नीति निर्माणमा विवेक र तथ्यको समायोजन

17.9K
shares
Nabil bank

नीति निर्माण सत्ता सञ्चालनको यन्त्र मात्र होइन, यो राष्ट्र निर्माणको मेरुदण्ड हो। जब शासन विवेकशून्य भावनामा लिप्त हुन्छ, तब विकासका सपना घोषणाको पर्दामा हराउँछन्। तसर्थ, शासनतन्त्रलाई विवेकशील र उत्तरदायी बनाउन तथ्य, अनुसन्धान र व्यवहारिक यथार्थमा आधारित नीतिहरू आवश्यक हुन्छन्। आजको युग अनुमानमा होइन, प्रमाणमा आधारित निर्णयहरूको युग हो — जहाँ निर्णयहरू वैज्ञानिक सोच, सूक्ष्म विश्लेषण र तथ्याङ्कीय आधारमा गरिनुपर्छ।

 

 

नेपालको शासन संरचनामा नीतिगत निर्णयहरू अझै पनि स्वार्थ, सत्ता र समयको राजनीतिक गणितमा केन्द्रित देखिन्छन्। दलगत हितको परिधिमा बन्द नीतिहरूले राष्ट्रको साझा आकाङ्क्षालाई विस्मरण गरिरहेको यथार्थ विडम्बनापूर्ण छ। जब नीति बनाउने मूल उद्देश्य राष्ट्रसेवा नभई दल–सेवा बन्छ, तब नीति घोषणाको लहरोमा मात्र अल्झिन्छ। यस्तो प्रवृत्तिले दीर्घकालीन सुधारको मार्गमा गहिरो रेखा तानिदिन्छ, जहाँ यथार्थभन्दा प्रचार, जिम्मेवारीभन्दा जालझेल र परिणामभन्दा प्रतिमान हाबी हुन्छन्।

 

 

नीति निर्माण एउटा गम्भीर र दूरदर्शी बौद्धिक प्रक्रिया हो, जुन सतही लोकप्रियताभन्दा बढी दीर्घकालीन स्थायित्व, समावेशिता र न्यायमा केन्द्रित हुनुपर्छ। नेपालमा चुनावी चटारो, गठबन्धनको जुहारी वा सामाजिक सञ्जालको हावासँगै नीति निर्माणको मूल स्वरूप नै विकृत हुँदै गएको छ। योजनाहरू बजेट, पूर्वाधार वा प्रभाव मूल्याङ्कनबिनै घोषणा गरिन्छ  । परिणामस्वरूप, जनताको विश्वास खण्डित हुन्छ, सार्वजनिक स्रोतको दुरुपयोग हुन्छ र शासनको नैतिक वैधता क्षीण बन्छ।

 

 

वास्तवमा, अल्पकालीन लोकप्रियता क्षणिक प्रशंसाको भ्रम हो, जसले दीर्घकालीन असफलताका लागि बीउ रोप्न मलजल गर्छ। नीति त यस्तो हुनुपर्छ, जसले समयको परीक्षा पास गरोस्; जसमा समावेशी सोच, प्रमाणाधारित तर्क र विवेकको गहिराइ समाहित होस्। सत्ताले अस्थायी तालिका होइन, स्थायी दृष्टिकोणमा विश्वास गर्नुपर्छ। किनभने राष्ट्रनिर्माण प्रचारले होइन, परिणामले नापिन्छ र त्यो परिणाम विवेक, निष्पक्षता र उत्तरदायित्वमा आधारित नीतिबाट मात्र सम्भव छ।

 

 

शासनभनेको कुर्सीको संख्या मात्र होइन; यो त जनताको जीवनस्तर उकास्ने दायित्व हो। त्यसैले नीति बनाउँदा त्यसको सामाजिक प्रभाव, वर्गीय अन्तर, लैङ्गिक समावेशिता र स्थानिक सन्दर्भमा आधारित मूल्याङ्कन अपरिहार्य हुन्छ। विवेक भनेको बुद्धिमत्ता मात्र होइन, यो त यथार्थलाई स्वीकार्ने साहस र वैज्ञानिक दृष्टिकोण अपनाउने धैर्य पनि हो।

