँछ, त्यसै गरी छालाले शरीरभित्रको पानी र तरल पदार्थलाई जोगाएर राख्छ । जलनपछि छाला नष्ट हुँदा शरीरबाट पानीको मात्रा घट्न थाल्छ,’ डा. धितालले भने ।

 

उनका अनुसार प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ । बिरामी खान सक्ने अवस्थामा छ भने बाटोमा पनि पानी खुवाउँदै लैजान सकिन्छ ।

 

तर बिरामीको अवस्था गम्भीर छ, बेहोस छ वा खान सक्ने अवस्थामा छैन भने ढिला नगरी स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने उनले बताए ।

 

‘यी सामान्य फर्स्ट एडका उपाय हुन् । गम्भीर जलन भएको अवस्थामा चिकित्सकीय उपचार नै आवश्यक हुन्छ,’ डा. धितालले बताए । तर नेपालमा जलनबारे पर्याप्त जनचेतनाको अभाव र प्राथमिक उपचारमा कमजोरी हुने गरेका छन् ।

 

बिहीबारको गणेश नेपालीको घटनामा पनि अज्ञानताका कारण जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारका उपायहरू प्रयोग हुन नसकेको देखिन्छ ।

civil hospital
Hams Hospitals