द्वैत र अद्वैतः दार्शनिक भिन्नता, भ्रम र सहिष्णुता – एक सम्यक् दृष्टिकोण

53.3K
shares
Nabil bank

 

बिषय प्रवेश

हिन्दू दर्शनमा आत्मा र परमात्माको सम्बन्धलाई दुई प्रमुख दृष्टिकोणले व्याख्या गरिएको छ । अद्वैत वेदान्त र द्वैत वेदान्त । द्वैत र अद्वैत दर्शनहरू हिन्दू वैदिक परम्पराका दुई प्रमुख स्तम्भहरू हुन् जसले आत्मा र परमात्माको सम्बन्धलाई भिन्न भिन्न दृष्टिकोणबाट बुझ्ने, व्याख्या गर्ने र बिश्लेषण गर्ने गर्छन्। यी दुवै दर्शन गहिरो आध्यात्मिक अनुसन्धान, तर्क, तथा आत्मसाक्षात्कारको आधारमा जन्मिएका हुन् र हजारौँ वर्षदेखि अनगिन्ती ऋषि–महर्षिहरूले तिनीहरूको महत्त्वलाई स्वीकार गरेका छन्। कुनै पनि दर्शनको अन्तिम उद्देश्य मानिसलाई सत्यतर्फ डो–याउनु नै हो । अज्ञानताको नाश गर्दै मोक्षप्राप्तितर्फ अग्रसर गराउनु हो। त्यसैले द्वैत र अद्वैत दुवै दर्शन महान् छन् र कुन सिद्धान्त अपनाउने भन्ने कुरा प्रत्येक साधकको रुचि, चहना, तथा आध्यात्मिक प्रवृत्तिमा निर्भर गर्छ नै ।

अद्वैत वेदान्त, जसको प्रमुख प्रवर्तक आदि शंकराचार्य हुन् । यसले आत्मा (जीव) र परमात्मा (ब्रह्म) बीच कुनै भिन्नता छैन भनने कुरामा जोड दिएको छ । अन्ततः सबै एकै ब्रह्म हुन्, केवल अज्ञान (अविद्या) को कारणले मानिसहरूले पृथक अस्तित्व देख्छन्।अद्वैतको दृष्टिमा, ब्रह्म निराकार, निर्गुण, असीम, अद्वितीय, एक मात्र परम सत्य हो र आत्मा पनि यही ब्रह्मको अभिव्यक्ति हो। जब मानिसले आफ्नो वास्तविक स्वरूप चिन्छ, तब ऊ अहं ब्रह्मास्मि (म नै ब्रह्म हुँ) भन्ने अनुभवमा पुग्छ । आत्मा शरीर, मन, बुद्धि जस्ता क्षणिक तत्वहरूको बन्धनमा छ तर जब यो बन्धन हट्छ तब आत्मा परमात्मासँग पूर्ण रूपमा एकाकार हुन्छ । यो अनुभव नै मोक्ष हो । यस आलेखमा द्वैत र अद्वैतः दार्शनिक भिन्नता, भ्रम र सहिष्णुता – एक सम्यक् दृष्टिकोण वारेमा चर्चा गरिएको छ ।

अद्वैत दर्शन र आत्मा–परमात्माको सम्बन्ध

सामान्यतया, मानिस आफ्नो भौतिक शरीर, मन, र बुद्धिसँग आफूलाई सीमित गरिरहेको हुन्छ । अद्वैत वेदान्तको मूल तत्व नै “अहं ब्रह्मास्मि“ अर्थात् “म नै ब्रह्म हुँ“ भन्ने सिद्धान्तमा आधारित छ । यसका अनुसार आत्मा (व्यक्तिगत अस्तित्व) र परमात्मा (सर्वव्यापी अस्तित्व) भिन्न होइनन । तिनीहरू एउटै अद्वितीय सत्यका अभिव्यक्ति मात्र हुन्। अद्वैतको दृष्टिमा, हामी जो छौँ त्यो नै शुद्ध चैतन्य हो । यसको न कुनै सीमा छ । यो न कुनै जन्म–मृत्युको चक्रमा बाँधिएको छ । यो आत्मा नै ब्रह्म हो, जसले सम्पूर्ण सृष्टिलाई धारणा गरिरहेको छ ।

