skip this Honda Content BLock AD

जानकी आँखा अस्पतालमा राजनीतिक हस्तक्षेपको आरोप, कर्मचारीको चेतावनी– ‘अस्पताललाई राजनीतिक अखडा नबनाऊ’

नियुक्तिदेखि व्यवस्थापनसम्म विवाद चर्किँदा कर्मचारी आक्रोशित, जिम्मेवार कर्मचारीमाथि भौतिक तथा मानसिक आक्रमण भएको दाबी

483
shares
Nabil bank

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित श्री जानकी आँखा अस्पताल, जनकपुरधाममा राजनीतिक हस्तक्षेप, जिम्मेवार कर्मचारीमाथि दबाब तथा धम्की र व्यवस्थापनमा मनपरी बढेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन्।

अस्पतालको स्वतन्त्र कर्मचारी युनियनले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट पछिल्लो समय भएका भनिएका अपरिपक्व तथा गलत निर्णयका कारण अस्पतालमा असमझदारी, गलत राजनीतिक नियुक्ति र जिम्मेवार कर्मचारीमाथि बारम्बार भौतिक तथा मानसिक आक्रमणका घटना बढेको आरोप लगाइएको छ।

कर्मचारी युनियनले राजनीतिक स्वार्थपूर्तिको ‘क्रिडास्थल’का रूपमा अस्पताललाई प्रयोग गर्ने प्रयास तत्काल रोक्न चेतावनी दिएको छ। उसका अनुसार जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील संस्थामा राजनीतिक हस्तक्षेप बढ्दै जानु केवल कर्मचारीको समस्या नभई बिरामीको उपचार र अस्पतालको भविष्यसँग जोडिएको गम्भीर विषय हो।

विज्ञप्तिमा भनिएको छ, विगत लामो समयदेखि नागरिकलाई गुणस्तरीय र सुलभ आँखा उपचार सेवा प्रदान गर्दै आएको प्रतिष्ठित मानवीय संस्थालाई राजनीतिक स्वार्थपूर्तिको केन्द्र बनाइनु अत्यन्त दुःखद र निन्दनीय विषय हो।

कर्मचारी युनियनले केन्द्रीय कार्यालयबाट नियम, कानुन र संस्थागत मर्यादा विपरीत गरिएका भनिएका निर्णयमाथि समेत प्रश्न उठाएको छ।विज्ञप्तिअनुसार केन्द्रीय व्यवस्थापनको निर्णयबाट राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई अस्पतालमा जिम्मेवारी दिने प्रयास भएपछि अस्पतालको प्रशासनिक तथा प्राविधिक वातावरण नै धमिलिएको आरोप छ।कर्मचारीहरूको प्रश्न छ—अस्पतालको व्यवस्थापन चलाउने अधिकार कसलाई, कुन पदमा र कुन कानुनी आधारमा दिइएको हो?

यसअघि पनि जानकी आँखा अस्पतालको व्यवस्थापनमा विवाद देखिँदै आएको थियो। पछिल्लो समय नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले धनुषा जिल्ला तदर्थ समितिलाई अस्पतालको अल्पकालीन व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिएको सार्वजनिक भएको छ।तर कर्मचारीहरूको असन्तुष्टि यतिमै रोकिएको छैन। उनीहरूले व्यवस्थापनको नाममा अस्पताल प्रवेश गरी कर्मचारीमाथि दबाब सिर्जना गर्ने, निर्देशन दिने तथा धम्की दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेका छन्।

कर्मचारी युनियनले अस्पतालमा विगतमा समेत कर्मचारीमाथि अभद्र व्यवहार, भौतिक आक्रमण, धम्की तथा हुलहुज्जत भएको दाबी गरेको छ।विज्ञप्तिमा जिम्मेवार कर्मचारीमाथि भएको भनिएको हातपात, अस्पतालका संरचनामा क्षति पुर्‍याउने प्रयास तथा कार्यालयमा हुलहुज्जतजस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाएको उल्लेख छ।युनियनले यस्ता गतिविधिलाई सामान्य विवादका रूपमा नलिई अपराधिक तथा गैरजिम्मेवार कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेको छ।उसले प्रश्न गरेको छ—स्वास्थ्य संस्था चलाउने नाममा कसैलाई पनि कर्मचारीमाथि हात उठाउने, धम्क्याउने वा कार्यालयमा आतंक सिर्जना गर्ने छुट कसले दियो?

