बाढीपीडितको साथमा युवा संघ नेपाल, नुवाकोटमा राहत सामग्री हस्तान्तरण
वि.सं.२०८३ भदौ २१ आइतवार
shares
नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी निकट युवा संघ नेपालले नुवाकोटमा राहत सामग्री हस्तान्तरण गरेको छ।
युवा संघ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा प्रभावित क्षेत्रमा परिचालित टोलीले विदुर नगरपालिका–७ का वडा अध्यक्ष रबिन्द्र नेपालको समन्वयमा बाढी तथा पहिरो प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।
राहत सामग्रीअन्तर्गत प्रभावित परिवारका लागि लुगा तथा कपडा सेट, ब्ल्याङ्केट, म्याट, बेडसिट, भाँडा सेट, रासन सेट तथा स्टेशनरी सामग्री लगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको युवा संघ नेपालले जनाएको छ।
राहत वितरणका क्रममा वडा अध्यक्ष रबिन्द्र नेपालले प्रभावित नागरिकको अवस्था तथा उनीहरूलाई तत्काल आवश्यक पर्ने सामग्रीबारे जानकारी लिनुभएको थियो। उहाँले प्रभावित परिवारसम्म राहत सामग्री सहज रूपमा पुर्याउन आवश्यक समन्वय तथा सहजीकरणसमेत गर्नुभएको थियो।
बाढी तथा पहिरोका कारण घर तथा भौतिक संरचनामा क्षति पुगेका परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनर्स्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।
युवा संघ नेपालका कार्यालय सचिव **दिपक बि.क.**ले राहत वितरणमा मात्र सीमित नभई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा समेत युवा स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदान लगायतका काममा युवा स्वयंसेवक परिचालन गरिनेछ।
“विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। राहत वितरणपछि पनि आवश्यकताअनुसार पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा स्वयंसेवक परिचालन गरी प्रभावित नागरिकको साथमा रहनेछौँ,” कार्यालय सचिव बि.क.ले बताउनुभयो।
युवा संघ नेपालले विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि स्थानीय तह, जनप्रतिनिधि, सम्बन्धित सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।
विपद्पछि प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्य सामग्रीसँगै सुरक्षित आवास, सरसफाइ, स्वास्थ्य सेवा तथा दैनिक जीवनयापनका आधारभूत आवश्यकतामा समेत सहयोग आवश्यक पर्ने भएकाले आगामी दिनमा आवश्यकता पहिचान गरी थप सहयोग तथा स्वयंसेवी अभियान सञ्चालन गर्ने युवा संघ नेपालले जनाएको छ।
युवा संघ नेपालले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने र राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विभिन्न चरणमा स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।





























