एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ।
दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा विद्युतीय सवारी साधनको पहुँचलाई अझ सुलभ, किफायती र व्यावहारिक बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार यो कर्जा सुविधा सरल र छिटो प्रक्रियामार्फत व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा बैंकका डिजिटल माध्यममार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।
एनएमबि बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन तथा नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न समयानुकूल र प्रभावकारी वित्तीय सेवाहरू निरन्तर रूपमा ल्याउँदै आएको जनाएको छ। सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा पनि हरित वित्तीय प्रणालीलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको बैंकले उल्लेख गरेको छ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।





























