एनसेलले सरकारलाई तिर्‍यो ३ खर्ब ८० अर्ब, एकै वर्षमा साढे १७ अर्ब राजस्व

580
shares
Nabil bank

 

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्थापनाकालदेखि हालसम्म नेपाल सरकारलाई कर तथा विभिन्न शुल्कबापत झण्डै ३ खर्ब ८० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । दूरसञ्चार क्षेत्रमा लामो समयदेखि व्यावसायिक सेवा दिँदै आएको एनसेल नेपालको राजस्व संकलनमा ठूलो योगदान गर्ने निजी कम्पनीमध्ये एक हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारलाई कर तथा विभिन्न शुल्क शीर्षकमा कुल १७ अर्ब २८ करोड ५२ लाख ६ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी गरेको छ । लेखापरीक्षण हुन बाँकी विवरणअनुसार कम्पनीले उक्त रकम विभिन्न कर, रोयल्टी, लाइसेन्स, फ्रिक्वेन्सी तथा अन्य शुल्कबापत बुझाएको हो ।

एनसेलले गरेको कुल भुक्तानीमध्ये सबैभन्दा ठूलो रकम लाइसेन्स नवीकरण, रोयल्टी र फ्रिक्वेन्सी शुल्कमा गएको देखिन्छ । कम्पनीले जीएसएम मोबाइल लाइसेन्स नवीकरण शुल्कको किस्ताबापत ३ अर्ब २९ करोड रुपैयाँ र इन्टरनेट सेवा प्रदायक लाइसेन्स नवीकरण शुल्कबापत २ लाख ७० हजार रुपैयाँ बुझाएको छ ।

त्यस्तै, भन्सार महसुलबापत १ अर्ब २ करोड रुपैयाँ, रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । कम्पनीले बिक्रीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) बापत २ अर्ब ६३ करोड रुपैयाँ तथा स्रोतमा कर कट्टीबापत १ अर्ब २ करोड रुपैयाँ बुझाएको जनाएको छ । यसबाहेक ग्रामीण दूरसञ्चार विकास कोषमा ६४ करोड ९६ लाख रुपैयाँ योगदान गरेको छ ।

राजस्वमा ठूलो योगदान
एनसेलको योगदान पछिल्लो एक वर्षको भुक्तानीमा मात्र सीमित छैन। एनसेलले स्थापनाकालदेखि गत भदौसम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा झण्डै ३ खर्ब ८० अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । यसले नेपालको दूरसञ्चार क्षेत्रबाट राज्यले प्राप्त गर्दै आएको राजस्वमा एनसेलको उल्लेखनीय हिस्सेदारी रहेको देखाउँछ ।

एनसेल हरेक वर्ष धेरै कर तिर्ने ठूला करदाता कम्पनीको सूचीमा समेत पर्दै आएको छ । गत वर्ष वैशाखमा नेपाल सरकारले कर भुक्तानीका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको थियो ।

सामाजिक क्षेत्रमा योगदान
एनसेलले सरकारी राजस्वमा योगदानसँगै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पनि विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । कम्पनीले एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदायसँग सम्बन्धित विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । यसअन्तर्गत हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको कम्पनीले जनाएको छ ।

दूरसञ्चार सेवा विस्तार, सरकारी राजस्वमा योगदान र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत एनसेल नेपालको निजी क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण उपस्थिति जनाउँदै आएको कम्पनी हो । स्थापनादेखि हालसम्म झण्डै ३ खर्ब ८० अर्ब रुपैयाँ कर तथा शुल्क भुक्तानी गरेको तथ्यांकले एनसेलको व्यावसायिक गतिविधि र राज्यको राजस्व प्रणालीबीचको ठूलो आर्थिक सम्बन्धलाई समेत उजागर गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x