मुक्तिनाथ : पाँचदिनको आन्तरिक धार्मिक पर्यटन

116
shares
Nabil bank

–ईश्वर पोखरेल

मुस्ताङमा मुक्तिनाथको दर्शन र उपल्लो  मुस्ताङको भ्रमणलाई लक्ष्य बनाएर हामी पारिवारिक धार्मिक पर्यटनका लागि १६ बैसाख, २०८३ देखि २० बैसाखसम्म यात्रारत् रह्यौं । हामी १६ गते बिहानको नौ बजेतिर महालक्ष्मी ३ ललितपुरस्थित घरबाट हिडेका थियौं । २० गते साँझ लगभग ४ बजे हामी घर आई पुग्यौं । यात्रामा हामी चारजना थियौं र आफ्नै सवारी साधनमा घरबाट निस्किएका थियौं । आफ्नै वाहनमा मुक्तिनाथसम्म पुग्ने अनि मुक्तिनाथबाट भाडाको मोटरमा उपल्लो मुस्ताङको यात्राका लागि निस्किने हाम्रो यात्राको मोटामोटी योजना थियो । तर हाम्रो यात्रा वर्षाबाट प्रभावित भयो । वर्षाका कारणले सडक क्षतीग्रस्त भएको जानकारीपछि हामी उपल्लो मुस्ताङ जानबाट हच्कियौं । हाम्रो यात्रा मुक्तिनाथमै खुम्चियो । हामीले आफ्नो वाहन मुक्तिनाथसम्म लैजाने सोच पनि परिवर्तन गर्‍यौंं । आफ्नो मोटर म्याग्दी जिल्लाको बेनीमा थन्क्याएर हामी बेनीदेखि मुक्तिनाथ मन्दिर रहेको मुस्ताङको रानीघाटसम्म भाडाको सवारी साधनमा गयौं ।

काठमाण्डौबाट हिडेको दिन हामी म्याग्दी जिल्लाको बेनीमा बास बस्न पुगौंला भन्ने सोच्दै थियौं, मुग्लिङ कटेपछि बाटो अँध्यारो भयो, हावाहुरी चल्यो र घनघोर पानी पर्‍यो । एउटा रेस्टुरेन्टमा ओत लागेर झन्डै दुई घन्टा बितायौं— हामीले । र, आएर पर्वतको कुस्मामा बास बस्यौंं ।

भोलिपल्ट लगातारको वर्षाले मोटरको आवागमन असहज भएको छ भन्ने जानकारीपछि हामीले आफ्नो मोटर यही बेनीमा थन्क्यायौं र भाडाको इभी माइक्रो बसमा मुक्तिनाथतर्फ लाग्यौ । साँझको झन्डै सात बजे मुक्तिनाथ मन्दिर परिसरबाट झन्डै आधा किलोमिटर तल रानीपौवामा रहेको सुविधासम्पन्न आधुनिक होटलमा विश्राम लियौं ।

पहिले काभ्रेपलाञ्चोक घर भएका एक साथी भन्नु हुन्छ– ‘कुनै बखत मुक्तिनाथ पोखराबाट पैदल पाँच दिनको र काभ्रेबाट पन्ध्र दिनको बाटो हो ।’

हाम्रो परिवारकै कतिपय सदस्यहरू पटकौंपटक मुक्तिनाथको दर्शनमा पुगेका छन् ।

मेरो आफ्नै काकाबा भन्नुहुन्छ– “म मुक्तिनाथको दर्शनमा तीनपटक गएँ । पहिलो पटक पोखरादेखि हिडेर गएका थियौं । बाटो पनि राम्रो थिएन, कतिपय ठाउँमा त पहरामा झुन्डिएर हिड्नु पथ्र्यो । पसल पनि थिएन । हामी आफै पकाएर खान्थ्यौं । स्थानीय बासिन्दाले भाँडाकुँडा दिन्थे । राति सुत्न ओड्ने ओछ्याउने दिन्थे । शान्तिसुरक्षाको अवस्था राम्रो थियो । सेवा प्रदान गरेबापत स्थानीय बासिन्दा पैसा लिदैंनथे । दोस्रो पटक बेनीबाट हिडेर गएका हौं । पहिलो र दोस्रोपटकको यात्रामा त्यति धेरै अन्तर थिएन । तेस्रोपटक भने जोमसोमसम्म मोटरमा गयौं । अनि हिड्यौं । तेस्रोपटकको यात्रामा आवश्यक कुरा किन्न पाइन्थ्यो । दाल, चामल जस्ता वस्तु बोक्नु पर्दैनथ्यो । लज र होटलको भने अभाव नै थियो ।”

