प्रविधि र नवप्रवर्तनले बहुस्तरीय शासनमा ल्याएका अवसर र चुनौतीहरू

15.7K
shares
Nabil bank

 

प्रविधि र नवप्रवर्तनले बहुस्तरीय शासनमा अभूतपूर्व अवसरहरू सिर्जना गर्दै शासन प्रक्रियामा गुणात्मक सुधार ल्याएको छ। डिजिटल शासन र ई–सेवाले सरकारी कामकाजलाई जनसामु सजिलो, छरितो र पारदर्शी बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। नेपाल जस्ता बहुस्तरीय शासन व्यवस्था भएका मुलुकमा प्रविधिको पहुँच विस्तारले केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रवाहमय बनाइदिएको छ। नागरिकहरूले डिजिटल माध्यमबाट सजिलै सेवा प्राप्त गर्न सक्ने वातावरण बनेकोले सरकारी सेवाहरूको पहुँच र गुणस्तरमा उल्लेखनीय वृद्धिदेखिएको छ। यसले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक झन्झट कम गर्ने र जनताको सहभागिता बढाउने दिशामा थप बल पुर्‍याएको छ।

प्रविधिको सशक्त प्रयोगले पारदर्शिता र जवाफदेहितालाई दिगो बनाउन पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ। डिजिटल प्रणालीमा अभिलेख राखिने र अनलाइन प्रणालीमार्फत सरकारी निर्णय, योजना तथा वित्तीय विवरणहरु सजिलै जनसामु उपलब्ध गराउँदा, भ्रष्टाचार र अनियमितताका सम्भावना घट्छन्। यसले शासनमा सामाजिक उत्तरदायित्व र भरोसा कायम गर्न मद्दत पुर्‍याउँछ। साथै, प्रविधिले नागरिक सहभागिता र संचार माध्यमलाई समेत सहज तुल्याएर जनताको आवाजलाई सरकारसम्म पुग्न सशक्त बनाएको छ। यसरी, नवप्रवर्तनले शासनलाई पारदर्शी र उत्तरदायी बनाउने दिशामा दिगो प्रगतिका सूत्रपात गरेको छ।

तर, प्रविधिको उपयोगसँगै डिजिटल विभाजन र सङ्गठनात्मक सीमाहरूले चुनौतीहरू पनि जन्माएका छन्। नेपालजस्तो विकासशील मुलुकमा प्रविधिको पहुँचमा व्यापक असमानता विद्यमान छ, जसले ग्रामीण तथा विकट क्षेत्रमा बस्ने नागरिकहरूलाई डिजिटल सेवाबाट वञ्चित बनाउँछ। यसले बहुस्तरीय शासनमा सेवाको समान वितरणमा खलल पुर्‍याउँछ र सामाजिक विभाजनलाई अझ गहिरो बनाउने जोखिम हुन्छ। साथै, प्रविधिको उचित व्यवस्थापन र दक्ष जनशक्तिको अभावले पनि सरकारी कार्यालयहरूमा नवप्रवर्तनको प्रभावकारी कार्यान्वयनमा बाधा पुर्‍याउँछ। डिजिटल सुरक्षाका चुनौतीहरू, गोपनीयता संरक्षण र प्रविधिमा निर्भरता बढ्दा प्रणालीगत कमजोरीहरू पनि देखा परेका छन्। यी चुनौतीहरूको सामना गर्न आवश्यक छ व्यापक नीतिगत सुधार, प्राविधिक प्रशिक्षण र समावेशी प्रविधि पहुँच सुनिश्चित गर्न, जसले बहुस्तरीय शासनमा प्रविधिको प्रभावकारिता र दीर्घकालीन विकास सुनिश्चित गर्न सकोस्।

बहुस्तरीय शासन एक आधुनिक र नवीन शासकीय पद्धति हो जसले विभिन्न तहका सरकार, सार्वजनिक संस्थाहरू, निजी क्षेत्र र गैरसरकारी संगठनहरूको सहभागिता समेट्छ। यस पद्धतिमा शासनका प्रक्रिया र निर्णयहरू विभिन्न तह र स्तरमा वितरण गरिन्छ—राष्ट्रिय, उपराष्ट्रिय र परराष्ट्रिय स्तरमा। यसले शासकीय व्यवस्थामा बहुल पक्षहरूको उपस्थिति र सहभागितालाई महत्त्व दिन्छ, जसको उद्देश्य नीति निर्माण, कार्यान्वयन र निगरानीमा विभिन्न सरोकारवाला पक्षहरूको प्रभाव र सहभागिता सुनिश्चित गर्नु हो।