कर्मचारीहरूले अस्पतालभित्र राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।उनीहरूको भनाइमा कुनै राजनीतिक दल वा समूहसँगको निकटता, पहुँच वा शक्ति प्रदर्शनका आधारमा अस्पतालको प्रशासनिक निर्णय प्रभावित पार्ने हो भने त्यसले नेपाल रेडक्रस सोसाइटीको मूल मान्यता नै कमजोर बनाउँछ।

रेडक्रस आफैंले यसअघि आफ्ना पदाधिकारी तथा सदस्यलाई सक्रिय राजनीतिक संलग्नताबाट अलग रहन आग्रह गरिसकेको छ। रेडक्रसको विधानमा सक्रिय राजनीतिमा संलग्न तथा राजनीतिक दलका विभिन्न तहमा पद धारण गरेका व्यक्तिहरू सोसाइटीका समितिहरूमा सदस्य वा पदाधिकारी रहन नहुने व्यवस्था रहेको सार्वजनिक गरिएको छ।यस्तो अवस्थामा कर्मचारीहरूले उठाएको राजनीतिक हस्तक्षेपको प्रश्न अझ गम्भीर बनेको देखिन्छ।

तीन सूत्रीय माग, माग बेवास्ता भए आन्दोलनको चेतावनी

स्वतन्त्र कर्मचारी युनियनले प्रेस विज्ञप्तिमार्फत सम्बन्धित निकाय र सरोकारवालासँग तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्न माग गरेको छ।

युनियनका प्रमुख मागहरू यस्ता छन् :

  • राजनीतिक नियुक्ति रद्द गरी जानकी आँखा अस्पतालमा भएका गलत तथा राजनीतिक नियुक्तिहरू तत्काल खारेज गर्नुपर्ने, निष्पक्ष र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने तथा दोषीमाथि कडा कारबाही गर्नुपर्ने।
  • कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, अभद्र व्यवहार र धम्की तत्काल रोक्दै सुरक्षित कार्य वातावरणको ग्यारेन्टी गर्नुपर्ने।
  • नेपाल रेडक्रसका मानवीय सिद्धान्त, निष्पक्षता, तटस्थता र स्वतन्त्रताको मर्मविपरीत हुने राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्नुपर्ने।

युनियनले आफ्ना मागलाई बेवास्ता गरिए अस्पतालको गरिमा र कर्मचारीको सुरक्षामा थप आँच पुर्‍याउने काम भए कडा प्रतिवादका कार्यक्रम सार्वजनिक रूपमा गर्न बाध्य हुने चेतावनी दिएको छ।

अस्पताल कसको स्वार्थका लागि?

जानकी आँखा अस्पताल जनकपुरधाम र आसपासका नागरिकका लागि लामो समयदेखि महत्वपूर्ण आँखा उपचार केन्द्रका रूपमा सञ्चालन हुँदै आएको छ। विगतमा अस्पतालमा ठूलो संख्यामा बिरामीले उपचार सेवा लिने गरेको विवरणसमेत सार्वजनिक भएका छन्।यस्तो संवेदनशील स्वास्थ्य संस्थामा व्यवस्थापन विवाद, राजनीतिक हस्तक्षेप र कर्मचारीमाथि दबाब बढ्दै गए त्यसको प्रत्यक्ष असर अन्ततः बिरामी र उपचार सेवामाथि पर्ने जोखिम हुन्छ।

त्यसैले अहिलेको मूल प्रश्न केवल ‘अस्पतालको व्यवस्थापन कसले सम्हाल्ने?’ भन्ने होइन।मूल प्रश्न हो—जनताको उपचारका लागि स्थापित अस्पताललाई राजनीतिक शक्ति प्रदर्शन र स्वार्थ समूहको अखडा बन्न दिने कि संस्थागत नियम, पारदर्शिता र रेडक्रसको मानवीय सिद्धान्तअनुसार सञ्चालन गर्ने?

कर्मचारी युनियनको चेतावनीले अब यो विवादलाई सामान्य आन्तरिक व्यवस्थापन विवादभन्दा माथि उठाएको छ। रेडक्रसको केन्द्रीय नेतृत्वले कर्मचारीले उठाएका आरोपमाथि निष्पक्ष छानबिन गर्छ कि राजनीतिक दबाब र समूहगत स्वार्थकै आधारमा निर्णय अघि बढाउँछ—त्यसले नै जानकी आँखा अस्पतालको आगामी दिशा तय गर्ने देखिन्छ।

जानकी आँखा अस्पतालमा ‘राजनीतिक दबाब’को आरोप, कर्मचारी कालोपट्टी बाँधेर सडकमा

civil hospital
Hams Hospitals