बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द

105
shares

 

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, बाँकेबगर (चौकीभीर), जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै डाइभर्सनसमेत बगाएकाले सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुरतर्फ चपली र तकुर्चेलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ । रक ब्रेकरसहितको एस्काभेटर र ह्विल लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सडक अवरुद्ध छ । सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खसेपछि गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र र बाङ्गेसिमल–दहीखोलालगायतका सडकखण्ड प्रभावित भएका छन् । ती क्षेत्रमा लोडरसहितको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक बन्द भएको छ । पानीको सतह घटेपछि सडक खुलाउने तयारी गरिएको छ ।

यस्तै, बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके तथा राप्ती राजमार्गको कपुरकोट–खारखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दुवै सडकखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसे पनि साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन् । सडक विभागले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्थाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने विभागले जनाएको छ ।

civil hospital
Hams Hospitals