पवित्रता, निष्ठा, श्रद्धा र आस्थाको पर्व:छठ

24.1K
shares
Nabil bank

छठ पर्व नेपाल र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । हालका दिनमा भने यो पर्व तराई मधेसका अतिरिक्त काठमाडौं उपत्यका र पहाडमा समेत धुमधामका साथ उल्लासपुर्वक मनाइने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

इतिहास

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

को हुन् छठी माता ?

छठी माताका सम्बन्धमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराणको नवौं स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे। महर्षि कश्यपले यज्ञको आहुतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रूपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए।सन्तान प्राप्त भएको खुसी एकै छिनमा शोकमा परिणत भयो। मृत सन्तानको जन्मको खबरले राजा विह्वल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे। सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन्, ‘म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ। सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो। सोही कारणले मलाई षष्ठी पनि भनिन्छ।उनले भनिन्, ‘हे राजन मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु। मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ। त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो। कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा सुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ। तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ।

छठ पर्वमा सूर्यको पूजा

हिन्दु धार्मिक र पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख छ। सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ। नेपाल, भारत, बेबिलोन, युनान, मि श्र तथा जापानलगायत थुप्रै देशमा सूर्य उपासनाको परम्परा पाइन्छ। छठको पूर्वरूप (सूर्य उपासना) वेदमै पाइन्छ, भविष्य पुराण र पद्म पुराणमा समेत यसका वर्णन पाइन्छ। भन्निछ, अत्रिमुनिकी पत्नी अनुसुयाले सर्वप्रथम यो षष्ठीव्रत गरेको थिइन्। महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य प्रेम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। यस्तैै भगवान् रामले वनवास हुँदा रावणको वध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्ल औंसी तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुसीयालीमा दीप प्रज्जवलित गरेर दीपावली मनाइएको कुरा रामायणमा उल्लेख छ। राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए।अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा सूर्यवंशी रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुवै महŒवपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रूपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ। अग्नि पुराणका अनुसार १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ।
छठ पर्वको सामाजिक तथा सांस्कृतिक महत्व
सूर्यका उपासना आरोग्य, आयुष्मानको लागि पनि गरिन्छ। बिहान र बेलुका सूर्यको अध्र्यबाट शरीरको भिटामिन डी प्राप्त हुन्छ। साथै, यस पर्वमा व्रत बसेमा चर्मरोग र कुष्ठरोग निदान हुन्छ, भन्ने मान्यतासमेत पाइन्छ। छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यसैगरी सर्वशास्त्रज्ञ सौनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पआयुमा मृत्युलगायत कष्टमा रहेका मानवको दुःख नासको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र सातवीं उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएका थिए। सूर्य र जलको शक्ति तथा महŒव झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ। छठ पर्व आउनुभन्दा केही दिन पहिलेदेखिनै घरमा माछा मासु वर्जित हुने गरेको छ। जस कारणले शरीर र मन दुवै शुद्ध हुन्छ।

छठ पर्वको विधि

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ । यस पर्वका व्रतालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लिपपोत गर्छन्।
पहिलो दिन ‘नहाए खाएको दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर चोखो शाकाहारी खाना खाने गर्छन्। यस दिन छठ व्रत गर्ने व्रतालुहरूले दत्तिवनले मुख धुने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन्।छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन्। बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादको रूपमा चन्द्रोदय पछि षष्ठीदेवी लाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसादको रूपमा लिने चलन छ।

छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई ‘सम्झिया घाटे’ पनि भनिन्छ। छठ पूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ।सँझिया घाटका दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। छठ पर्वमा दूध, ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ। उखु, केरा, मूला, गाजर, बेसार, नरिवल, सुन्तलाजस्ता फलहरू लगायतले भगवानलाई अर्घ दिइन्छ।
कतिपय स्थानमा राति छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालुहरू आफ्ना सामग्री प्रसादसहित फर्केर आउने र भोलिपल्ट बिहान फेरि घाट जाने गर्छन्।चौथो दिन अर्थात् सप्तमी तिथिका दिन झिसमिसेमै व्रतालुहरू फेरि नुहाइधुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन्। बिहान सूर्य उदाउनुभन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठीमातालाई अर्घ दिन्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोरा छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय गर्छन्।

नहान खान (नहाए खाए)

छठको पहिलो दिन–कार्तिक शुक्ल चतुदर्शी ।कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन– म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।

खर्ना

छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमी । विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।

छठ

छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी। छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झै सिंगारिएककक हुन्छ।

पारण

छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी। यस दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

विसर्जन

षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।

कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x