बाढीपीडितका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा ५० लाखभन्दा बढीको सहयोग

168
shares

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) ले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित नागरिकका लागि ५० लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ।

मिति २०८३ भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति एसोसिएसनले गहिरो दुःख व्यक्त गरेको छ। एसोसिएसनले बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई आर्थिक सहयोग गर्न आफ्ना सदस्यहरूलाई गरिएको आह्वानअनुसार एसोसिएसनले नगद तथा जिन्सी सामग्री गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग उपलब्ध गराएको जनाएको छ।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा देश शोकमा डुबेका बेला बाढी प्रभावित क्षेत्रका नागरिकहरू खाली खुट्टा हिँड्न नपरोस् भन्ने उद्देश्यले संघका सदस्यहरूबाट प्राप्त जुत्ता–चप्पल राहतस्वरूप सम्बन्धित सरकारी निकायमा उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ। हालसम्म १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण गरिसकिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनका अनुसार राहत सामग्री वितरणका लागि सरकारी संयन्त्रबाट कुन–कुन स्थानमा कति जोर जुत्ता–चप्पल आवश्यक छ भन्ने विवरण उपलब्ध भएमा सोहीअनुसार थप सामग्री उपलब्ध गराउन संघ तयार अवस्थामा रहेको छ।

एसोसिएसनका महासचिव निर्मल भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) ले निजी क्षेत्र तथा व्यवसायी समुदायलाई समेत विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।

civil hospital
Hams Hospitals