अद्वैत भन्छ, “यो सम्पूर्ण ब्रह्माण्ड आत्माको नै अभिव्यक्ति हो।” जुनसुकै जीव, वस्तु वा घटना देखिन्छन्, ती ब्रह्मको नै विविध स्वरूप हुन्। तर अज्ञानको कारणले हामी आफैँलाई सानो शरीर–मात्र ठान्छौँ, जबकि हाम्रो वास्तविक स्वरूप सर्वव्यापक चैतन्य हो। जब यो अज्ञान नष्ट हुन्छ, तब आत्मा र परमात्माबीचको भेदभाव विलीन भई केवल अद्वितीय अस्तित्व मात्र रहन्छ । यही नै मोक्ष हो, जहाँ म (आत्मा) परमात्मासँग विलीन भई स्वयं ब्रह्मरूप हुन्छु।

द्वैत दर्शन र आत्मा–परमात्माको सम्बन्ध 

द्वैत दर्शन हिन्दू दर्शनका छ मुख्य शाखाहरू मध्ये एक हो, जसको मूल प्रवर्तक आदि शंकराचार्यका समकालीन मध्वाचार्य मानिन्छन्। द्वैत वेदान्तले आत्मा (जीव) र परमात्मा (ईश्वर) बीच स्पष्ट भिन्नता दर्शाउँछ । यसको मूल शिक्षामा परमात्मा सदा स्वतन्त्र, सर्वशक्तिमान्, सर्वव्यापक, निर्गुण र निराकार हुन्छ, जबकि आत्मा एक व्यक्तिगत, सीमित चेतन तत्व हो । यसले परमात्माबाट अलग अस्तित्व राख्दछ । तथापि, द्वैत भित्रै पनि एक गहिरो आध्यात्मिक व्याख्या पाइन्छ, जसमा “म नै आत्मा हुँ, र यही आत्मा नै सबैको परमात्मा हो“ भन्ने भनाइलाई फरक दृष्टिकोणबाट बुझ्न सकिन्छ।

द्वैत परम्परामा, आत्मा भनेको एक व्यक्तिगत जीवात्मा हो, जसले जन्म–मृत्यु, कर्म, र पुनर्जन्मको चक्रमा बाँधिएको हुन्छ । प्रत्येक आत्मा अद्वितीय छ, फरक व्यक्तित्व, कर्म र भोग्यताका आधारमा परमात्माको सृष्टिमा भिन्न–भिन्न भूमिका खेल्छ । यद्यपि आत्मा शाश्वत छ, अजर–अमर छ, तर यसको अस्तित्व परमात्माको कृपाबाट मात्रै सम्भव हुन्छ । द्वैत भन्छ, आत्मा परमात्माबाट उत्पन्न भएको होइन । आत्मा स्वयं एक स्वतन्त्र तत्व हो । यसको शक्ति, ज्ञान, र अस्तित्व परमात्माको आश्रयमा निर्भर रहन्छ । आत्मा कुनै पनि अवस्थामा परमात्मा बन्न सक्दैन, तर परमात्मासँग नजिकिँदै जान सक्छ । ऊसँग प्रेमपूर्वक सम्बन्ध स्थापित गर्न सक्छ । यही सम्बन्ध नै भक्ति मार्गको आधारशिला हो, जहाँ आत्मा परमात्मालाई आफ्नो प्रियतम, गुरु, पिता वा मित्रका रूपमा अनुभूति गर्छ।

द्वैत दृष्टि अनुसार आत्मा भौतिक शरीर, मन र बुद्धि भन्दा परको शुद्ध चेतन तत्व हो। मानिसहरू प्रायः आफूलाई शरीर वा मानसिक अवस्थाहरूसँग पहिचान गर्छन् । वास्तवमा आत्मा स्थायी छ, अजर–अमर छ, नश्वर शरीर वा मनको नाश हुँदा पनि आत्मा रहिरहन्छ । द्वैत दर्शनमा मोक्ष भनेको आत्माको परमात्मासँग एकाकार हुनु होइन, बरु परमात्माको शरणमा गई ऊसँग नजिकको सम्बन्ध स्थापित गर्नु हो। आत्मा सधैँ परमात्मासँग सेवा र भक्ति भावमा रहन्छ, यो नै द्वैत मोक्ष हो।द्वैत दर्शनअनुसार आत्मा परमात्माकै सृष्टि हो । परमात्माको इच्छा अनुसार नै आत्माहरूको अस्तित्व रहन्छ । द्वैत भन्छ, प्रत्येक जीवात्मा परमात्माको अंश होइन, तर परमात्माकै नियन्त्रणमा रहने छुट्टै चेतन तत्व हो ।

