Banner ad for NADA AUTO SHOW -2026

भोटेकोसी बाढीप्रति मधेश प्रदेश सरकारको दुःख व्यक्त, मुख्यमन्त्रीदेखि कर्मचारीसम्मको एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने

480
shares

 

जनकपुरधाम । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

आज बसेको मधेश प्रदेश सरकारको बैठकले बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस घडीमा प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई हार्दिक अपिलसमेत गरेको छ।

त्यस्तै, विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले विपद्को समयमा राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र एकजुटता आवश्यक रहेको जनाएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा जुट्नसमेत सरकारले सबै पक्षलाई आग्रह गरेको छ।

मधेश प्रदेश सरकारले विपद्मा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायसँग प्रदेश सरकार साथमा रहेको जनाएको छ।

civil hospital
Hams Hospitals