मुक्तिनाथ तीर्थयात्रालाई केलाउँदा ‘मुक्तिनाथ–तीर्थाटन’ केवल आध्यात्मिक मात्र नभएर भौतिक, प्राविधिक र आर्थिक पहुँचले निर्मित बाटो हो भन्ने देखिन्छ ।  काकाबाको तीनपटकको मुक्तिनाथ यात्राका अनुभव यस कुराको बलियो प्रमाण हो।
यसलाई यसरी विश्लेषण गर्न सकिन्छ—

पहिलोपल्ट : (आतिथ्यतामा आधारित तीर्थयात्रा) 
काकाबाको पहिलो यात्रा भएताका मुक्तिनाथ मन्दिर पोखराबाट ५ दिन र काभ्रेबाट १५ दिन पैदल थियो । यो यात्रामा ‘बजार’ अनुपस्थित थियो। बास र खानाका लागि स्थानीय बासिन्दाको आतिथ्यतामा भर पर्नुपथ्र्यो । काकाबाकै शब्दमा “भाँडाकुँडा दिन्थे, ओड्ने ओछ्याउने दिन्थे, पैसा लिँदैनथे।” यो सम्बन्धमा आधारित ‘नैतिक अर्थतन्त्र’ थियो। यहाँ तीर्थयात्रीको पूँजी पैसा नभएर समय, शारीरिक क्षमता र सामाजिक वैधता थियो। बाटोको जोखिम ‘पहरामा झुन्डिएर हिँड्नु’ थियो; तर सामाजिक सुरक्षा उच्च थियो। यतिबेला यात्री र स्थानीयबीचको अन्तरक्रिया आर्थिकभन्दा सामाजिक थियो।

दोस्रोपल्ट : (संक्रमणकाल)
बेनीसम्म मोटर पुगेपछि यात्रा छोटियो, तर संरचना उही रह्यो। “पहिलो र दोस्रोपटकको यात्रामा त्यति धेरै अन्तर थिएन” भन्ने काकाबाको कथनले पूर्वाधार विस्तार भए पनि बजारको प्रवेश भइनसकेको अवस्था संकेत गर्छ । यसपल्ट राज्यले बाटो खनेर ‘पहुँच’ त दियो, तर ’सेवा’को व्यावसायीकरण गरिसकेको थिएन भन्ने देखिन्छ ।

तेस्रोपल्ट : (कमोडिफाइड तीर्थयात्रा)
जोमसोमसम्म मोटर, “आवश्यक कुरा किन्न पाइन्थ्यो, दाल चामल बोक्नु पर्दैनथ्यो” — यो वाक्यले तीर्थयात्राको ‘बजारकरण’लाई प्रष्ट पार्छ। हाम्रो २०८३ को यात्रामा यो प्रक्रिया अझ उत्कर्षमा पुगेको देखिन्छ : बेनीमा निजी गाडी थन्क्याएर भाडाको ईभी, दानामा चार्जिङ स्टेसन, रानीपौवामा ‘होटल सिद्धार्थ’ जस्तो आधुनिक सुविधा । काठमाण्डौबाट मुक्तिनाथको तीर्थयात्राका लागि अब १५ दिन छ्ट्ट्याउनु परेन;  हामी १६ गते हिँडेर २० गते घर आइपुग्यौं । समयको बचत भएको छ।

हिजो पनि दिनभरि पानी पर्‍यो । होटलमा उपलब्ध तातो पानीमा नुहाएर बाहिर सडकमा निस्किँदा मुक्तिनाथ मन्दिर वरपरका डाँडाहरू हिउँले ढाकिएका थिए । मन्दिर प्रवेशको तल्लो ढोकापछि सिंढीवाला बाटो प्रारम्भ हुँदो रहेछ । अब यो रोमाञ्चकारी भूदृश्यलाई पृष्ठभूमिमा राखेर फोटो भिडियो खिच्न हात चलाउने कि मन्दिरमा पुग्न खुट्टा चलाउने भन्ने सवालमा तीर्थयात्रीहरू जेलिने रहेछन् ।

यो छोटो उकालो । यसमा पनि मानिसहरू घोडाको पिठ्युँमा बसेर र मानिसहरूको काँधमा चढेर मन्दिरतर्फ उक्लिदै थिए । फेरि, केही यस्ता तीर्थयात्री पनि थिए, जसको ज्यान र अवस्था हेर्दा यो उकालो उक्लिने प्रक्रम तिनका लागि दुस्साहस जस्तो लाग्थ्यो;  ती बिस्तारै पैदल उक्लिदै थिए । सबै उकालो चढ्दैथिए— तर कोही काँधमा, कोही पसिना पुछ्दै । ३,७१० मिटरको उचाइमा सबैको शरीर एउटै हुँदैन। पैसाले ‘पिठ्यूँ’ किन्न सक्ने र नसक्नेबीच ‘मन्दिरको बाटो’मै वर्ग देखिन्छ।  यस्तै यस्तै दृश्य पर्गेलेपछि महाकवि देवकोटाले गुन्गुनाएका होलान्– “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?” बोलको कालजयी कविता ।

