माधव कुमार नेपाललाई केपी ओलीको सन्देश, आए आऊ नआए नआऊ !
वि.सं.२०७८ वैशाख १९ आइतवार
shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र माधव कुमार नेपाल क्रमशः निरीह बन्दै गएका छन् भने अध्यक्ष केपी शर्मा ओलीले आए आऊ नआए नआऊको शैलीमा पार्टीलाई अगाडि बढाइ रहेका छन् । यसकै कडीको रूपमा अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेका छन् । आउँदो २ देखि ६ मङ्सिरसम्म तोकिएको महाधिवेशनका लागि ओलीले कार्य तालिका सार्वजनिक गरेका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उपस्थितिबिना बालुवाटारमा बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेलद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो । उक्त बैठक पछि २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी एमाले ब्युँतिएपछि पार्टीमा भएका निर्णयको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।
वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन ३० भदौ र २३ असोजमा प्रदेश अधिवेशनको कार्य तालिका रहेको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।
यता माधव समूह पार्टी एकताको माला जप्दै बसेको छ । एकातिर एकता पक्षधरलाई आफू सँग रोक्न एकताको कुरा गर्ने र अर्कोतिर ओली विरोधी मनोविज्ञानलाई आफूसँग राख्न समानान्तर कमिटी बनाउँदै जाने अलमलको कार्यनीतिमा यति बेला नेपाल फसेको देख्न सकिन्छ ।




























