राजनीतिक नैतिकताको ह्रास  

17.5K
shares
Nabil bank

 

                       

 

राजनीतिक नैतिकता नेताहरूको कर्तव्यबोध, इमानदारी, जनउत्तरदायित्व, पारदर्शिता र सेवाभाव हो। जब कुनै राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थ, सत्ता मोह, भ्रष्टाचार र जनतालाई धोका दिने गतिविधिमा संलग्न हुन्छ, त्यसलाई राजनीतिक नैतिकताको ह्रास भनिन्छ। आजको नेपालमा यस्ता गतिविधिहरू बारम्बार देखिनु राजनीतिक नैतिकताको गिरावटको संकेत हो।

 

 

नेपालको संविधानले लोकतन्त्र र जनतामाथिको उत्तरदायित्वलाई आफ्नो मूल आधार मानेको छ। सार्वभौमसत्ता जनता स्वयंमा निहित रहेको मान्यता अनुसार राज्य सञ्चालनका सम्पूर्ण निकायहरू जनताको सेवकका रूपमा परिभाषित छन्। जनताले निर्वाचनमार्फत आफ्नो प्रतिनिधि चयन गर्ने अधिकार राख्छन्, जसले उनीहरूको अपेक्षा अनुसार काम गर्नुपर्छ। संविधानले पारदर्शिता, जवाफदेहिता, समावेशिता, र मानव अधिकारको संरक्षणलाई प्राथमिकता दिएको छ। नीति निर्माणदेखि सेवा प्रवाहसम्म नागरिकको सरोकारलाई प्राथमिक मानिने व्यवस्थाले जनउत्तरदायी शासन प्रणालीको सुनिश्चितता गर्दछ। यसले लोकतन्त्रलाई केवल प्रणाली नभई व्यवहारिक अभ्यास बनाउने मार्ग तय गरेको छ। जनताको विश्वास नै लोकतन्त्रको बलियो आधार हो।

 

 

व्यवहारमा नेताहरूले आफ्ना निहित स्वार्थलाई प्राथमिकता दिँदै सत्ताको दुरुपयोग गरिरहेका छन्। मन्त्री र सांसदहरूले आफ्ना नातेदार तथा निकटका व्यक्तिहरूलाई ठेक्का, जागिर, र लाभका अवसरहरूमा प्राथमिकता दिने गरेका छन्। सार्वजनिक सम्पत्तिको दुरुपयोग, सरकारी सवारीको अनावश्यक प्रयोग, र अनुत्पादक विदेश भ्रमणमा जनताको करको पैसा खर्च गर्ने प्रवृत्तिले जनताको विश्वास कमजोर बनाइरहेको छ। यस्ता कार्यहरूले राजनीतिलाई सेवा नभई स्वार्थपूर्तिको माध्यमजस्तो देखाएका छन्। यसरी बढ्दो बेथिति र जवाफदेहीताको अभावका कारण जनतामा राजनीतिप्रति निराशा र अविश्वास गहिरिँदै गएको छ, जसले लोकतन्त्रलाई नै चुनौती दिन सक्छ।

 

 

राजनीतिक दलहरू चुनावको समयमा दिएको प्रतिज्ञा बिर्सेर सत्तामा पुगेपछि आफ्नो मात्र स्वार्थ हेर्छन्। योग्यताको सट्टा नातावाद, कृपावाद र पार्टी हित प्राथमिकतामा पर्छ। भ्रष्टाचारका कैयौँ मुद्दा उजागर हुँदा पनि जिम्मेवार नेताहरू सजायभन्दा जोगिन्छन्, जसले प्रशासनिक प्रणालीमा पनि कमजोरी देखाउँछ।यस्तो अवस्थामा राजनीतिक नैतिकताको ह्रासले निम्त्याउने खतरा गम्भीर हुन्छ—जनताको राजनीतिप्रति विश्वास हराउँछ, युवामा निराशा फैलिन्छ र योग्य मानिसहरू राजनीति प्रवेश गर्न हिच्किचाउँछन्। परिणामस्वरूप, देश कमजोर नेतृत्वको चक्रमा फसिरहन्छ।

 

 

