गुरुजी श्री मंगलदास महाराजको जीवनदर्शन: समाज सेवा र मानव कल्याणका लागि योगदान
वि.सं.२०८१ चैत ३ आइतवार
shares
गुरुजी श्री मंगलदासजी महाराजको जन्म १९५३ वि.सं. आश्विन शुक्ल द्वादशीका दिन इलाम जिल्लाको मेहेलबोटेमा भएको थियो। उहाँका पिताजी कल्याणदास सापकोटा र माताजी नर्वदा थिइन्। डेढ वर्षको उमेरमा परिवार आसाम सर्न पुगेपछि गुरुजीले गुरु पीताम्बरदासजीसँग साक्षात्कार गरे र निजानन्द धर्ममा दीक्षित भए।गुरुजीको ५ वर्षको उमेरमा पिताजीको निधन भयो, जसबाट परिवारमा ठूलो आघात पुग्यो। केही वर्ष पछि, उहाँको परिवार तेजपुर र पन्ना धाममा गए। १२ वर्षको उमेरमा गुरुजी सूरतको महामंगलपुरी धाममा गए र गुरु पीताम्बरदासजीसँग वाणीको तालिम लिए। पछि जामनगर पुगे र गादीपति श्री सुखलाल महाराजको छत्रछायामा तालिम प्राप्त गरे। गुरुजीले सूरतमा गुरु पीताम्बरदासजीको निधन पछि अखण्ड पारायण गरे र शिष्य श्री रंगीदास महाराजलाई सूरतका गादीपति बनाइयो।

सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि माताजीसँगै ब्रह्मचारी मंगलदास मातृ भूमि नेपालमा फर्किएर मानव कल्याणमा लाग्नु भयो । केही समय नेपालमा रहेर कालिम्पोङ् इच्छे वस्तीमा माताजी राजबाईलाई भेट्न जानुभयो । पुनः सूरत फर्केर गणदेवी, वलसाड, अंबाला, बहावलनगर, नागौर आदि नगरका प्रणामी मन्दिरमा पुजारीको रूपमा रहनुभयो । पछि मेरतामा पुगेर वि.सं. १७३१ देखि रेखदेख नगरिएको मन्दिरको जीर्णोद्धार गर्नुभयो । त्यहाँबाट गुरुजी बनारस र चारै धामको पैदल यात्रा गर्दै हरिद्वार पुगेर गंगा किनारमा दिगम्बर भेशमा रहनुभयो । त्यहाँ रहँदा उहाँलाई भारतको पूर्वोत्तर दिशामा गएर जागनी गराउने प्रेरणा मिल्यो । हरिद्वारमै उहाँकी माताजीसँग भेट भयो । त्यहाँबाट दुवैजना पन्ना धाम जानुभयो । पन्नाबाट नेपाल हुँदै उहाँहरू कालिम्पोङको इच्छे वस्ती पुग्नु भयो र कृष्ण प्रणामी मन्दिर सम्हाल्नु भयो ।वि.सं. २०२२ मा गुरुजीले सिलिगुडीमा श्री कृष्ण प्रणामी मन्दिर निर्माण गराउनु भयो। सिलिगुडी मन्दिरमा स्वस्थानी पूर्णिमाको दिनमा वार्षिक मेला गर्ने परम्परा रह्यो । उहाँले अनाथ आश्रमको सुरुवात गराउनु भयो । वि.सं. २०२५ मा गुरुजीले धर्म प्रचार गर्न पूर्वी नेपालका धुलावारी, बुधबारे, शनिश्चरे, दुवागढी आदिको भ्रमण गर्नुभयो ।गुरुजीका हजारौं शिष्य भए । तिनमा पं. हिमकर शास्त्री, पं, भवानी शंकर सापकोटा, पं. सूर्यभक्त सापकोट, श्री माणिकदास, श्री राजदास, श्री राधिकादास, श्री सदानन्द महाराज, श्री टहल किशोर, श्री मोहन प्रियाचार्य, डा. तिलक चैतन्य आदि प्रमुख प्रचारकका रूपमा प्रतिष्ठित हुनुभयो । त्यस्तै उहाँले अनेकौं महिला प्रचारिका तैयार गराउनुभयो । तिनमा माताजी प्रभावती बाई, गुरुमा वसन्त प्रभा, माताजी सरस्वती बाई, गीता बाई, सेवा बाई, भीमा बाई, शान्ति सिंह, तारा घिमिरे, मीरा बाई, शकुन्तला बाई, कृष्णा बाई, लक्ष्मी बाई आदि महिला प्रचारिका तयार हुनुभयो ।
समाज सेवा, मानव कल्याण, अहिंसा र प्रेमका लागि मंगलदास गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। दार्जीलिङ, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर मानव कल्याण र अहिंसाको लागि प्रचार गर्नुभयो । कालिम्पोङ् बजारमा मंगलधाम स्थापना गर्दै अहिंसा , शन्ति, मानव कल्याण र न्यायका लागि अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले वि.सं. २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिरको स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्यका लागि भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालिर ‘आत्म सोपान नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।
