नेविकोले थप चार ओटा विभिन्न क्याटेगारीमा प्रोडक्ट सार्वजनिक
वि.सं.२०७८ फागुन २३ सोमवार
shares
काठमाडौँ ।नेविकोले थप चार ओटा विभिन्न क्याटेगारीमा प्रोडक्ट सार्वजनिक गरेको छ । कम्पनीले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थप चार ओटा प्रोडक्ट सार्वजनिक गरेको हो ।

नेविकोले बिस्कुटमा डि–५० डाइजेस्टिक, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरूम कुरूम चिउरा र स्न्याक्समा साल्टेड पीनट्स गरी थप चार ओटा ब्राड बजारमा ल्याएको हो । कम्पनीका कन्ट्री सेल्स म्यानेजर प्रकाश कार्कीले नेपाली बजारबाट विदेशी बिस्कुटलाई विस्थापित गर्ने लक्ष्यका साथ उत्पादनहरू बजारमा ल्याइरहेको बताए ।

उनका अनुसार कम्पनीले चितवनको चिउरालाई ब्रान्डिङ गरिएको र कुकिजमा भने परम्परागत प्याकेटलाई परिमार्जन गरेर नयाँ आकर्षक प्याकेजिङ गरिएको छ ।
आफ्ना उत्पादनहरू आकर्षक देखाउन र उपभोक्तासम्म सुरक्षित पुर्याउन प्याकेजिङमा विशेष ध्यान दिदै आएको नेविकोले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरीय उत्पादनमा जोड दिएको दावी गरेको छ ।
नयाँ ब्राण्ड सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले अहिले चार नयाँ उत्पादन सार्वजनिक गरेको र चाडै नै ५ वटा उत्पादनहरू केही दिनभित्रै सार्वजनिक गर्ने योजना रहेको बताए। नेपाली भान्छामा प्रयोग हुने अन्य खाद्य वस्तुहरू पनि ल्याउने तयारी गरिरहेको उनको भनाइ छ।

उनले भने “चालु आर्थिक वर्षमा १३ वटा नयाँ उत्पादन ल्याउने लक्ष्य राखेको थियौं। गत साउनमा बालाजुको उद्योगमा आगो लागेपछि नयाँ उत्पादन ल्याउने योजना प्रभावित भएको थियो। केही ढिलै भए पनि हामीले अब नयाँ प्रडक्ट ल्याउन शुरु गरेका छौँ ।”
कम्पनीले डी–५० डाइजेस्टिक बिस्कुट १५० ग्रामलाई उपभोक्ता बिक्री मूल्य ५० रुपैयाँ, डी–५० डाइजेस्टिक उपभोक्ताको पाचन प्रणालीमा सहजीकरण गर्ने र स्वास्थ्य एवं ताकत प्रदान गर्ने गुणस्तरीय बिस्कुट भएको कम्पनीले बताउँदै आएको छ ।
त्यस्तैगरी नाइस मिल्क कुकिज दूधको स्वादमा रहेको पौष्टिकयुक्त कुकिज १८० ग्रामको आकर्षक प्याकेजमा बजारमा आएको छ । जसको उपभोक्त बिक्रीमूल्य ५० रुपैयाँ नै तोकिएको छ ।
कुरूम कुरूम चिउरा हेरक नेपालीको भान्सामा जोडिने प्रोडक्ट हो जुन निकै नै गुणस्तरयुक्त र स्वादवर्द्धक रहेको बताइएको छ । ८०० ग्रामको तौलमा उपलब्ध कुरूम कुरूम चिउराको उपभोक्ता खरिदमूल्य ९५ रुपैयाँ तोकिएको छ । यसैगरी साल्टेड पीनट्स पनि आकर्षक प्याकेजिङमा युवा युवतीहरूलाई लक्षित गरी बजारमा ल्याइएको छ । ३५ ग्रामको प्याकेटमा उपलब्ध साल्टेड पीनट्सको बिक्रीमूल्य २० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनहरूमा पनि उत्कृष्ट ब्राण्डहरू लएर आउने र गुणस्तरमा अझै बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । करिब ६ दशक लामो अनुभव संगालेको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन नेविको पछिल्लो समय नेपाली उपभोक्ताहरूमाझ लोकप्रिय बन्दै गइरहेको छ । कम्पनीले बिस्कुट, कन्फेक्सनरी, कुकीज, सिरियल्स, खाद्यान्न हुँदै स्न्याक्सलगायतका उत्पादन बजारमा ल्याउँदै आएको छ ।
































