भोटेकोसी बाढीपीडितका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एसटीसी ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
ग्रुपले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। एसटीसी ग्रुपका आधिकारिक वितरकका रूपमा काम गर्दै आएको भारतीय कम्पनी भेरोक इन्टरनेशनलले पनि बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
ग्रुपका अनुसार प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको हो।
एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। निजी क्षेत्रले सरकारको राहत तथा उद्धार प्रयासमा सहयोग गर्नुपर्ने भएकाले संस्थागत रूपमा सहयोग गरिएको उनको भनाइ छ।
भोटेकोसी बाढीले जनजीवनसँगै भौतिक संरचना र स्थानीय अर्थतन्त्रमा समेत ठूलो क्षति पुर्याएको भन्दै ग्रुपले प्रभावित क्षेत्रको पुनःस्थापनामा सरकार, निजी क्षेत्र र नागरिकबीचको सहकार्य आवश्यक रहेको जनाएको छ।
एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट र टायरलगायतका उत्पादनको बिक्री तथा वितरणमा सक्रिय छ। ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ।



























