यातायात व्यवसायीको आन्दोलन स्थगित, भोलिदेखि सवारी सञ्चालन
वि.सं.२०८२ जेठ २० मंगलवार
shares
काठमाडौं। गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगन गरेपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरूले आन्दोल कार्यक्रम फिर्ता लिएका छन्।
यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालका अनुसार गण्डकी सरकारको निर्णयको औपचारिक जानकारी पाएसँगै मंगलबार बेलुकाबाटै सवारी सञ्चालन सुरु गर्ने निर्णय गरिएको हो।
“गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं। अहिले फाटफुट सवारी चल्न सक्छ, तर भोलिदेखि सबै गाडीहरू निर्वाधरूपमा सञ्चालन हुनेछन्,” महासचिव नेपालले बताए।
गण्डकी सरकारले ल्याएको राइड सेयरिङ एपसम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरूले सडकमा उत्रँदै आन्दोलन गर्दै आएका थिए। मंगलबार साँझ प्रदेश सरकारले नियमावली स्थगन गरेपछि व्यवसायीले पनि आन्दोलन फिर्ता लिएका हुन्।
यससँगै बुधवार (भोलिदेखि) गण्डकी प्रदेशमा सवारी आवागमन सामान्य र नियमित हुने भएको छ।
































