आफ्नो छोरा प्रधानमन्त्री शाहको स्वकीय सचिवालयमा रहेको भन्दै प्रभु बैंकमा मनपरी
वि.सं.२०८३ भदौ २६ शुक्रवार
shares
काठमाडौं ।प्रभु बैंकमा सञ्चालक रहेकी अम्बिका शर्मा लामिछानेले प्रधानमन्त्री कार्यालयमा कार्यरत सुवास शर्मा आफ्नो छोरा भएको भन्दै नियामक निकायका अधिकारीमाथि प्रभाव पार्न थालेकी छन्। प्रधानमन्त्री बालेन शाहको स्वकीय सचिवमा सुवास शर्माको नाम छ। अम्बिकाको छोराको नाम पनि सुवास शर्मा नै हो।
प्रभु बैंककी सञ्चालक अम्बिका शर्मा लामिछानेले बैंकबाट नियमविपरीत आर्थिक लाभ लिएको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि नियामक निकायले छानबिन अघि बढाएको थियो। राष्ट्र बैंकको छानबिनबाट बैंकबाट नियमविपरीत रकम लिएको निष्कर्ष निकाल्दै उक्त रकम फिर्ता गर्न निर्देशनसमेत दिइएको छ। यो कारबाहीबाट बच्न अम्बिकाले राष्ट्र बैंकका अधिकारीहरूलाई सुवास शर्मा आफ्नो छोरा भएको कारण आफूलाई नचलाउन धम्की दिएको खुलासा भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार लामिछानेले प्रधानमन्त्री कार्यालयको हवाला दिएकी हुन्।
लामिछानेले आफू सञ्चालक रहेको बैंकबाट आफ्नै छोराको नाममा रहेको कम्पनीमार्फत आर्थिक लाभ लिएको विषयमा प्रश्न उठेपछि राष्ट्र बैंकमा उजुरी परेको थियो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको र कारबाहीको माग गरिएको छ।
तर, प्रधानमन्त्री कार्यालयमा स्वकीय सचिवका रूपमा कार्यरत सुवास शर्माले आफू अम्बिका शर्मा लामिछानेको छोरा नभएको बताएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
लामिछानेका छोराको नाम पनि सुवास शर्मा नै रहेको र प्रधानमन्त्रीका स्वकीय सचिवसँग नाम मिलेका कारण त्यसको दुरुपयोग गरेर प्रभाव जमाउन खोजिएको हो कि भन्ने शंका थपिएको राष्ट्र बैंकका एक निर्देशकले बताए।
राष्ट्र बैंक स्रोतका अनुसार बैंकबाट नियमविपरीत आर्थिक लाभ लिएको विषयमा रकम फिर्ता गर्न निर्देशन दिइएको छ।
लामिछानेविरुद्ध परेको उजुरीमाथि लामो समयसम्म कारबाही नभएको भन्दै प्रश्न उठिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत सम्बन्धित निकायलाई पत्राचार भएपछि प्रक्रिया अघि बढेको हो।
लामिछानेमाथि आफू सञ्चालक रहेको बैंकबाट आफू तथा आफूसँग सम्बन्धित कम्पनीलाई आर्थिक लाभ पुग्ने गरी काम गरेको अभिलेखमा देखिन्छ।
बैंकका सञ्चालकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफू तथा आफ्नो परिवारसँग सम्बन्धित संस्थालाई बैंकबाट अनुचित लाभ पुग्ने अवस्था सिर्जना गर्न नहुने नियम छ।
लामिछानेले मेरो छोरासँग नाम जोडेर मेरो बदनाम गर्न केही व्यक्तिहरू लागेका छन्। नाम मिल्दैमा सबै व्यक्ति मेरो छोरा हुन्छ भन्ने हुँदैन। मैले कहीँ कतै पनि मेरो छोरा प्रधानमन्त्री कार्यालयमा कार्यरत सुभाष शर्मा हुन् भनेर भनेकी छैन। उक्त विषयमा बोल्दै हिँडेको र केही बैंक तथा वित्तीय संस्थाहरूमा धम्कीसमेत दिएको भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको भन्ने जानकारी मैले पनि पाएकी छु।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
अख्तियारको दबाबपछि ब्युँझियो नियामक: लामिछानेलाई भन्यो- अशुलेको रकम तुरुन्तै फिर्ता गर्नू




