 

 

जब शासनमा विवेक र तथ्यको समायोजन हुन्छ, तब नीतिमा नागरिकको विश्वास, विकासको आधार र न्यायको सुरुवात बन्छ। प्रमाणमूलक सोच र विवेकयुक्त दृष्टिकोणले मात्रै उत्तरदायी र प्रभावकारी शासन सम्भव हुन्छ।

 

 

आजको जटिल र तीव्र रूपले परिवर्तनशील विश्वमा शासनको कुशलता आशय र वाचा मात्रमा सीमित रहन सक्दैन। शासन व्यवस्थाको विश्वसनीयता, उत्तरदायित्व र प्रभावशीलता नीतिगत निर्णयमा प्रयोग गरिने “प्रमाण”को गुणस्तरमा निर्भर हुन थालेको छ। यही सन्दर्भमा, प्रमाणमाआधारित नीतिनिर्माण (Evidence-Based Policymaking) एक सशक्त अवधारणा बनेर उदायो, जसले नीतिगत निर्णयमा अनुभूति, अनुमान वा राजनीतिक पूर्वधारणाको सट्टा तथ्य, तथ्याङ्क, अनुसन्धान र व्यावहारिक अध्ययनको प्रयोगलाई प्राथमिकता दिन्छ।

 

 

नेपालमा नीतिगत निर्माणको सन्दर्भमा अझै पनि राजनीतिक हस्तक्षेप, शक्ति समीकरण, दलगत लाभ र जनचापको तत्कालीन दबाब हावी हुने गरेको पाइन्छ। तथ्यांक प्रयोग गर्ने प्रवृत्ति देखिए पनि त्यसको गहिरो विश्लेषण, विश्वसनीयता मूल्याङ्कन तथा नीति निर्माणमा प्रत्यक्ष रूपले प्रयोग गर्ने चलन न्यून छ। नीति निर्माणमा कुनै खास वर्ग वा समूहको चासोलाई मात्र समेट्ने अभ्यासले व्यापक हित नसमेटिने र परिणामस्वरूप नीतिहरू कार्यान्वयनमा असफल हुने अवस्था सिर्जना हुन्छ। उदाहरणका लागि, बेरोजगारीको समस्या समाधान गर्न तथ्यांकमा आधारित रोजगारीको प्रवृत्ति नहेरी बनाईएका कार्यक्रमहरू टिकाउ र प्रभावकारी हुन सकेका छैनन्।

 

 

प्रमाणआधारित नीतिनिर्माणको मार्गमा विविध चुनौतीहरू छन्। सर्वप्रथम, नेपालमा गुणस्तरीय, अद्यावधिक र पहुँचयोग्य तथ्यांकको अभाव छ। सरकारी तथ्यांक प्रणालीहरू अझै पनि कागजी, बिखण्डित र अविश्वसनीय छन्। दोश्रो, अनुसन्धान संस्थाहरू र विश्वविद्यालयहरू नीतिनिर्माताहरूसँग समन्वयमा छैनन्। तेस्रो, नीतिनिर्माताहरूमा तथ्यांक पढ्ने, विश्लेषण गर्ने र त्यसलाई नीति बनाउन प्रयोग गर्ने सीप तथा मानसिकता अझै विकास भइसकेको छैन। साथै, तटस्थ र स्वतन्त्र अनुसन्धानलाई अझै पनि राजनीतिक पूर्वाग्रहबाट छुट्याउने अभ्यास कमजोर छ।

 

 

