प्रदेश नं. १ : कृषि क्षेत्रमा २ अर्ब ५९ करोड बजेट, ब्याज अनुदानका लागि ९ करोड विनियोजन
वि.सं.२०७९ असार १ बुधवार
shares
प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९/८०को लागि कृषि क्षेत्रमा २ अर्ब ५९ करोड २३ लाख बजेट छुट्याएको छ ।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै प्रदेशको १० वर्षे कृषि रणनीति तर्जुमा गरिने उल्लेख घोषणा गरे ।
‘कृषि क्षेत्रको रूपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै उनले सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरे । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गर्न प्रदेश सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको मन्त्री आङ्बोले बताए ।
यस्तै बाली र पशुपक्षी बीमाका लागि प्रोत्साहन गर्न ३ करोड, कृषि क्षेत्रको विकासका लागि किसानलाई ब्याज अनुदानका लागि ९ करोड रकम विनियोजन भएको छ ।
सरकारी, निजी र सहकारी, कृषिमा साझेदारी कार्यक्रम लागू गर्ने र एक पालिका एक उत्पादन नमुना कार्यक्रम सञ्चालनका लागि १३ करोड बजेट छ्टयाएको मन्त्री आङ्बोले घोषणा गरे ।
बाली बीमा कार्यक्रमलाई अभियानको रूपमा लागू गरिने बताउँदै पशु नस्ल सुधारका लागि कृत्रिम नस्ल सुधार, पशुपंक्षी महामारी नियन्त्रणका लागि खोपको प्रबन्ध, खोरेत मुक्त गर्न खोपको अभियान चलाउने पनि उल्लेख गरेका छन् ।
मासु प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको प्रदेश सरकारले चिया, अदुवा, अलैँची, सुपारी, रुद्राक्षको बजार प्रबर्द्धन गर्न ५ करोड बजेट विनियोजन गरेको छ ।






























