१०० भन्दा बढी बाढी प्रभावित बालबालिकाको उच्च शिक्षामा सहयोग गर्ने घोषणा

135
shares

पोखरा । डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन (भारत) र बतास फाउन्डेसन (नेपाल) ले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न मानवीय सहकार्य गर्ने भएका छन्।

 

रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना र भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले दुई संस्थाबीच सहकार्य भएको हो।

 

यस सहकार्यअन्तर्गत प्रकोपका कारण अभिभावक गुमाएका १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। आर्थिक तथा सामाजिक कठिनाइका कारण प्रभावित बालबालिकाले शिक्षा छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले दीर्घकालीन शैक्षिक सहयोगको कार्यक्रम अघि बढाइएको हो।

 

संस्थाहरूले प्राकृतिक विपत्तिपछि राहत, उद्धार, खाद्यान्न, औषधि र अस्थायी आवासजस्ता तत्कालीन आवश्यकता महत्वपूर्ण भए पनि विपद् सकिएपछि प्रभावित परिवारले जीविकोपार्जन, घर तथा सम्पत्ति गुमाउने, आम्दानीका स्रोत अवरुद्ध हुने र बालबालिकाको शिक्षामा समस्या आउनेजस्ता दीर्घकालीन चुनौती सामना गर्नुपर्ने बताएका छन्।

विशेषगरी अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने भएकाले यो सहकार्यलाई छात्रवृत्तिमा मात्र सीमित नगरी उनीहरूको आत्मविश्वास, अवसर र भविष्यप्रतिको आशा पुनःस्थापित गर्ने दीर्घकालीन मानवीय लगानीका रूपमा अघि बढाइने बताइएको छ।

दुवै संस्थाले राहतले तत्कालको पीडा कम गरे पनि शिक्षाले बालबालिकाको जीवनको दिशा परिवर्तन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। निरन्तर शैक्षिक सहयोगमार्फत बालबालिकालाई ज्ञान, सीप, आत्मनिर्भरता र भविष्यमा आफ्नो समुदायमा योगदान पुर्‍याउने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

 

डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, महिला तथा बाल सशक्तीकरण र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ। विश्वप्रसिद्ध भौतिकशास्त्री तथा लेजर वैज्ञानिक डा. मणिलाल भौमिकको मानवीय दर्शनबाट प्रेरित फाउन्डेसनले शिक्षा, वैज्ञानिक सोच, डिजिटल साक्षरता, स्वास्थ्य सेवा, सीप विकास र विपद् प्रतिकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

त्यस्तै, बतास फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, छात्रवृत्ति, विपद् राहत र समुदाय सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायमा राहत, पुनःस्थापना र दीर्घकालीन सहयोगको आवश्यकता पहिचान गर्न फाउन्डेसनले विभिन्न सरोकारवालासँग सहकार्य गरिरहेको जनाएको छ।

दुवै संस्थाले नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सामाजिक सम्बन्ध र साझा मानवीय भावनालाई थप बलियो बनाउने उद्देश्यले सहकार्य अघि बढाइएको बताएका छन्। उनीहरूले प्राकृतिक विपत्तिले भौगोलिक सीमा नचिन्ने भएकाले मानवीय सहयोग पनि सीमित हुन नहुने धारणा व्यक्त गरेका छन्।
संस्थाहरूका अनुसार एउटा बालबालिकाको भविष्य सुरक्षित गर्नु एउटा परिवारको मात्र नभई समग्र पुस्ताको भविष्य सुरक्षित गर्नु हो। सहकार्यलाई “नेपालका लागि सँगै, मानवताका लागि सँगै, भविष्यका लागि सँगै” भन्ने भावनाका साथ अघि बढाइने जनाइएको छ।

civil hospital
Hams Hospitals