ग्यास वितरणमा मनोमानीको आरोप, ग्राहकलाई उल्टै प्रहरी धम्की
वि.सं.२०८३ भदौ ११ बिहीवार
shares
काठमाडौं । काठमाडौंको सानो भर्याङस्थित नेपाल ग्यास डिपोमा ग्यास वितरणमा मनोमानी हुने गरेको भन्दै स्थानीय ग्राहकहरूले गम्भीर गुनासो गरेका छन्। ग्यास लिन डिपोमा स्वयं पुगेर आफ्नो नाम टिपाइदिन आग्रह गर्दा समेत पसल सञ्चालकले नाम नटिप्ने गरेको ग्राहकहरूको आरोप छ।
स्थानीयका अनुसार डिपोमा ग्यास डेलिभरीका लागि करिब ९ देखि १० जना कर्मचारी परिचालन गरिएको भए पनि सर्वसाधारण ग्राहकले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेको छ। ग्राहकहरूले नाम टिपाउन आग्रह गर्दा कर्मचारीहरूले समेत आफूले सञ्चालकले भनेअनुसार मात्रै काम गर्ने र कसको नाम टिप्ने भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने जवाफ दिने गरेको बताइएको छ।
ग्राहकहरूको आरोपअनुसार डिपोमा ग्यासको गाडी आएर सिलिन्डर झारिसकेपछि समेत सर्वसाधारणलाई सहज रूपमा वितरण गर्नुको सट्टा सञ्चालक र डेलिभरीमा संलग्न व्यक्तिहरूले आफ्ना चिनजान तथा आफन्तलाई प्राथमिकता दिने गरेका छन्। यद्यपि, यी आरोपबारे सम्बन्धित ग्यास पसल सञ्चालकको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
ग्राहकसँग विवाद हुँदा प्रहरीको भूमिका पनि प्रश्नमा
ग्यास वितरणकै विषयलाई लिएर विवाद भएपछि नेपाल प्रहरी स्वयम्भूका प्रहरी सहायक निरीक्षक (सई) एमबी घले घटनास्थल पुगेको बताइएको छ। तर, ग्राहक पक्षको गुनासो सुन्ने र विवाद समाधान गर्ने अपेक्षा गरिएका प्रहरी अधिकारीले उल्टै ग्राहकलाई धम्की दिएको आरोप लागेको छ।
ग्राहक प्रज्वल नाम गरेका व्यक्तिले आफ्नो नाम टिपिदिन आग्रह गर्दा समेत ग्यास पसलले नमानेको विषयमा विवाद भएको र त्यसक्रममा प्रहरी अधिकारीले “धेरै नबोल, तिमीलाई लगेर थुनिदिन्छु” भन्दै धम्क्याएको प्रज्वलको गुनासो छ।
घटनामा प्रहरीलाई बोलाइएको भए पनि आफ्नो कुरा नसुनी उल्टै आफूलाई नै नियन्त्रणमा लिने चेतावनी दिइएपछि आफू प्रहरीबाटै असुरक्षित महसुस गर्नुपरेको प्रज्वलको भनाइ छ।
विवाद समाधान गर्न पुगेको प्रहरीबाटै एक पक्षलाई संरक्षण र अर्को पक्षलाई धम्की दिइएको हो भने त्यो गम्भीर विषय बन्ने स्थानीयको भनाइ छ। प्रहरीले निष्पक्ष रूपमा दुवै पक्षको कुरा सुनेर कानुनी प्रक्रियाअनुसार विवाद समाधान गर्नुपर्नेमा ग्राहकलाई नै थुनिदिने धम्की दिनु कति उचित हो भन्ने प्रश्नसमेत उठेको छ।
नमुना ग्यास सप्पलायर्समा पनि उस्तै गुनासो
यसैबीच राधाकृष्ण मन्दिर नजिक रहेको नमुना ग्यासमा समेत ग्राहकको नाम नटिप्ने र आफूखुसी ग्यास वितरण गर्ने गरेको गुनासो आएको छ।
ग्राहक दिनेश पन्तका अनुसार ग्यास लिन पुगेका सर्वसाधारणको नाम टिप्ने व्यवस्था नगर्ने, आफ्ना चिनजानका व्यक्तिलाई प्राथमिकतामा राखेर ग्यास दिने र क-कसलाई ग्यास वितरण गरियो भन्ने जानकारीसमेत नदिने गरिएको छ।
ग्यासजस्तो अत्यावश्यक उपभोग्य वस्तुको वितरणमा पारदर्शिता कायम गर्नुपर्नेमा ग्राहकको नामसमेत नटिप्ने र पहुँचका आधारमा वितरण हुने अवस्था देखिएको हो भने सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने देखिन्छ।
ग्यास वितरणमा देखिएको भनिएको यस्तो मनोमानी, ग्राहकको गुनासो नसुनी उल्टै प्रहरीबाट धम्की आएको आरोप तथा सर्वसाधारणको पहुँचमा ग्यास नपुगेको विषयमा सम्बन्धित निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग स्थानीयले गरेका छन्।






























