पशु स्वास्थ्यकर्मी बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि तयार
वि.सं.२०८३ भदौ १८ बिहीवार
shares
Photo By: default
मकवानपुर । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा हालै आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधन तथा पशुचौपायाको क्षतिप्रति बकैया गाउँपालिका, मकवानपुरमा कार्यरत पशु स्वास्थ्यकर्मीहरूले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा मानव तथा पशु उद्धार, उपचार र राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बकैया गाउँपालिकाका सरकारी तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण पशु स्वास्थ्यकर्मीहरूले विपद्को यस कठिन समयमा एकजुट भई प्रभावित नागरिक तथा पशुचौपायाको उद्धार, राहत र आपत्कालीन स्वास्थ्य उपचारमा आवश्यक सहयोग पुर्याउने बताएका हुन्।
उनीहरूले बाढी–पहिरोका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको तथा घरपालुवा पशुचौपायासमेत प्रभावित भएको भन्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
विपद्का बेला घाइते नागरिकको प्राथमिक उपचार र उद्धारसँगै कृषकहरूको मुख्य सम्पत्ति तथा जीविकोपार्जनको आधारका रूपमा रहेका पशुचौपायाको उद्धार, उपचार र संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने पशु स्वास्थ्यकर्मीहरूको भनाइ छ।
बाढी तथा पहिरोमा परी मृत्यु भएका पशुपन्छीका शव उचित तथा वैज्ञानिक ढंगले व्यवस्थापन नगरिएमा खानेपानीका स्रोत दूषित हुने, दुर्गन्ध फैलिने तथा पशुपन्छीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगलगायत संक्रामक रोगको जोखिम बढ्न सक्ने उनीहरूले बताएका छन्।
त्यसैले प्रभावित क्षेत्रमा बिरामी तथा घाइते पशुहरूको निःशुल्क उपचार, आवश्यक खोप तथा महामारी नियन्त्रणका लागि मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन गर्न प्राविधिक टोलीलाई थप व्यवस्थित रूपमा परिचालन गर्नुपर्ने उनीहरूको माग छ।
नेपाल सरकार वा सम्बन्धित निकायले आह्वान गरेमा बकैया गाउँपालिकामा कार्यरत पशु चिकित्सक तथा पशु प्राविधिक टोली जुनसुकै समयमा प्रभावित क्षेत्रमा खटिन तयार रहेको पशु स्वास्थ्यकर्मीहरूले बताएका छन्।
यसै क्रममा पशु उपचार तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बकैया गाउँपालिकाका सरकारी तथा निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मीहरूले व्यक्तिगत तथा संस्थागत रूपमा रकम संकलन गरी एकमुष्ट ५० हजार ८९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेका छन्।
त्यस्तै, सरकारी सेवामा कार्यरत पशु स्वास्थ्यकर्मीहरूले संघीय सरकारका कर्मचारीसरह आफ्नो श्रेणीअनुसार २ देखि १० दिनसम्मको तलब राहत कोषमा योगदान गर्न तयार रहेको घोषणा गरेका छन्।
पशु स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रमा आवश्यक औषधि, खोप तथा अन्य राहत सामग्रीको आवश्यकता परेमा उपलब्ध गराउन आफूहरू सधैँ तयार रहेको बताएका छन्।
बकैया गाउँपालिकाका पशु स्वास्थ्यकर्मीहरूले विपद्को समयमा देखाएको तत्परता, ऐक्यबद्धता र मानवीय भावनाले प्रभावित क्षेत्रको उद्धार, राहत, पुनःस्थापना तथा सम्भावित महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।





























