खुलेयाम घुष माग्दा एसपी मौन
वि.सं.२०८१ साउन ४ शुक्रवार
shares
परासी । पश्चिम नवलपरासीका केही नाकाहरूबाट तस्करी धन्दा त चलिरहेको नै छ । मातहतका केही चौकीका प्रमुखले खुलेयाम घुष माग्ने गरेको कुरा पनि सार्वजनिक भएको छ। नेपाली फर्मले नेपाल भित्र खरिद गरेको सामान नेपाल भरि जहाँ पनि लैजान , ल्याउन पाउने कानुनी व्यवस्था छ। झापाबाट कन्चनपुर होस या रसुवा देखि भैरहवा वा बिरगंज बोर्डर नै किन नहोस । तर पश्चिम नवलपरासीको सिमरी इलाका प्रहरी कार्यालयका प्रहरीले भने नेपालबाट खरिद गरेर नेपाल भित्र बिक्रीवितरण गर्न लगेको सामानमा पनि खुलेयाम घुष माग्ने गरेको कुरा सार्वजनिक भएको छ । नेपालबाट भारत तस्करी गर्न पाइदैन , त्यो प्रहरी वा सशस्त्र प्रहरीले रोक्नुपर्छ तर नेपाल भित्र जहाँ लैजान पनि कानुनले रोकेको छैन । तर यसैसाता सिमरी प्रहरीले त्यस्ता सामान बोकेका मालवाहक ट्रकहरू रोकेर रकमको मोलमोलाई गर्ने , गोदाम देखा भन्दै पिछा गर्ने देखि व्यापारीहरूलाई अनावश्यक दुख दिने गरेको थाहा भएको छ।
त्यतिमात्र होइन खास गरेर भुजहवा , रामनगर र बसैया नाकाबाट लुकिचोरी तस्करी भएर सामान ल्याउने तस्कर देखि व्यापारी सम्मलाई एउटा फर्मको २५ हजार अनिवार्य चांहिन्छ भनेर रकम माग्ने काम समेत सिमरी चौकीबाट हुदै आएको छ। सिमरी प्रहरीको क्षेत्रमा भुजहवा , बसैया र रामनगरबाट चोरी तस्करी भएका सामानहरू आउने गर्दछन । यो चौकी बर्दघाटबाट झण्डै ७ किलोमिटर दक्षिण पर्दछ । यो इप्रकामा सई संजय यादव प्रमुखको रूपमा कार्यरत छन् । उनको यस इप्रकाको बस्ने समयावधि पनि पुगिसकेको र नयाँ एसपी ज्ञानेन्द्र प्रसाद फुयालसंग नजिक भएर लामो समय बस्नको लागि पनि सई यादवले अहिले अनेकौं धन्दा गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकले बताए । सई यादवले व्यापारी र तस्करलाई भेटघाट गर्नका लागि सहायक हवल्दार मुकेश यादवलाई परिचालन गरेका छन् । रूपन्देही जिल्ला प्रहरी कार्यालय दरबन्दी भएका सहायक हवल्दार मुकेशलाई दरबन्दीमा नपठाएर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मातहत सिमरी पठाएर घुमुवा परिचालन गराइरहेको छ।