राजनीतिक नैतिकताको ह्रास अन्त्य गर्न शिक्षित, जागरुक र सक्रिय नागरिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। नागरिकहरूले नेताहरूको व्यवहार, प्रतिबद्धता र कार्यशैलीको सूक्ष्म मूल्यांकन गर्नुपर्छ। चुनावका बेलामा गरिएको वाचा पूरा नगर्ने, भ्रष्टाचारमा संलग्न हुने वा जनताप्रति गैरजवाफदेही हुने नेताहरूलाई लोकतान्त्रिक तरिकाबाट अस्वीकार गर्न आवश्यक छ। नागरिकहरूले सत्य, इमानदारी, पारदर्शिता र जनसेवामा विश्वास गर्ने नेतृत्वलाई अघि बढाउनुपर्छ । यस्ता व्यवहारले मात्र राजनीति नैतिकता र उत्तरदायित्वतर्फ उन्मुख हुन्छ। जब नागरिक सचेत, सूचित र जिम्मेवार हुन्छन्, तब राजनीति पनि सुधारिन्छ र लोकतन्त्र बलियो बन्छ।परिवर्तनको आधार जनताको चेतना हो। जब नागरिक सचेत र जागरुक हुन्छन्, तिनीहरूले सही नेताहरूको चयन गर्छन् र भ्रष्टाचार तथा अन्य अनियमितताका विरुद्ध आवाज उठाउँछन्। जागरुक जनताको दबाबले मात्र राजनीति र प्रशासनिक व्यवस्था सुधार गर्न सकिन्छ, जसले समृद्ध र जिम्मेवार समाजको निर्माणमा सहयोग पुर्याउँछ।

 

 

राजनीतिक नैतिकताको ह्रास कुनै व्यक्तिको दोष मात्र होइन यो सम्पूर्ण प्रणाली र नागरिक चेतनाको कमजोरी हो। यो ह्रास रोक्न नागरिक, राजनीतिक दल र राज्य सबैको साझा प्रयास आवश्यक छ। कानुनले मात्र होइन, नैतिक अनुशासनले नै राजनीतिलाई जनताको सेवामा लगाउन सकिन्छ।

 

 

राजनीतिक नैतिकताको ह्रासले लोकतन्त्रलाई कमजोर बनाउँछ। यसले जनतामा विश्वासको संकट पैदा गर्छ। जब नेताहरू आफ्नो स्वार्थका लागि शासन गर्छन्, तब जनताले राजनीतिप्रति असन्तोष र निराशा अनुभव गर्छन्। यस्ता गतिविधिहरूले शासनप्रति आक्रोश र असन्तोष बढाउँछन्, जसले गर्दा समाजमा अशान्ति फैलिन्छ। यसले प्रणालीको स्थिरतामा गम्भीर असर पार्न सक्छ, जसले समग्र देशको विकास र लोकतान्त्रिक प्रक्रियासँग संघर्ष गर्न बाध्य बनाउँछ। यदि राजनीतिक नैतिकता कमजोर बन्यो भने, लोकतन्त्र कमजोर हुन्छ र राज्यको दीर्घकालीन स्थिरता संकटमा पर्छ।

 

 

राजनीतिक नैतिकताको लागि नैतिक अनुशासन, पारदर्शिता, इमानदारी र उत्तरदायित्वपूर्ण आचरणका साथ सार्वजनिक जीवनमा सुधार आवश्यक छ। राजनीतिक नेताहरूलाई आफ्नो कर्तव्य र उत्तरदायित्व बुझाउँदै काम गर्न प्रेरित गर्नुपर्छ। नागरिकहरूले सचेत र सक्रिय भएर जवाफदेही नेतृत्वको माग गर्नुपर्छ र भ्रष्टाचार, असत्यवाद र अव्यवस्था फैलाउने नेताहरूलाई अस्वीकार गर्नुपर्छ। यसले लोकतन्त्रमा पारदर्शिता र ईमानदारीको स्तर उठाउँछ र समृद्ध र जिम्मेवार नेतृत्वको सिर्जना गर्छ। केवल कानुनी दण्डले मात्रै परिणाम ल्याउँदैन, जबसम्म नागरिक र नेताहरू नैतिक रूपमा जिम्मेवार हुँदैनन्, तबसम्म परिवर्तन संभव छैन।राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरूमा नैतिकता, सेवा भाव र जिम्मेवारीको भावना विकास गर्नु पर्छ। राज्यले शिक्षा, नीति र व्यवहारमा नैतिकताको प्रवर्द्धन गर्नुपर्नेछ।सत्य, सेवा र सरलीकरणमा आधारित राजनीति बिना देशको समुन्नति असम्भव छ। त्यसैले यो साझा जिम्मेवारी हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x