मनकामना हिलक्रेस्ट रिसोर्ट दोस्रो वर्षमा प्रवेश, पहिलो वर्षको सञ्चालन उत्साहजनक
वि.सं.२०८३ मंसिर ७ सोमवार
shares
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनामा सञ्चालित पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले सफल सञ्चालनको एक वर्ष पूरा गरेको छ। मंसिर ८ गतेदेखि रिसोर्ट दोस्रो वर्षमा प्रवेश गरेको हो।
चितवन को-ई समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित यस रिसोर्टले पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ।
मनकामनामा सुविधासम्पन्न र आरामदायी आतिथ्य सेवा उपलब्ध गराउँदै यस क्षेत्रलाई धार्मिक तीर्थाटनमा मात्र सीमित नराखी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
रिसोर्ट समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण भएको यो रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आएको थियो। संस्थापक श्रेष्ठप्रतिको सम्मान र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालनमा आएको दिनसँगै मिलाइएको थियो।
रिसोर्ट व्यवस्थापनले स्वर्गीय श्रेष्ठको दूरदृष्टि र परिकल्पनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
पहिलो वर्षको सफल सञ्चालनमा साथ दिने पाहुना, व्यावसायिक कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय, साझेदार ट्राभल एजेन्सी तथा पर्यटन र आतिथ्य क्षेत्रका सरोकारवालाप्रति रिसोर्टले आभार व्यक्त गरेको छ।
रिसोर्टले आगामी दिनमा सेवाको गुणस्तर, आतिथ्य सत्कार र पर्यटकीय गतिविधिलाई थप स्तरीय बनाउँदै मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्याउने प्रतिबद्धता पनि जनाएको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित मनकामनामा लक्जरी आतिथ्य सेवाको विस्तारले यस क्षेत्रको पर्यटन विकास, स्थानीय आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत थप योगदान पुर्याउनेअपेक्षा गरिएको छ।































