आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न
वि.सं.२०८० भदौ १९ मंगलवार
shares
काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको उक्त एक्स्पो सोमबार सम्पन्न भएको हो ।

यो एक्सपोको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सूचना प्रविधिबारे ज्ञान दिने रहेको छ । काठमाडौंको तीनकुनेमा रहेको यो कलेज परिसरमा भएको सो एक्सपोले एआई लगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको छ ।

आईएसएमटी ग्रुप अफ कलेजका प्रिन्सिपल ध्रुवबाबु जोशी शिक्षा क्षेत्रमा नयाँ ट्रेन्ड आइरहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय शिक्षा क्षेत्रमा नयाँ ट्रेन्ड आइरहेको छ । शिक्षाले तपाइलाई सोच्ने बनाउँछ की सम्झने बनाउँछ ? जहाँ सोच्नु पर्छ त्यो चाँहि शिक्षा हो भने सम्झने काम कम्प्युटरले गर्छ । सम्झिएर मात्रै हुँदैन बुझेर कार्यान्वयन गर्न सक्नु पर्छ ।’

नेपालमै अध्ययन गर्ने विद्यार्थीहरूले पाठ्यक्रमबाट लिएको ज्ञानलाई व्यवहारिकरुपमा लागू गर्नका लागि यस्ता कार्यक्रम गरिएको कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्ती बताउँछन् । उनले भने, ‘नेपालमै अध्ययन गर्ने विद्यार्थीहरूले पाठ्यक्रमबाट लिएको ज्ञानलाई व्यवहारिकरुपमा लागू गर्नका लागि यस्ता कार्यक्रम गरिने गरिएको छ । विद्यार्थीहरू यस आईएसएमटी कलेजमा भर्ना हुँदा जुन उद्देश्य लिएर आएका हुन्छन्, त्यसलाई हामीले यी विभिन्न कार्यक्रमहरू गरेर पुरा गरिरहेका छौँ । हामीले बजारमा रिसर्च गरेर सुविधाहरू दिइरहेका हुन्छौँ ।’

एक्स्पोमा एक दर्जन बढी स्टल राखिएको थियो । प्रदर्शनीमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।
