श्रीकृष्णले भगवद्गीतामा भनेझैँ, “ममैवांशो जीवलोके जीवभूतः सनातनः“ – जीवात्मा परमात्माको शाश्वत भोगी सेवक हो। यसको अर्थ प्रत्येक आत्मा परमात्मासँग जोडिएको छ, तर आत्मा परमात्मा होइन। आत्मा परमात्माबाट फरक छ, किनभने परमात्मा सर्वशक्तिमान्, सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हो, जबकि आत्मा सीमित ज्ञान, सीमित शक्ति र सीमित स्वतन्त्रता भएको तत्व हो।

द्वैत दृष्टिकोणबाट स्पष्ट पार्दा, यसको अर्थ आत्मा परमात्माबाट प्रेरित छ, आत्माको अन्तिम उद्देश्य परमात्माको सेवा र भक्ति गर्नु हो। आत्मा परमात्माकै निर्देशनअनुसार चल्दछ, र जब आत्माले आफ्नो स्वाभाविक धर्मलाई अर्थात् परमात्माको भक्ति र सेवा गर्न थालेपछि आत्माले परमात्मासँग अत्यन्त निकट सम्बन्ध अनुभव गर्दछ। द्वैत दर्शन भक्ति मार्गको मुख्य आधार मानिन्छ । यसले आत्मालाई परमात्माको शरणमा जाने बाटो सिकाउँछ । द्वैत परम्परामा भक्तिलाई नै प्रमुख मार्ग मानिन्छ, जसमा आत्माले परमात्मालाई सर्वोच्च स्वामी मान्दै जीवन व्यतीत गर्नुपर्छ ।

भक्तियोग अनुसार, आत्माले परमात्मासँग आत्मसमर्पण गर्नुपर्छ, जसले गर्दा परमात्माले आत्मालाई आफ्नो दिव्य कृपा प्रदान गर्न सकून्। यसै सन्दर्भमा, श्रीरामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तले पनि आत्मालाई परमात्माको अंश मान्छ, तर पूर्ण अद्वैत स्वीकार गर्दैन। यसका अनुसार आत्मा परमात्माको गुणधर्मी सेवक हो, जसको प्रमुख कर्तव्य नै भक्तिपूर्वक ईश्वरको स्मरण, ध्यान, र सेवा गर्नु हो।

द्वैत र अद्वैतको तुलना

अद्वैत भन्छ, आत्मा र परमात्मा बीच कुनै भिन्नता छैन । अन्ततः सबै एकै ब्रह्म हुन्। द्वैत भन्छ, आत्मा र परमात्मा सधैं पृथक् छन् । आत्मा परमात्माको सेवक हो।यदि अद्वैतले “अहं ब्रह्मास्मि“ भन्छ भने, द्वैतले “दासोऽहम“ अर्थात् “म परमात्माको दास हुँ“ भन्छ । द्वैतको दृष्टिमा, आत्मा परमात्मासँग मिल्न सक्दैन, तर प्रेम र भक्ति मार्फत परमात्माको नजिक पुग्न सक्छ । द्वैत दर्शनले आत्मालाई परमात्मासँग सधैं पृथक् मान्छ, तर आत्माको वास्तविक स्वरूप बुझ्न आवश्यक छ । “म नै आत्मा हुँ“ भन्ने ज्ञानले मानिसलाई आफ्नो शाश्वत चेतन अस्तित्व बुझ्न मद्दत गर्छ, जसले उसलाई परमात्माको भक्तितर्फ डोर्याउँछ। “र यही आत्मा नै सबैको परमात्मा हो“ भन्ने भाव भने आत्मा परमात्माको सेवक भएकाले ऊ परमात्मासँग अटुट रूपमा सम्बन्धित छ भन्ने दर्शाउँछ ।

द्वैतले आत्मा सधैँ परमात्माको कृपाको आश्रयमा रहन्छ र यही परमात्मासँग आत्माको शाश्वत सम्बन्ध नै जीवनको सर्वोच्च उपलब्धि हो। द्वैत भन्छ, आत्मा र परमात्मा सधैं पृथक् छन् र आत्मा परमात्माको सेवक हो। तर अद्वैत भन्छ, आत्मा र परमात्मा बीच कुनै भिन्नता छैन, अन्ततः सबै एकै ब्रह्म हुन्।