वि.सं. २०२९ मा गुरुजीले गुरुजी प्रणामी मिसन ट्रष्टको स्थापना गर्नुभयो । गुरुजीले ‘तुम सेवासे पाओगे पार मार्गलाई अगाडि बढाउनुभयो । गुरुजीले सबैलाई समाज सेवा गर्न प्रेरणा दिनु हुन्थ्यो। उहाँले मन्दिरको साथै स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल आदिको स्थापना गराउनुभयो। वि.सं. २०३५ मा गुरुजीले इटहरीमा बुढी गंगाको किनारमा श्रीकृष्ण प्रणामी मुक्ति धामको स्थापना गर्नुभयो । भारतस्थित पन्नामा पनि धर्मशालाको निर्माण वि.सं. २०३५ मै गराउनुभयो । उहाँले सिलिगुडीमा वि.सं. २०३८ मा १०८ पारायण गराउनु भयो । वि.सं. २०३९ मा गुरुजीबाट मासिक पत्रिका ‘राजविद्याको प्रकाशन सुरु गरियो ।
समाज सेवा , प्रेम, अहिंसा र न्यायका लागि उहाँका सेवा मुलक कार्यहरूमा मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास , विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु , बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु , संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धनमा महत्वपुर्ण योगदान रहेको छ । अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा , धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत, धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा मार्ग दर्शन , श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति, प्रणामी यसवाहरुलाई गोलवद्ध गर्दै सामाजिक कार्यमा अहोरात्र लाग्न श्री कृष्ण प्रणामी युवा संघ गठन गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु , भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु, ,तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु , महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु ,अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु ,समय र श्रमलाई सधैं महत्त्व दिनु , सादगी र सरल जीवनयापन गर्नु गराउनु वाहाँका प्रमुख सेवामुलक कार्यहरु रहेका छन् ।
गुरुजी श्री मंगलदासजी महाराजले आफ्नो जीवनका महत्वपूर्ण अंशलाई समाजका कुरीतिहरू हटाउन समर्पित गरेका थिए। उनले धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातको आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरितिहरूको कठोर विरोध गरेका थिए। त्यस समयमा यस्ता कुरीतिहरू धेरै स्थानमा धर्मको हिस्सा मानिने गरिएको थियो जसले समाजमा असमानता र विभेदको भावनालाई प्रबल बनाएको थियो। गुरुजीले यी सबै कुरीतिहरूलाई समाप्त गर्ने लक्ष्य राखेका थिए र त्यसका लागि उनले सम्पूर्ण जीवनभर कठिन संघर्ष गरेका थिए।
पशुपक्षीको बली दिने प्रथा विशेष गरी धार्मिक अनुष्ठानका रूपमा व्यवहार गरिन्थ्यो जसले प्राचीन समाजको विश्वास र संस्कृतिको अंश बनाएको थियो। तर गुरुजीको दृष्टिकोण यसमा फरक थियो। उनले धर्मका वास्तविक उद्देश्यलाई बुझाउँदै मानव जीवनको पवित्रता र अहिंसा को महत्व बढाए। उहाँको शिक्षाले मानिसलाई दया, करुणा र प्रेमका मार्गमा अघि बढ्न प्रेरित गर्यो। गुरुजीले भन्नुभयो कि धर्म त्यस्तो कुरा होइन जुन केवल कर्मकाण्ड र अनुष्ठानको रूप मात्र हो, बरु यो एक यस्तो जीवनदृष्टिकोण हो जसले मानवता र नैतिकताको पालन गर्दछ।
