चुनाव सार्ने चलखेलले सेयर बजारमा नकारात्मक असर
वि.सं.२०७८ माघ १२ बुधवार
shares
Photo By: Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis
काठमाडौं।सेयर बजार लगातार चौथो दिन पनि घटेर बन्द भएको छ । यो साता सुरु भएदेखि आजसम्ममा बजारले झन्डै दुई सय विन्दु गुमाइसकेको छ । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको चुनाव सार्न भएको चलखेलले बजारमा नकारात्मक असर पुर्याएको छ भने यही समयमा बैंकिङ प्रणालीमा तरलतामा चाप परेको समाचार पनि बाहिरिएको छ । त्यसमाथि सरकारले आन्तरिक ऋण उठाउने तयारी गरेपछि त्यसलाई समेत बजार घटाउने कारणका रुपमा व्याख्या गरिएको छ ।
आज बजार परिसूचक नेप्से ३८.४५ विन्दुले घटेर २७७६.६१ मा आइपुगेको छ । नेप्से १.३७ प्रतिशत घट्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ प्रतिशतले घटेर ५१८.३८ विन्दुमा आएको छ । आज कारोबार भएका सबै १३ वटै समूहको सूचकमा रातो पोतिएको छ । सबैभन्दा बढी ओरालो लाग्नेमा वित्त समूहको सूचक छ । यो समूहको सूचक २.४२ प्रतिशतले घटेको छ ।
बजार खुलेदेखि नै लगातार ओरालो लागेको बजारमा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको सेयर किनबेच भएको छ । ६१ हजार चारवटा कारोबार हुँदा ९३ लाख ५८ हजार सात सय कित्ता सेयर किनबेच भए ।
आज कारोबार भएका २३३ वटा स्क्रिप्टमध्ये ३१ वटाको सेयर मूल्य उकालो लागेको छ भने १९३ वटाको घटेको छ । ९ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो । घट्दो बजारमा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्सका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेको छ ।































