के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै
वि.सं.२०८३ भदौ १४ आइतवार
shares
काठमाडौं । के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ। ग्रुपले भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ राहत सामग्री पठाउने जनाएको छ।
पहिलो चरणको राहत अभियानअन्तर्गत करिब ३० लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्री प्रभावित क्षेत्रका नागरिकका लागि पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा बाढी प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ।
ग्रुपका अनुसार राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेललगायत अत्यावश्यक खाद्यान्न सामग्री समावेश छन्। त्यस्तै बिस्कुट, चिउरा, दालमोठ तथा विभिन्न प्रकारका मसलासमेत राहत सामग्रीमा राखिएको छ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति तथा विभिन्न स्थानमा देखिएको यातायात अवरोधलाई ध्यानमा राख्दै थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याइने के एल दुगड ग्रुपले जनाएको छ।
संकटको घडीमा बाढी प्रभावित परिवारसँगै उभिँदै आवश्यक मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको ग्रुपको भनाइ छ। प्रभावित नागरिकको तत्काल आवश्यकतालाई प्राथमिकतामा राखेर राहत तथा सहयोगलाई निरन्तरता दिने पनि जनाएको छ।
सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामध्ये एक हो। ग्रुपले मुख्य रूपमा खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्स उत्पादनको उत्पादन र बजारीकरण गर्दै आएको छ।ग्रुपअन्तर्गत ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा र लिभप्योर लगायतका लोकप्रिय ब्रान्डहरू बजारमा रहेका छन्।





