गुरुजीले जातपातको आधारमा हुने भेदभाव र छुवाछुतको कडा विरोध गरे। उनले सबै जाति र समुदायका मानिसहरूलाई समान अधिकार र सम्मान दिनुपर्ने कुरामा जोड दिए। उनी धर्मको वास्तविक सारलाई बुझाउँदा, जातीय भेदभावको परवाह नगरी सबैलाई एक समान मान्ने विचार राख्थे। उनले समग्र समाजलाई एकता, भाइचारा र समानताको संदेश दिए, जसले समाजमा स्थिरता र शान्ति ल्याउने विश्वास राख्थे।धर्मका कर्मकाण्ड मात्र मान्ने चलनलाई गुरुजीले खारेज गरे र सम्पूर्ण धर्मको उद्देश्य मानवता र समाज कल्याणको मार्गमा अगाडि बढाउनु पर्ने भनाइ प्रस्तुत गरे। उहाँका यी शिक्षाले समाजमा गहिरो परिवर्तन ल्याएको छ, र आज पनि उहाँका सिद्धान्त र कार्यहरूले प्रभाव पारिरहेका छन्।
उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता अनेकौ कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ।
८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालीकामा मुक्तिधाम, झापाको भद्रपुरमा मंगल पार्क निर्माण भएका छन् । अन्त्यमा,
गुरुजी श्री मंगलदासजी महाराजको जीवन दर्शन र कार्यहरू एक व्यक्ति वा समाजको लागि मात्र होइन सम्पूर्ण विश्वका लागि मार्गदर्शन र प्रेरणाका स्रोत बनेका छन्। उहाँको जीवन पद्धति सामाजिक कार्यका महानायक, महान विचारक, दार्शनिक, सुधारक, अहिंसा, मानव कल्याण, दया, सेवा, प्रेम र न्यायका युगिन धरोहरका रूपमा विश्वभर सम्मानित छ। उहाँले जीवनभर जस्तै सरल र सादगीपूर्ण जीवन यापन गर्नुभयो, साथै अन्यलाई पनि यही शिक्षा दिनुभयो कि साँचो धर्म भनेको सादगीमा र मानवता र प्रेमको मार्गमा अघि बढ्नु हो।सहिष्णुता र भाइचारा भनेको भौतिक वा सामाजिक शान्तिका लागि मात्र होइन यसले सम्पूर्ण मानवता र प्रकृतिका बीचमा सन्तुलन र सहजीकरण ल्याउँछ। गुरुजीका शिक्षाले हामीलाई बुझाउँछ कि दया र सेवा भाव नै साँचो धर्म हो, जसले हाम्रो आत्मा र समाजलाई शुद्ध र उन्नत बनाउँछ। उहाँका यी सिद्धान्तले समाजको हरेक तहलाई एकताको सूत्रमा बाँध्ने कार्य गरे र गरेका छन्।
गुरुजीको जीवन दर्शनले समाज कल्याण, सदाचार, नैतिकता, सहिष्णुता, विश्व बन्धुत्व, भाइचारा, सामाजिक न्याय, सुशासन, मानव कल्याण, निष्ठा र असल आचरण जस्ता महत्वपूर्ण गुणहरूको प्रवर्द्धन गर्दछ। उहाँले सधैं सामाजिक अन्याय र असमानताको विरोध गर्नु भयो र सबै वर्गका मानिसहरूलाई समानता र इज्जतका साथ व्यवहार गर्नु पर्ने कुरामा जोड दिनुभयो। उहाँका शिक्षाले व्यक्तिगत र सामूहिक जीवनमा नैतिकता र दयाको अभ्यासको महत्त्वलाई उद्घाटित गरेको छ।गुरुजीका विचारहरूले आजको समयका लागि अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण छ। वर्तमान समयमा पनि जब संसारमा हिंसा, भेदभाव, र अन्यायको सामना भइरहेका छन्, गुरुजीको उपदेश र जीवन दर्शनले शान्ति र सद्भावको आवश्यकता महत्वपूर्ण बनाएको छ। उहाँले सधैं विश्वभरका मानिसहरूलाई मानवतावाद, अहिंसावाद, सामाजिक प्रेम र सद्भावका पक्षमा उभिन आग्रह गर्नुभयो। उहाँका शिक्षाले हामीलाई आफ्नो धर्म र संस्कृतिको सही अर्थ बुझ्न र त्यसका आधारमा समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दछन्।गुरुजीको जीवन दर्शन केवल एक धार्मिक उपदेश मात्र होइन, एक विश्वव्यापी सामाजिक सुधारको अभियानको रूपमा अघि बढिरहेको छ। उनका विचार र कार्यहरूले अहिले पनि प्रेरणा दिने कार्य गरिरहेका छन्, र आगामी भविष्यमा पनि समाजलाई सुधार र शान्ति तर्फ अगाडि बढाउने दिशानिर्देशन प्रदान गर्दै जानेछन्।
( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)






