अद्वैत वेदान्तले आत्मा र परमात्माको भिन्नतालाई केवल भ्रम (माया) भन्छ । यो भ्रमले आत्मालाई अलग अस्तित्व भएको अनुभूति गराउँछ तर जब आत्माले ब्रह्मज्ञान प्राप्त गर्छ तब यो पृथकताभाव समाप्त हुन्छ । आत्मा कुनै छुट्टै अस्तित्व होइन, यो ब्रह्मकै अंश होइन, बरु पूर्ण रूपमा ब्रह्म नै हो, केवल शरीर, इन्द्रिय, मन, र अहंकारको कारणले यो भिन्न देखिन्छ। जब अज्ञान हट्छ, तब आत्मा र परमात्मा बीच कुनै भिन्नता रहँदैन । आत्मा नै परमात्मा भएको अनुभूति हुन्छ । उदाहरणका रूपमा समुद्र र त्यसको एक थोपा पानीलाई लिन सकिन्छ। एक थोपा पानीले आफूलाई समुद्रभन्दा पृथक ठान्छ, तर वास्तवमा त्यो समुद्रकै हो। जब त्यो थोपा समुद्रमा मिसिन्छ, तब पृथकताभाव समाप्त हुन्छ । यस्तै, आत्मा जब ब्रह्मज्ञानद्वारा मुक्त हुन्छ, तब ऊ परमात्मासँग विलीन हुन्छ।

तर द्वैत वेदान्त यो दृष्टिकोण अस्वीकार गर्छ। द्वैत अनुसार आत्मा र परमात्मा समुद्र र पानीको थोपा जस्ता होइनन्, बरु मालिक र सेवक, पिता र सन्तान, वा भगवान् र भक्त जस्ता सम्बन्धमा छन्। आत्मा सधैँ सानो हुन्छ, परमात्मा सधैँ महान् हुन्छ । आत्माले परमात्मासँग मिलेर आफ्नो अस्तित्व गुमाउने होइन, बरु परमात्माको चरणमा अनन्त भक्ति अर्पण गरेर, उहाँको सेवा गरेर, उहाँको नजिक रहने अवसर प्राप्त गर्नु नै आत्माको परम लक्ष्य हो। द्वैत अनुसार, मोक्ष भनेको आत्माको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दै परमात्मासँग अनन्त भक्ति–सम्बन्ध स्थापना गर्नु हो।

अद्वैतले मोक्षलाई आत्मा र परमात्माको अद्वितीय अस्तित्वमा विलीन हुनु भने पनि, द्वैतले आत्मालाई परमात्माको चिरकालीन सेवक मान्छ । आत्माले परमात्माको साक्षात्कार गर्नका लागि केवल भक्ति, प्रेम, सेवा, र पूर्ण समर्पणको मार्ग अवलम्बन गर्नुपर्छ। परमात्मा साक्षात् भगवान हुन्, चाहे तिनी श्रीकृष्ण, श्रीराम, विष्णु वा नारायणका रूपमा हुन्। आत्मा भने उनको सानो, सीमित चेतन तत्व हो, जसले मोक्ष प्राप्त गरेपछि अनन्त भक्ति मार्फत परमात्माको सेवा गर्ने अवसर प्राप्त गर्छ।

भगवद्गीताले पनि यी दुई दृष्टिकोणलाई विभिन्न रूपमा प्रस्तुत गर्छ। भगवान् श्रीकृष्णले गीता १०.२० मा भन्छनः “अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः“ – “हे अर्जुन म प्रत्येक प्राणीको हृदयमा स्थित आत्मा हुँ।“ यो वाक्य अद्वैत पक्षलाई समर्थन गर्छ, जसअनुसार परमात्मा नै आत्माका रूपमा प्रकट भएको हो। तर अर्कोतिर, श्रीकृष्ण गीता १८.६६ मा भन्छनः “सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज“ – “सबै धर्महरू त्यागी केवल मेरो शरणमा आऊ।“ यो द्वैत पक्षलाई समर्थन गर्छ, जसअनुसार आत्मा सधैँ परमात्माको शरणमा गइरहनुपर्छ।

