राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्री खुला
वि.सं.२०७८ माघ २५ मंगलवार
shares
काठमाडौं।राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्यबराबरका आठ लाख ५० हजार कित्ता सेयर आइपिओ निकाल्न लागेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
जारी पूँजी रु. २६ करोडको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ । यस कम्पनीको आइपिओ खरिद गर्न चाहने सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकिएको छ ।
कम्पनीको अधिकृत पूँजी रु. ५० करोड र हालको जारी पूँजी रु. २६ करोड तथा चुक्ता पूँजी रु १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।