यस्ता चुनौतीका बाबजुद पनि समाधानका संभावनाहरू छन्। प्रमाणमा अधारित नीति निर्माणका लागि सबैभन्दा पहिले, तथ्यांक संकलन प्रणालीमा सुधार गर्नुपर्छ – डिजिटल प्रणालीमार्फत एकीकृत, अद्यावधिक र सार्वजनिक पहुँचयोग्य डेटा प्लेटफर्म आवश्यक छ। दोश्रो, सरकारी तथा गैरसरकारी अनुसन्धान संस्थाबीच सहकार्य गर्नुपर्छ। तेस्रो, नीतिनिर्मातालाई डेटा विश्लेषण र वैज्ञानिक दृष्टिकोणमा तालिम दिनुपर्छ। चौथो, प्रत्येक नीतिको प्रभाव मूल्याङ्कन (impact assessment) गर्नुपर्ने व्यवस्था गरिनुपर्छ, जसले भविष्यका नीति निर्णयलाई मार्गनिर्देशन गर्छ। पाँचौं, नागरिक सहभागिता मार्फत जनताको आवश्यकता, भावना र अनुभवलाई तथ्यको रूपमा मान्यता दिइनुपर्छ।

 

अन्तर्राष्ट्रिय अभ्यास

 

भारत

भारत जस्तो विशाल र बहुविधतायुक्त लोकतान्त्रिक राष्ट्रले पछिल्लो समय नीतिनिर्माणमा प्रमाण, तथ्याङ्क र अनुसन्धानलाई समाहित गर्दै विवेकपूर्ण शासनतर्फको यात्रा सुरु गरेको छ। NITI Aayog जस्ता संस्थाहरूले नीतिमा आंकडाको प्रयोग, सामाजिक सूचकांकको मापन र क्षेत्रीय असमानताको विश्लेषणमार्फत प्रमाणमाअधारित नीति निर्माणलाई संस्थागत स्वरूप दिएका छन्।स्वच्छ भारत अभियानदेखि लिएर आयुष्मान भारत स्वास्थ्य बीमा योजनासम्म, अधिकांश कार्यक्रमहरू व्यापक तथ्याङ्क संकलन, क्षेत्रीय भिन्नताको अध्ययन र प्रभाव मूल्याङ्कनको आधारमा संरचित छन्। Aspirational Districts Programme को उदाहरण हेर्दा, भारतले पछाडि परेका जिल्लाहरूको शिक्षा, स्वास्थ्य, कृषि र पोषण सूचकांकको तथ्यात्मक मापनका आधारमा लक्ष्य निर्धारण गरेको पाइन्छ।भारतको नीतिहरूमा ‘real-time monitoring’, ‘data dashboards’, र ‘evidence-based evaluations’ जस्ता आधुनिक औजारहरूको प्रयोगले नीति निर्माणमा उत्तरदायित्व र पारदर्शिता थपिएको छ।

 

युके

युकेको Behavioural Insights Team ले नीतिनिर्माणलाई मनोवैज्ञानिक सूझबुझ र वैज्ञानिक प्रमाणमा आधारित गराई शासनको चरित्रमै रूपान्तरण ल्याएको छ। सन्देशको भाषिक संरचना र सूक्ष्म व्यवहारिक संकेतमार्फत जनचेतना र क्रियाशीलता जगाउने यसको रणनीति अद्वितीय छ।

 

अमेरिका

अमेरिकाको Evidence Act ले शासनमा अनुसन्धान र तथ्याङ्कको प्रयोगलाई केवल विकल्प होइन, कानुनी बाध्यता बनाउँदै नीतिगत सोचको युगान्तकारी परिवर्तनको आधारशिला निर्माण गरेको छ। यसले नीति निर्माणलाई अनुमान, आग्रह र राजनीतिक विवेकको सीमाबाट मुक्त गर्दै वैज्ञानिक प्रमाण, मापनयोग्यता र उत्तरदायित्वको दायरा भित्र्याएको छ। Evidence Act ले सरकारी नीतिहरूलाई मनपरीबाट विवेकसम्म, अस्पष्टताबाट पारदर्शितासम्म र प्रचारवादबाट परिणाममुखी कार्यान्वयनसम्म उन्मुख गराएको छ।

