आत्मदीप बन्ने बुद्ध सन्देश र आजको समाज

11.5K
shares
Nabil bank

आज हामी भगवान गौतम बुद्धको २५६७ औं जन्म जयन्ती मनाउँदैछौं । शान्ति, करुणा, अहिंसा र आत्मबोधको मार्ग देखाउने यि महामानवको जन्मले मानव सभ्यतालाई ज्ञान र सदमार्गमा अग्रसर गर्‍यो । बुद्धको शिक्षाले हजारौं वर्षसम्म पनि प्रासङ्गिकता गुमाएको छैन, अझ वर्तमान समाजमा त झन् यसको खाँचो गहिरो र जरुरी देखिन्छ ।

 

 

“अप्पो दीपो भव” – अर्थात् “आफैं दीप बन्नुहोस्” भन्ने सन्देशले हामीलाई आत्मनिर्भर, आत्मबोधी र विवेकशील बन्न प्रेरित गर्छ । बुद्धले अरूको भर नपरी, आफ्नै ज्ञान, विवेक र अनुशीलनबाट आत्मप्रकाशमा पुग्न निर्देशन दिएका थिए । आज, जब हामी चारैतिर नकारात्मकता, ईर्ष्या, द्वेष, आक्रोश र अन्याय देख्छौं, तब बुद्धको यही सन्देशले हामीलाई सच्चा बाटो देखाउन सक्छ । हामीलाई आत्मबोध, सहिष्णुता र विवेकमार्गमा अग्रसर हुन प्रेरित गर्छ । अरूलाई दोष दिनु भन्दा पहिले आफैंलाई सुधार्ने, आफ्नो सोच र व्यवहारलाई उज्यालो बनाउने साहस यही सन्देशले दिन्छ । जब हामी आफैं दीप बन्ने प्रयास गर्छौं, तब समाजमा पनि उज्यालो फैलिन्छ । बुद्धको शिक्षाले हामीलाई मानवता, करुणा र आत्मप्रकाशको सत्य मार्ग देखाउँछ, जुन आजको युगमा अत्यन्त जरुरी छ ।

 

 

तर विडम्बनापूर्ण कुरा के छ भने, आजको समाजमा मानिस आफैं बलेर अरूलाई उज्यालो दिने भन्दा पनि अरूलाई जलाएर तमासा हेर्ने प्रवृत्तिमा रमाएको देखिन्छ । सामाजिक सञ्जालमा हुने चरित्र हत्या, एक अर्काप्रति घृणा र द्वेषको भाषा, सफल मान्छेलाई तानाशाह भन्ने मानसिकता, अनि असफल भएकालाई हाँसोको पात्र बनाउने प्रवृत्तिले आजको समाजलाई अँध्यारो बनाइरहेको छ । यस्तो अवस्थामा बुद्धले देखाएको “दीप” को मार्गमा हिँड्नु भनेको आत्मबलिदानमार्फत शान्तिको प्रकाश फैलाउनु हो, न कि आगो झोसेर अरूलाई जलाउनु ।

 

 

बुद्ध आफैंले जीवनभर दुःखीलाई सान्त्वना दिए, अत्याचारीलाई पनि करुणा देखाए र आफ्ना विरोधीहरूलाई पनि प्रेम र क्षमाको पाठ पढाए । आज हामी किन सक्दैनौं त्यही मार्ग अनुसरण गर्न?  किन हामी अरूको सफलता देख्दा प्रेरित हुनेभन्दा पनि जलन महसुस गर्छौं? किन हामी आफैं सुधारिनु भन्दा अरूको आलोचना गर्न रमाउँछौं? हामी अरूको सफलता देख्दा प्रेरित हुने सट्टा जलन महसुस गर्नुको मुख्य कारण हाम्रो अहंकार, असन्तुष्टि र आत्मविश्वासको कमी हो । जब हामी आफैंप्रति पूर्ण सन्तुष्ट छैनौं, तब अरूको प्रगति आफ्नै असफलताको सम्झना जस्तो लाग्छ । त्यसैले आलोचना, निन्दा र जलनमार्फत आफ्नो असफलता छोप्ने कोशिश गरिन्छ । आफैं सुधार्न मेहनत गर्नुपर्छ, तर अरूको आलोचना गर्न सजिलो हुन्छ । यथार्थमा, अरूको सफलता प्रेरणाको स्रोत हो भन्ने बुझ्दा मात्र हामी सकारात्मक सोच्न र अघि बढ्न सक्छौं । बुद्धको शिक्षाले हामीलाई आत्मपरीक्षण र सहिष्णुता सिकाउँछ – जुन नैतिक रूपान्तरणको पहिलो पाइला हो ।

 

 

“अप्पो दीपो भव” को अर्थ आत्मप्रकाशमार्फत अरूलाई उज्यालो दिने हो । दीपक जल्दछ, आफैं बलेर अरूलाई प्रकाश दिन्छ – यो त्यागको प्रतीक हो । आज हामी सबैलाई यही त्याग र सहिष्णुताको आवश्यकता छ । हामीले अरूलाई बुझ्ने, माफ गर्ने र सहयोग गर्ने मनोवृत्ति विकास गर्नु पर्छ ।दीपक आफैं बलेर अन्धकारमा बाटो देखाउँछ – यही त्याग र सेवा बुद्धको सन्देशको मूल आत्मा हो । आजको स्वार्थी संसारमा यस्तो त्याग, सहिष्णुता र करुणाको आवश्यकता झनै बढी छ । हामीले अरूको पीडा बुझ्ने, माफ गर्ने र सहयोग गर्ने क्षमता विकास गर्नुपर्छ । जब हामी आफ्नो अहंकार हटाएर अरूको भलाइका लागि बाँच्न थाल्छौं, त्यहीबेला समाजमा सत्य, शान्ति र सद्भाव स्थापनाको बीउ रोपिन्छ । आत्मदीप बनेर मात्रै हामी साँचो परिवर्तनको स्रोत बन्न सक्छौं ।

 

 

गौतम बुद्धको जयन्ती कुनै धार्मिक कर्मकाण्डमा सीमित हुन हुँदैन, यो त आत्मअन्वेषण र सामाजिक रूपान्तरणको पावन अवसर हो । हामी सबैले आजैदेखि आत्मचिन्तन गरौं – के हामी आफैं दीप बन्न सकिरहेका छौं? के हामी अरूका लागि उज्यालो बन्ने प्रयास गरिरहेका छौं? कि अरूको जीवनमा अँध्यारो थप्ने काम गरिरहेका छौं? यस बुद्ध जयन्तीमा सबैको अन्तरचक्षु खुलोस् – हामी सबैले बुझे कि साँचो सुख अरूको पीडा बुझ्न सक्ने क्षमतामा छ, साँचो बल अरूलाई प्रेम र सहिष्णुता दिन सक्ने साहसमा छ । तबमात्र “अप्पो दीपो भव” को सन्देश जीवनमा सार्थक हुन्छ र साच्चै बुद्ध जयन्तीको अर्थ पनि त्यो बेला पुरा हुन्छ । बुद्ध जयन्तीको शुभकामना ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x