अद्वैत वेदान्तको मुख्य लक्ष्य आत्मसाक्षात्कारद्वारा ब्रह्मज्ञान प्राप्त गर्नु हो। यसमार्गमा ज्ञान (गुरु उपदेश, शास्त्र अध्ययन, ध्यान, विवेक, वैराग्य) प्रमुख साधन हो। एक पटक ब्रह्मज्ञान प्राप्त गरेपछि, व्यक्ति अहंकार, आसक्ति, र संसारिक मोहबाट मुक्त हुन्छ, जसले गर्दा आत्मा परमात्मासँग एकाकार हुन पुग्छ । तर द्वैत वेदान्त भन्छ कि मोक्षको लागि ज्ञानमात्र पर्याप्त छैन, किनभने आत्मा परमात्मासँग मिल्ने होइन, बरु परमात्माको भक्तिभावमा रहनु नै यसको चरम अवस्था हो। द्वैत दर्शनमा भक्ति, प्रेम, सेवा, नामजप, ध्यान, कीर्तन, तथा भगवानका लीलाहरूको स्मरणलाई मोक्ष प्राप्त गर्ने प्रमुख साधन मानिन्छ।

यसरी हेर्दा, अद्वैत आत्मा र परमात्मालाई एकत्वमा ल्याउने दर्शन हो भने, द्वैत तिनीहरूबीचको भिन्नतालाई स्पष्ट रूपमा स्थापित गर्ने दर्शन हो। अद्वैतले आत्मालाई परमात्मासँग विलीन गराउँछ, जबकि द्वैतले आत्मालाई परमात्माको सेवा गर्ने भूमिकामा राख्छ । अद्वैतको मार्ग आत्मबोध हो, जसद्वारा व्यक्ति “म नै ब्रह्म हुँ“ भन्ने सत्यमा पुग्छ । जबकी द्वैतको मार्ग भक्ति हो, जसद्वारा व्यक्ति “म परमात्माको दास हुँ“ भन्ने सत्य स्वीकार्छ।

यसरी हेर्दा, अद्वैत आत्मा र परमात्मालाई एक मान्ने दृष्टिकोण हो भने, द्वैत आत्मालाई परमात्माको सेवकका रूपमा हेर्ने दृष्टिकोण हो। यी दुवै दर्शनका आफ्नै गहिराइ, तर्क, र आध्यात्मिक परिप्रेक्ष्य छन्। तर विडम्बना के छ भने, कतिपय साधकहरू आफ्नै दर्शनलाई उच्च मान्दै अरू दर्शनलाई तुच्छ ठान्ने भूल गर्छन्। द्वैतवादीहरूले अद्वैतलाई नास्तिक्य वा भ्रामक ठान्ने प्रवृत्ति देखाउँछन्, भने अद्वैतवादीहरूले द्वैतलाई अज्ञानतापूर्ण वा अधूरो ज्ञान ठान्ने प्रवृत्ति अपनाउँछन्। यस्ता प्रवृत्तिहरू दार्शनिक विमर्शको सुदृढ आधारलाई कमजोर पार्ने, सहिष्णुताको भावलाई नष्ट गर्ने, र धर्मका मूल शिक्षाहरूलाई विकृत गर्ने कार्य हुन्।

धर्म, दार्शनिकता, र आध्यात्मिकता भनेका आत्मिक उन्नतिका मार्ग हुन्, न कि विवाद, द्वेष, वा घृणाका स्रोत। द्वैत र अद्वैत दुवै वेदान्तीय प्रणाली हुन् र दुवै वेद तथा उपनिषद्को गहिरो अध्ययनबाट उत्पन्न भएका हुन्। एउटालाई राम्रो वा अर्कोलाई खराब भन्ने दृष्टिकोण स्वयं अज्ञानता हो। श्रीमद्भगवद्गीताले ज्ञान, भक्ति, र कर्म – यी तीन मार्गलाई समान रूपमा उच्च स्थान दिएको छ । गीता भन्छ कि केही साधकहरू ज्ञानमार्गद्वारा ब्रह्मसँग एकाकार हुने प्रयास गर्छन् । केही कर्ममार्गद्वारा आफ्नो कर्तव्य पालनमार्फत मोक्ष खोज्छन् । केही भक्ति मार्गद्वारा परमात्माको प्रेम प्राप्त गर्न चाहन्छन्। यी तीन मार्गहरू अद्वैत, द्वैत, र विशिष्टाद्वैत दर्शनसँग सम्बन्धित छन्, र तिनको आफ्नै विशेषता छ । यसरी, धर्मग्रन्थहरूले नै प्रत्येक मार्गलाई सम्मान गर्ने शिक्षा दिएका छन्, तर मानिसहरूको सोच र चेतनाको कमी , अज्ञानता र आफ्नै संकीर्ण सोचका कारण एउटा मतलाई ठूलो र अर्को मतलाई सानो देखाउने भूल गरिरहेको अवस्था विधमान छ ।