 

फिनल्याण्ड र क्यानडाजस्ता सुशासनमा अग्रणी राष्ट्रहरूले नीतिनिर्माणमा तथ्य, डेटा र समाजशास्त्रीय अनुसन्धानलाई नीति निर्माणको मेरुदण्ड बनाएका छन्। विद्यालय सुधार होस् वा स्वास्थ्य नीतिको रूपरेखा—यी मुलुकहरूले जनजीवनको अध्ययन, सांस्कृतिक सन्दर्भ र व्यवहारिक यथार्थका आधारमा निर्णय लिन्छन्। यसले नीति केवल उपादेय दस्तावेज नभई, सामाजिक न्याय, समावेशिता र दीर्घकालीन परिवर्तनको संवाहक बन्ने सुनिश्चित गर्छ।

 

रुवाण्डा, केन्या, दक्षिण अफ्रिका र घानाजस्ता देशहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र डिजिटल प्रशासनका क्षेत्रमा डेटा संकलन, प्रभाव मूल्याङ्कन र वैज्ञानिक अनुसन्धानको प्रयोग गरेर योजनाहरू तयार गर्न थालेका छन्। विशेषतः African Evidence Network, CLEAR Initiative जस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा प्रमाणमा अधारित निर्णयप्रणाली संस्थागत बन्दै गएको छ।उदाहरणस्वरूप, रुवाण्डाले बालबालिकाको कुपोषण र शिक्षाको गुणस्तर सुधारमा तथ्याङ्कमूलक रणनीति अवलम्बन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। घानाले सामाजिक सुरक्षाका कार्यक्रमहरूमा गरिबीको बहुआयामिक मापन (Multidimensional Poverty Index) प्रयोग गरेर सही लक्षित वर्गको पहिचान गर्न सक्षम भएको छ।

 

नेपालले अब अन्ध-नीति निर्माणको जडबुद्धिपूर्ण परम्परालाई परित्याग गरेर विवेक, तथ्य र वैज्ञानिक दृष्टिकोणमा आधारित शासनपथ अवलम्बन गर्न अपरिहार्य भइसकेको छ। नीतिगत निर्णयहरू राजनीतिक सन्तुलन, आवेग वा लोकप्रसिद्धि भित्र सीमित हुँदा राष्ट्र घोषणाको भारी बोकेको तर परिणाममा शून्यता मात्र बाँकी रहन्छ। प्रमाणमूलक दृष्टिकोणले नीति निर्माणलाई अनुमान र आग्रहको जेलबाट मुक्ति दिई अनुसन्धान, तथ्याङ्कीय अध्ययन र व्यवहारिक मूल्याङ्कनको आधारमा उभ्याउँछ।

 

यथार्थमा आधारित नीति निर्माणले मुलुकको दीर्घकालीन विकास, समावेशीता र सामाजिक न्यायलाई सुनिश्चित गर्दछ—जसले गरिबीको संरचनात्मक समाधानदेखि लिएर सेवाको पहुँच, क्षेत्रीय असमानता र लैङ्गिक विभेदसम्मको अन्त्यतर्फ ठोस कदम चाल्न सकिन्छ। शासन अब भावनात्मक आवेगको लहरमा चल्ने युग समाप्त हुँदैछ।

 

आधुनिक राज्य प्रणालीमा नीति नागरिकको भविष्य र राष्ट्रको नियतिको खाका हो। त्यसैले, वैज्ञानिक सोच, विवेकशील विश्लेषण र प्रमाणमा आधारित निर्णयहरूको संयोजनबाट मात्र राष्ट्र निर्माण सम्भव छ। यो मार्ग कठिन हुन सक्छ, तर दीर्घकालीन स्थायित्व, जनविश्वास र न्यायोचित समृद्धिको एकमात्र सुनिश्चित बाटो यही हो—प्रमाणको उज्यालोमा उभिएको विवेकशील शासन।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x