१८ गते बिहान मुक्तिनाथ मन्दिर वरिपरिका डाँडाहरू हिउँले सेताम्मे थिए । हिउँलाई यति नजिकैबाट देख्नु र यति घनीभूत रुपमा देख्नु हाम्रालागि रोमाञ्चक अनुभव थियो । होटलबाट बाहिर निस्किदा हामी जाडोजाडो अनुभव गर्दै थियौं, उकालो लागेपछि त्यो जाडो कहाँ छुट्यो, छुट्यो; हामी पसिनाले लतपत भएका थियौं । एक मन त ज्याकेट फुकालेर हातमा बोक्नु पर्छ कि भन्ने पनि भयो । कतिपय तीर्थयात्री पातलो सर्ट मात्र लगाएर उकालो उक्लिदै थिए ।

मुक्तिनाथ मन्दिर परिसरतर्फको तल्लो गेटबाट भित्र पसेपछि हरेक दृश्य हामीलाई मोबाइलको क्यामरामा टिपौं टिपौं लाग्ने । यहाँका नाङ्गा पहाड अनि तिनको थाप्लामा हिउँको भारी ।
काकाबा पहिलोपल्ट आउँदा बाटोको दुःख सबैका लागि बराबर थियो। अहिले दुःख छनोटको विषय बनेको छ — किन्न सक्नेले किन्ने, नसक्नेले भोग्ने।

नेपालको मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यसलाई मोक्षको केन्द्र मानिन्छ  । यो मन्दिर स्थान समुद्री सतहबाट ३,७१० मिटरको उचाइमा रहेको छ । यहाँको पूजा व्यवस्था पनि विशेष र अन्यत्रको भन्दा फरक छ । मुक्तिनाथमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले एकैसाथ पूजा गर्छन् । हिन्दू धर्मावलम्बीले मुक्तिनाथलाई विष्णुको रूपमा मान्दछन् भने र बौद्धहरूले ‘छुमिङ ग्यात्सा’को रूपमा पुज्छन् ।

यस मन्दिरको मुख्य पुजारी हिन्दू परम्पराअनुसार हुन्छन् भने मन्दिरको रेखदेख र पूजामा बौद्ध परम्पराअनुसार ‘झुमा’ (आनी)हरू पनि संलग्न हुन्छन् । हाल यहाँ सुवेदी थरका ब्राह्मण पूजारी छन् । तीर्थयात्रीहरू मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारालाई मुक्तिधाराको रूपमा लिन्छन् र मुक्तिधारामा स्नानबाट पूजाआराधनाको विधि प्रारम्भ भएको मान्दछन् । १०८ मुक्तिधारामा स्नान गरेपछि मन्दिरको अगाडि रहेको दुई कुण्ड प्रत्येकमा तीनतीनपटक डुबुल्की लगाउँछन् । पुजारीबाट फूल, अक्षता र प्रसाद चढाएर मन्दिर भित्रको पूजा हुन्छ ।

मुक्तिनाथ मन्दिरको उत्तरपूर्वमा ज्वालामाई मन्दिर छ । ज्वालामाई मन्दिरमा रहेको जलिरहेको आगोको ज्योतिको दर्शन र पूजा गरिन्छ ।
मुक्तिनाथमा बज्रगुरु धुङ्ग्युर पूजा नामको विशेष पूजा पनि हुन्छ ।  बज्रगुरु धुङ्ग्युर पूजा विश्व शान्तिको कामना गर्दै गरिने विशेष पूजा हो ।
मुक्तिनाथ मन्दिर बिहानैदेखि खुल्छ र भक्तजनहरू लाइनमा बसेर दर्शन गर्छन् ।

मुक्तिनाथको तीर्थयात्रा अब काभ्रेपलाञ्चोकका साथी भने जस्तो १५ दिने तीर्थयात्रा वा काकाबाले भोगेजस्तो कुम्लामा खाजा सामल बोकेर गर्नु पर्ने तीर्थयात्रा रहेन । राज्यले खनेको सडक, बजारले बेच्ने सुविधा र प्रविधिले दिएको ईभीले ३,७१० मिटरको मुक्तिनाथ–तीर्थाटनलाई खर्चिलो, सहज र छोटो बनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x