तेलको कच्चा पदार्थको भन्सार महशुल शून्य प्रतिशतमा झार्नुपर्छः अध्यक्ष गोल्छा
वि.सं.२०७९ जेठ २२ आइतवार
shares
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले खाने तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महशुल शून्य प्रतिशतमा झार्नुपर्ने बताएका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बनस्पधि घ्यू तेल उत्पादक व्यवसायीहरूको समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
नेपालको उत्पादनको प्रतिस्पर्धा भारतीय बजारसँग रहेको र भारतले पछिल्लो समय भन्सार शुल्क शून्य प्रतिशतमा झारेका कारण नेपाली उद्योगी व्यवसायीहरू समस्यामा परेको उनले बताए ।
उनले भने “उद्योगीहरूले नाफा कमाउने उद्देश्यले कच्चा पदार्थमा एक तह कम भन्सार शुल्क कम हुनुपर्ने भन्ने माग राखेका होइनन्, उद्योगको संरक्षण गर्न आवश्यक भएकोले मागेका हुन् ।”
कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता भएको र लजिस्टिक कष्ट, उर्जा, जग्गा प्राप्तिदेखि नेपालमा उद्योग सञ्चालन गर्नको लागि नीतिगतलगायका धेरै चुनौति भएको उनले बताए । यसो हुन नसकेमा नेपालमा सञ्चालित उद्योगहरू धरासायी हुने उनको भनाई छ ।
उनले भने “प्रशोधन तेलको भन्सार शुल्क कच्चा पदार्थकोभन्दा पनि कम हुने सरकारको नीतिले यो उद्योग संकटमा परेको छ ।” भारतले उपभोक्ताका लागि केही बस्तुमा कच्चा पदार्थ निर्यातमा निर्यात शुल्क लगाउने र तयारी बस्तु आयात गर्दा भन्सार शुल्क घटाउने नीतिका नेपालका विभिन्न उद्योगहरूमा समस्या आएको उनले बताए ।
उनी भन्छन्, “आयकरको प्रमुख स्रोतको रूपमा पनि घ्यू तेल उद्योग रहेको छ । यस उद्योगको समस्या समाधान नगर्ने हो भने नेपालको ठूलो सेक्टर तथा प्रमुख उद्योगमध्ये एक उद्योग बन्द हुने अवस्था आइसकेको छ । बजेटमा गरिएको व्यवस्था सच्याउने मात्रै होइन घ्यू तेलको कच्चा पदार्थको भन्सार महशूल शून्य नै बनाउनुपर्छ ।” संघको मागमा नेपाल उद्योग वाणिज्य महासंघको पूर्ण प्रतिबद्धता रहेको समेत उनले बताए ।
चालू आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ८७.६० अर्ब रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको छ । भारतले भन्सार महशुल शून्य प्रतिशत बनाएपछि नेपालबाट भारत निकासी हुँदै आएको वनस्पति तेलको परिमाण उल्लेखनीय रूपमा घट्ने व्यवसायीहरू बताउँछन् ।
नेपालमा हाल २२ ओटा वनस्पति घ्यू तेल उद्योग सञ्चालित छन् भने तीन ओटा उद्योग पाइपलाइनमा छन् । करिब एक खर्ब रुपैयाँ लगानी रहेको यस क्षेत्रले १५ हजारबढीलाई रोजगारी दिइरहेको संघले जनाएको छ ।






























