‘कर्मचारीतन्त्रको मनोवृत्ति र कार्यशैलीमा सुधारको वहस

17.7K
shares
Nabil bank

 

कर्मचारीतन्त्रको मनोवृत्ति र कार्यशैलीमा सुधारको बहस कुनै पनि देशको सुशासन, समृद्धि र नागरिक सेवाको गुणस्तरमा केन्द्रित रहेको महत्त्वपूर्ण विषय हो। एक कुशल कर्मचारीतन्त्रले मात्रै नागरिकको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ तर धेरैजसो देशहरूमा कर्मचारीतन्त्रलाई कठोर, जटिल, र प्रायः जनमैत्री नभएको आरोप लाग्ने गर्दछ । यस्तो अवस्थाको सुधारका लागि कर्मचारीतन्त्रमा सकारात्मक मनोवृत्ति र व्यावसायिक कार्यशैलीको विकास अपरिहार्य छ ।

कर्मचारीलाई एकातिर पर्याप्त अधिकार दिइएको छैन भने अर्कातिर प्राप्त अधिकारको पनि स्वतन्त्र उपयोग गर्ने वातावरण छैन्। प्रशासन संयन्त्रको संस्थागत क्षमतामा ह्रास हुँदै गएको छ । चरम राजनीतिकरण भएकाले कर्मचारीबीच पनि विश्वासको संकट छ । दण्डहीनता सामाजिक संस्कार बन्न पुगेकाले कर्मचारी संयन्त्र पनि त्यसबाट आक्रान्त छ । यिनै सबै कारणले गर्दा नेपालको प्रशासनयन्त्र मर्यादित संस्थाका रूपमा विकसित हुन सकेन। प्रशासन संयन्त्र मर्यादित र प्रभावकारी हुन नसक्ता शासन सञ्चालनै कठिन हुन पुगेको छ ।

नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेश्ी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ । विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक ,पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यहरुलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ ।

अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो ।

हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ । मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो ।

सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ । यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन् । उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ । हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन् । उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ । यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन् । प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो ।

समृद्धि हासिल गर्ने हो भने ‘कर्मचारीतन्त्रको मनोवृत्ति र कार्यशैलीमा परिवर्तन गर्नुपर्छ । राम्रोसँग काम गर्ने तर दलनिकट नभएका कर्मचारीलाई पाखा लगाइहाल्ने, पार्टीनिकटलाई मात्रै काख लिने परिपाटी कर्मचारीतन्त्रमा हावी छ । फलतः कर्मचारीतन्त्र ‘नम्र्स र प्रणालीमा हिँड्न सकेन ।आज पनि माथिकालाई चाकडी गर्ने तर तलकालाई हप्काउने प्रवृत्ति कर्मचारीतन्त्रमा कायमै रहेको छ । भ्रष्ट मानसिकताले पनि काम गरेको छ । ब्युरोक्रेसीमा आउनुको अर्थ राज्य चलाउन र कमाउन आएको भन्ने सोच छ । अबचाहिँ कर्मचारीतन्त्रलाई ‘प्रणालीगत रुपमा सञ्चालन गर्नुपर्छ । कडाइका साथ पुरस्कार र दण्डका आधारमा कार्यमूल्यांकन गर्दै जानुपर्छ । यतिबेला देशको प्रशासनिक संयन्त्र भ्रष्टाचार, व्यतिथी,अराजकता, ढिला सुस्ती र पक्षपातले थिलोथिलो भएको अवस्था विधमान छ। राजनीतिक आस्थाका आधारमा खोलिएका ट्रेड युनियनहरूले तिनका राजनीतिक दलको पक्षपोषण गरेका छन्। कर्मचारी संयन्त्र निकम्मा बनाउन सहयोग गरेका छन्। नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाका निम्ति सामुहिक सौदाबाजी गर्न पेशागत रुपमा एउटा साझा ट्रेड युनियनको व्यवस्था गरेको हो। तर यहाँका ट्रेड युनियनहरू त्यसको मर्मबाट धेरै टाढा छन्। ट्रेड युनियन को प्रभाव देखाएर राजनीतिक दलको कार्यकर्ता जस्तो भएर काम गर्ने प्रवृत्ति हाबी छ।

सर्वप्रथम, कर्मचारीतन्त्रको मनोवृत्ति सुधार गर्न नागरिकप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । कर्मचारीहरूले नागरिकलाई ग्राहक वा सेवा लिने व्यक्तिको रूपमा हेर्नुपर्छ। परम्परागत “म हाकिम, तिमी सेवक” को सोचाइ हटाएर जनताप्रति उत्तरदायी बन्ने मानसिकता विकास गर्नुपर्छ। यसका लागि कर्मचारीहरूलाई नियमित रूपमा सेवा–केन्द्रित प्रशिक्षण दिनुपर्छ । नागरिकलाई प्राथमिकता दिने सोचले मात्र कर्मचारीतन्त्रलाई जनमैत्री बनाउँछ। साथै, इमानदारी, पारदर्शिता, र नैतिकताका मूल्यहरूप्रति प्रतिबद्धता कर्मचारीतन्त्रको आधारभूत विशेषता बन्नुपर्छ। भ्रष्टाचाररहित वातावरणले कर्मचारीलाई ईमानदार र उत्तरदायी बनाउँछ ।

