विदेशमा सामान पठाउँदा पनि घुस ! विमानस्थल भन्सारका अधिकृत र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८३ मंसिर ७ सोमवार
shares
काठमाडौं । विदेशमा कुरियरमार्फत सामान पठाउने सेवाग्राहीलाई समेत घुसको बार्गेनिङ गर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार दुवै कर्मचारीले विदेशमा सामान पठाउने सेवाग्राहीको काम सहज बनाइदिने भन्दै आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गरी घुस मागेका थिए। भन्सारसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने बाध्यतालाई अवसर बनाएर सेवाग्राहीसँग रकम असुल्ने गरेको आरोप उनीहरूमाथि लागेको छ।
सेवाग्राहीबाट घुस मागिएको उजुरी परेपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै कर्मचारीलाई रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग रकम मागेको खुलेको आयोगले जनाएको छ। विदेश पठाइने सामानको भन्सार प्रक्रिया अघि बढाउने नाममा उनीहरूले सेवाग्राहीबाट २ हजार ५ सय रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।
सरकारी सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउनुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी नै सेवाग्राहीबाट रकम असुल्ने धन्दामा संलग्न भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गरी मुद्दा दायर गरेको हो।
अख्तियारले दुवै प्रतिवादीका हकमा जनही २ हजार ५ सय रुपैयाँ बिगो कायम गरेको छ। साथै, ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ।































