भोटेकोशीको भीषण बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरूपमा क्षतिग्रस्त
वि.सं.२०८३ भदौ १३ शनिवार
shares
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट बैंकका शाखा कार्यालयमा ठूलो भौतिक क्षति भए पनि प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू भने सुरक्षित रहेको बैंकले जनाएको छ।
बाढीका कारण रसुवा जिल्लास्थित स्याफ्रुबेंसी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन नै बाढीले बगाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको बैंकले जनाएको छ।
शाखा कार्यालयहरूमा भएको व्यापक क्षतिका कारण ती तीनवटै शाखा अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेका छन्। आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्न बैंक तयारी अवस्थामा रहेको जनाएको छ।
अकल्पनीय रूपमा आएको भीषण बाढीबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने सबैप्रति बैंक परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
त्यस्तै, हालसम्म सम्पर्कमा आउन नसकेका नागरिकहरूको शीघ्र तथा सकुशल उद्धार र बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैंकले गरेको छ।
बैंकले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक, कर्मचारी तथा सम्बन्धित निकायको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र सहकार्य जारी राख्ने जनाएको छ।






