यो शासन प्रणालीले विभिन्न तहहरूको सहकार्य र परस्पर निर्भरता सुनिश्चित गर्दछ। राष्ट्रिय सरकारले राष्ट्रिय स्तरमा नीति र कानूनी व्यवस्था तयार गर्नको लागि प्रमुख भूमिका निभाउँछ भने स्थानीय र उपराष्ट्रिय सरकारहरूले यी नीतिहरूलाई स्थानिय स्तरमा कार्यान्वयन गर्ने काम गर्छन्। परराष्ट्रिय तहमा विभिन्न अन्तर्राष्ट्रिय संझौताहरू, क्षेत्रीय गठबन्धन र वैश्विक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, जसले विविध राष्ट्रहरूको बीचमा साझा मुद्दाहरू समाधान गर्न मद्दत पुर्याउँछन्।

बहुस्तरीय शासनले शक्ति र जिम्मेवारीको विकेन्द्रीकरणमार्फत संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै लोकतान्त्रिक, पारदर्शी र उत्तरदायी शासन सुनिश्चित गर्छ। यस पद्धतिले विविध सरोकारवाला पक्षहरूलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सशक्त सहभागी गराउँदै समावेशिता र सामाजिक न्यायलाई प्रोत्साहित गर्छ। तर नेपालजस्तो विकासोन्मुख राष्ट्रमा, बहुस्तरीय शासनको सफल कार्यान्वयनका लागि केवल संस्थागत संरचना मात्र होइन, आधुनिक प्रविधि र नवप्रवर्तनको उपयोग अपरिहार्य छ। प्रविधि र नवप्रवर्तनले शासनका प्रत्येक तहमा सञ्चार, सूचना प्रवाह र सेवा वितरणलाई तीव्र र पारदर्शी बनाउँदा बहुस्तरीय शासनको क्षमता र प्रभावकारिता अभिवृद्धि हुन्छ।

डिजिटल शासन र ई–सेवाले नागरिकलाई सेवा केन्द्रित, सजिलो र छरितो शासनको अनुभव दिन्छन्, जसले राज्य र जनताको बीचको दूरी कम गरी विश्वास र सहभागिता बढाउँछ। बहुस्तरीय शासनमा विभिन्न तहहरू बीचको सहकार्य प्रविधिको माध्यमबाट सहज हुन्छ; सूचना प्रवाहमा निरन्तरता र जवाफदेहिता सुनिश्चित हुन्छ। यद्यपि, प्रविधिको पहुँचमा रहेको डिजिटल विभाजनले ग्रामीण तथा सिमान्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सेवा र सूचनाबाट वञ्चित पार्ने जोखिम पनि बढाउँछ, जसले समावेशी शासनको सिद्धान्तमा चुनौती प्रस्तुत गर्छ। यसकारण, प्रविधिको सुसंगत र समान पहुँच सुनिश्चित गर्नु नै बहुस्तरीय शासनलाई सबल बनाउने आधार हो।

नेपालको बहुस्तरीय शासन व्यवस्थामा प्रविधि र नवप्रवर्तनको प्रभावकारी प्रयोगले मात्र शासनका चुनौतीहरू, जस्तै असमानता, अधिकारहरूको दोहोरोपन र सेवाको गुणस्तरमा हुने भिन्नतालाई समाधान गर्न सकिन्छ। यसले शासनलाई आधुनिक र दिगो बनाउँछ, जहाँ प्रत्येक तहले आफ्नो क्षेत्रको विशिष्ट आवश्यकतालाई प्रविधिको सहयोगमा छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ। यस्तै समन्वय र सूचना प्रवाहले बहुस्तरीय शासनमा विद्यमान जटिलता र विवादलाई न्यूनिकरण गर्दै राष्ट्रिय समृद्धि र सामाजिक एकतालाई प्रवर्द्धन गर्नेछ। अतः बहुस्तरीय शासन र प्रविधिको समन्वय नेपाललाई भविष्यको लोकतान्त्रिक र समावेशी शासनको मार्गमा अग्रसर बनाउने अत्यावश्यक साधन हुन्।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x