लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग

168
shares

काठमाडौं। लक्ष्मी सनराइज बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवारको घर, जीविकोपार्जनका साधन तथा अत्यावश्यक भौतिक पूर्वाधारमा क्षति पुगेको छ। विपद्पछि तत्कालीन उद्धार तथा राहतका कार्यहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेको अवस्थामा प्रभावित समुदायलाई दीर्घकालीन सहयोग र साथ आवश्यक रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त आर्थिक सहयोगमार्फत बाढी प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्काउन तथा पुनःस्थापना र पुनर्निर्माणका प्रयासलाई थप प्रभावकारी बनाउन भइरहेका सामूहिक अभियानमा आफ्नो तर्फबाट योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

बैंकले बाढी तथा विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।

लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको जनाएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आवश्यक पहल तथा सहयोगमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।

civil hospital
Hams Hospitals