प्रधानमन्त्री देउवाकाे भारत भ्रमण : मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै
वि.सं.२०७८ चैत १८ शुक्रवार
shares
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा आज तीन दिने औपचारिक भ्रमणको सिलसिलामा मध्याह्न नयाँ दिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने साथै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।
त्यसैगरी, प्रधानमन्त्रीले देउवा भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।