दोस्रो, कार्यशैलीमा सुधार गर्न प्रविधिको अधिकतम प्रयोग अपरिहार्य छ। ई–गभर्नेन्स प्रणालीलाई बलियो बनाएर झन्झटिला कागजी प्रक्रियालाई डिजिटल माध्यमबाट सरल, छिटो, र पारदर्शी बनाउनु आवश्यक छ । यसले नागरिकलाई सेवा सहज रूपमा उपलब्ध गराउँछ । कार्यक्षमताको मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउँदै योग्य कर्मचारीलाई पुरस्कृत गर्ने र सुधार आवश्यक कर्मचारीलाई उत्प्रेरित गर्ने व्यवस्था लागू गर्नुपर्छ। साथै, अधिकार र जिम्मेवारीको स्पष्ट परिभाषाले कामको दायरा र उत्तरदायित्व सुनिश्चित गर्न मद्दत गर्दछ। सेवा प्रवाहलाई सरल र द्रुत बनाउँदै झन्झटिला प्रक्रियाहरू कटौती गरिनुपर्छ।

तेस्रो, सुधारको लागि नेतृत्वको महत्त्वपूर्ण भूमिका हुन्छ। कर्मचारीतन्त्रलाई उत्प्रेरित गर्न नेतृत्वले उदाहरणीय भूमिका निर्वाह गर्नुपर्छ। नेतृत्वकर्ताहरूले सृजनात्मक र समाधानमुखी सोचको विकास गर्दै सुधारका लागि नवीन पहल गर्नुपर्ने आवश्यकता छ। नियमित रूपमा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने तालिम, कार्यशाला, र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनले कर्मचारीलाई नयाँ र प्रभावकारी विधि अपनाउन प्रेरित गर्दछ। यससँगै, उत्तरदायित्वको सुनिश्चितता पनि सुधारको प्रमुख पक्ष हो। प्रत्येक कर्मचारीलाई आफ्नो कार्यप्रतिको जवाफदेहिता स्पष्ट पार्नुपर्छ।

तर, सुधारका यी प्रयासहरूलाई कार्यान्वयन गर्दा केही चुनौतीहरू पनि सामना गर्नुपर्छ। कर्मचारीहरूको राजनीतिकरण, परम्परागत संरचना, र प्रविधि अपनाउनको अनिच्छा जस्ता समस्याहरूले सुधार प्रक्रियालाई अवरोध गर्न सक्छन्। यस्ता समस्याहरूलाई पार गर्न दीर्घकालीन रणनीति र निरन्तर सुधारको प्रक्रिया आवश्यक छ।

सर्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे,भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र सार्वजनिक क्षेत्र व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मुल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।

निष्कर्ष

कर्मचारीतन्त्रको मनोवृत्ति र कार्यशैलीमा सुधार नागरिक सेवाको गुणस्तर र सरकारप्रतिको विश्वास बढाउन केन्द्रित छ । सुधार प्रयासहरू नीति निर्माणमै सीमित नराखी व्यावहारिक कार्यान्वयनमा जोड दिइनुपर्छ। सकारात्मक मनोवृत्ति, प्रविधिको उपयोग, र उत्तरदायित्वले भरिएको कर्मचारीतन्त्रले मात्र नागरिकको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ। यस्तो सुधारले देशको समग्र विकासमा उल्लेखनीय योगदान दिन सक्छ । कर्मचारीतन्त्र देशको स्थायी सरकार हो। यसलाई राज्यको नीतिले चलाउने हो। राजनीतिक दलको कारणले गर्दा केही दशक यता नेपालको निजामती सेवामा चरम व्यतिथी मौलाएको छ। राजनीतिक दलका कार्यकर्ताले कर्मचारीलाई राष्ट्रसेवक नभई दलको सेवक बनाएका छन्। राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा संलग्नताको आधारमा खटनपटन गर्छौं, सरुवा बढुवा गर्छौं र यसको विपक्षमा रहनेलाई दण्डित गर्छौं। यस्तो अवस्थामा कसरी देश बन्छ ? राजनीतिलाई सफा नगरेसम्म देश बनाउन सकिन्न। राजनीतिलाई सफा गर्ने क्रम सँगसँगै कर्मचारी तन्त्र र संयन्त्रमा पनि सफा गर्नुपर्छ। त्यसपछि मात्र विकास र समृद्धिको मार्गमा अगाडि बढ्न सकिन्छ । देशको शैक्षिक क्षेत्रमा र कर्मचारीतन्त्रमा सुधार गर्ने हो भने राजनीतिक दलका नेतामा उच्चकोटीको चेत र संस्कार आवश्यक पर्छ। त्यसैगरी मानवीय मूल्यमा आधारित शिक्षा प्रणालीमा सुधार,अध्यात्मिक चेतना मार्फत मानवीय भावनाको विकास गर्न आवश्यक छ । समृद्धि हासिल गर्न ‘कर्मचारीतन्त्रको मनोवृत्ति र कार्यशैलीमा परिवर्तन गर्नसकेमा देशलाई समृद्ध बनाउन सकिने कुरामा आशावादी हुन सकिन्छ ।

 (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x