यो विवाद केवल हिन्दू धर्ममा मात्र होइन, अन्य धर्महरूमा पनि पाइन्छ। केही मानिसहरू आफ्नो धर्म नै अन्तिम सत्य हो भनेर अन्य धर्महरूलाई नकार्छन्। यस्तै प्रवृत्ति हिन्दू परम्पराभित्रै पनि देखिन्छ, जहाँ द्वैतवादीहरूले अद्वैतलाई उपेक्षा गर्छन्, वा अद्वैतवादीहरूले द्वैतलाई भ्रामक ठान्छन्। तर वास्तवमा, सत्य केवल एउटै मार्गबाट प्राप्त हुँदैन। सत्यको अनुभूति व्यक्ति–व्यक्तिमा फरक हुन सक्छ । कोही ईश्वरलाई सर्वव्यापी चेतनाका रूपमा अनुभव गर्छ, कोही उनलाई व्यक्तिगत रूपमा आराध्य देवका रूपमा देख्छन् । सत्यको अनन्त आयाम छन् र प्रत्येक व्यक्ति आफ्नो चेतनास्तर, अभ्यास, र प्रवृत्तिअनुसार भिन्न–भिन्न मार्गहरू रोज्न स्वतन्त्र छन् र रोज्छन् ।

जब मानिसहरूले आफ्नो दृष्टिकोणलाई मात्र सही ठान्छन् र अरूका दृष्टिकोणलाई हेप्ने, गाली गर्ने, वा तुच्छ साबित गर्ने प्रयास गर्छन् , त्यो सबैभन्दा महान तुच्छ हो ।। कुनै पनि दार्शनिक प्रणाली स्वतः महान् हुँदैन, त्यो महान् तब मात्र हुन्छ जब यसले मानिसलाई आध्यात्मिक उन्नतिको मार्ग देखाउँछ। द्वैत र अद्वैत दुवैलाई सम्यक् दृष्टिकोणले हेर्नुपर्छ, न कि कट्टरताले।

अन्ततः, सत्य एउटा समुद्रजस्तै हो, जहाँ विभिन्न नदीहरू आएर मिसिन्छन्। कोही नदी सीधा जान्छ, कोही घुमाउरो बाटोमा बग्छ, तर अन्ततः तिनीहरू सबै समुद्रमा नै पुग्छन्। ठीक यस्तै, द्वैत, अद्वैत, विशिष्टाद्वैत, शुद्धाद्वैत, तथा अन्य वेदान्तीय प्रणालीहरू सबै मोक्षप्राप्तिका भिन्न–भिन्न बाटाहरू हुन्। कुन बाटो छिटो, कुन ढिलो भन्ने कुरा व्यक्ति विशेषको प्रवृत्तिमा निर्भर गर्छ। तर सबै मार्गहरू अन्ततः सत्यको खोजीमा नै केन्द्रित छन्। त्यसैले, द्वैत र अद्वैतलाई विरोधात्मक दृष्टिले हेर्नुको सट्टा तिनीहरूलाई परिपूरक दृष्टिले हेर्न आवश्यक छ ।

अन्त्यमा, जो मानिस आफ्नो मतलाई मात्र सही ठान्छ र अरूको दर्शनलाई तुच्छ देखाउने प्रयास गर्छ, ऊ स्वयं अज्ञानताको पराकाष्ठामा पुगेको हुन्छ । धर्म सहिष्णुता र आत्मिक उन्नतिको साधन हो, न कि अहंकार, द्वेष, र वैमनस्य फैलाउने अस्त्र । त्यसैले, द्वैत र अद्वैतलाई समान रूपले सम्मान गर्नु, तिनीहरूको गहिराइ बुझ्नु र आफ्नो रुचिअनुसार मार्ग चयन गर्नु नै सही आध्यात्मिकता हो। कुनै एक मतलाई ठुलो र अर्कोलाई सानो देखाउनु, गाली गर्नु, वा नकार्नु केवल अज्ञानता र दृष्टि भ्रम मात्र हो। यसर्थ, सबैलाई चेतना भया ।

( लेखक कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x