दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने उच्च
वि.सं.२०७८ माघ २० बिहीवार
shares
काठमाडौं।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १४.५८ विन्दुले घटेर बन्द भएको छ । सोमबारदेखि प्रवृत्तिहीन (साइडवेज) देखिएको बजारले आज पनि त्यसैलाई निरन्तरता दियो । सोमबार सोमबार १४.५ विन्दुले खसेको बजार मंगलबार २० विन्दुले बढेको थियो ।
आज बजार परिसूचक नेप्से ०.५ प्रतिशतले खस्किएर २८७६.७४ मा आइपुगेको छ । यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६ प्रतिशतले घटेर ५३९.६५ मा आइपुगेको छ । आज कारोबार भएका १३ वटा समूहमध्ये जलविद्युत् र निर्जीवन बिमा समूहको सूचक केही बढेको छ भने बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । जलविद्युत् र निर्जीवन बिमा क्रमशः ०.१९ र ०.०९ प्रतिशतले हरियो बनेका छन् । ओरालो लाग्नेमध्ये अघि देखिएको वित्त समूह १.३१ प्रतिशतले खस्किएको छ ।
आज कारोबार रकम भने यो साताभरिकै उच्च देखिएको छ । आज एक लाख ८ हजार ३६५ कारोबारबाट एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता सेयर आठ अर्ब ६१ हजार २१ लाख ७४ हजार १६२ रुपैयाँका सेयर किनबेच भए । यसअघि गत मंगलबार ८० हजार ८२९ कारोबारबाट एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा खरिद बिक्री भएका थिए । त्यस्तै सोमबार पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका २२४ वटा स्क्रिप्टमध्ये ६० वटाको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ । १४ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो । विन नेपाल लघुवित्तको सेयर मूल्यमा आज पनि पोजेटिभ सर्किट लाग्यो । बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य पनि ९.७ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउनेमा आरएमडिसी माइक्रोफाइनान्स परेको छ । यसको सेयर मूल्य ३.४९ प्रतिशतले घटेको छ ।































