बाढी प्रभावित किस्पाङका २०० परिवारलाई राहत सामग्री वितरण
वि.सं.२०८३ असोज ३ शनिवार
shares
नुवाकोट । युनाइटेड मिसन टु नेपाल (UMN), चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) नेपाल,धादिॅगको सहकार्यमा बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
भोटेकोशी नदीमा आएको अचानक बाढीबाट प्रभावित नुवाकोटको किस्पाङ गाउँपालिका–५ का २०० घरपरिवारलाई लत्ताकपडा, ओछ्याउने सामग्री, बेडसेटलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो।
बाढीका कारण घर तथा दैनिक प्रयोगमा आउने सामग्रीमा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्रीको अभाव भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित संस्थाहरूले प्रभावित परिवारको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्।
राहतस्वरूप प्रभावित परिवारलाई लत्ताकपडा, ओछ्याउने सामग्री तथा दैनिक जीवनयापनमा आवश्यक पर्ने अन्य सामग्री उपलब्ध गराइएको आयोजक संस्थाले जनाएको छ।
राहत वितरणका क्रममा संस्थाका प्रतिनिधिहरूले बाढी प्रभावित परिवारको अवस्था तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारीसमेत लिएका थिए। प्रतिनिधिहरूले बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा घर तथा व्यक्तिगत सामग्रीमा क्षति पुगेकाले राहतसँगै पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन्। उनीहरूले प्रभावित परिवारको दिगो पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट थप सहयोगको अपेक्षा गरेका छन्।































