प्रभु बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
२०८३ भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारमा बसोबास गर्ने नागरिकहरूले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ। उक्त विपद्बाट प्रभावित परिवारहरूको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।
बैंकले २०८३ भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २,११,११,१११ को चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो।
बैंकले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।





























