विपक्षी दलहरु प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत जादै

1.3K
shares

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्न सर्वोच्च अदालत जाने भएका छन् । गठबन्धनका अनुसार बिहान १० बजे १४९ मध्ये केहि मुख्य नेताहरु स्वास्थ्य मापदण्ड पालना गरि रिट दायर गर्ने जाने भएका हुन् ।

 

यसका लागि हिजाे सबै सांसदहरूकाे हस्ताक्षर संकलन भइसकेकाे बताइएकाे छ । हिजो नै जाने भनिएपनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने तयारी गरिएको हो ।

 

विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो सम्बन्धी निर्णय बदर गर्न माग गरिएकाे छ ।

रिटले संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग समेत गरेको छ ।

 

रिटमा नेपालको संविधान र सर्वोच्च अदालतले विगतमा स्थापित गरेका नजीर र सिद्धान्त विपरीत प्रतिनिधिसभा विघटन र वैकल्पिक सरकार गठनमा अवरोध भएको दावी गरिएको छ ।

रिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरेका छन्।

 

रिट दर्ता गर्न मुख्य नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवसहितका अन्य नेताहरू पनि उपस्थित रहने छन् ।

 

 

civil hospital
Hams Hospitals