घुम्ने ढोका : सत्ता र निजी स्वार्थबीचको साँघुरो सङ्घर्ष

12.8K
shares
Nabil bank

नेपालको संविधानले घोषणा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको परिभाषा केवल नक्सामा टाँसिएको रंगीन स्वप्न होइन, यो राज्य संयन्त्र र सार्वजनिक प्रशासनलाई नवीनीकरण गर्ने गहन प्रतिज्ञा हो। तर यथार्थमा, राजनीतिक पुनर्संरचनाको विजयगाथा गाइरहँदा प्रशासनिक पुनर्संरचना घिस्रिरहेको एउटा लङडो यात्रु बनेको छ। यस लङडो यात्रुको मेरुदण्ड हो कर्मचारी प्रशासन, र कर्मचारी प्रशासनलाई वैधानिकता दिने निजामती ऐन, जुन ऐन अहिलेका परिवर्तित व्यवस्थाको माग र संविधानको मर्मसँग मेल खाने गरी समयसापेक्ष परिमार्जन हुनुपर्ने अपरिहार्यता बोकेर संसदको शीतल बत्तीमुनि बसेको छ। यसै ऐनभित्र ‘घुम्ने ढोका’ (Revolving Door) जस्तो विषयले बहस र सुधारको दिशालाई निर्धारण गर्ने छ।
नेपालको नांगो नीतिनगरीमा ‘घुम्ने ढोका’भनेको सत्ता र स्वार्थबीचको साँघुरो सुरुङ हो जहाँबाट नीति नायकहरू निजामती नक्शाबाट निजी नफाको नाङ्गो नृत्यतिर फुत्कन्छन्, अनि ‘राष्ट्रसेवा’को रटान लगाउने मुखमैतीहरूले निजी बोर्डरुममा बिलासिताको बिस्कुट चपाउँछन्। सरकारी शक्ति, गोप्य सूचना र नीति निर्माणको नसा चुस्न आएका निजी क्षेत्रका ब्वाँसाहरू भित्र पसेपछि ‘जनहित’लाई जिन्दगानीको ज्यानै नलिई उधिनिदिन्छन्।

यो घुम्ने ढोका सुशासनको सिन्कालाई स्वार्थको सुपारीले कुट्ने करकट क्यान्सर हो, जहाँ नीति निर्माता, परामर्शदाता र मन्त्रीहरूको ‘बुद्धि बेच्ने बजार’ फस्टाउँछ। विडम्बना त के छ भने, ‘श्वेत कपडामा शुद्धता बेच्नेहरूले’ नै कानुनी खुट्किलाको प्रयोग गरी निजी कम्पनीको कोठामा बसेर ‘गोप्य नीति फाइल’ खोल्ने गर्छन्। लोभलालचको लहरमा लटपटिएका लबिङ लुगा लगाएका नेता-निजामतीहरू, ‘घुम्ने ढोकाबाट गुज्रिएर’ फेरि सार्वजनिक क्षेत्रमै ‘परिवर्तनको पात्र’ भएर फर्किन्छन्।

यदि कुलिङ-अफको कडा काँडेतारले यो घुम्ने ढोकालाई थुन्न सकिएन भने, ‘सुशासनको सुगन्ध भुलेर स्वार्थको सडेको सौन्दर्यमा रमाउनेहरू’ अझै फस्टाउँछन्। सत्ता र निजी स्वार्थबीचको यो साँघुरो सङ्घर्षमा, नीति निर्माताले नीति बनाउनुपर्ने कि निजामतीले नाफा साट्ने उद्योग खोल्ने भन्ने अन्योल चुलिन्छ। जब नीति लाटो र लोभ चतुर हुन्छ, शासनको आत्मा भुईमा छटपटिन्छ।

‘घुम्ने ढोका’ सार्वजनिक सत्ता र निजी स्वार्थबीचको साँघुरो द्वार हो, जहाँबाट नीतिनिर्माणकर्ता, प्रशासक र राजनीतिक शक्तिकेन्द्रहरू निजी क्षेत्रको आलिंगनमा बिलाएर सत्ताको गन्ध बेच्न पुग्छन्। सरकारी अनुभव, सूचनाको अन्तर्दृष्टि, नेटवर्किङको सञ्जाल र शक्तिको साङ्लालाई निजी क्षेत्रको स्वार्थमा प्रयोग गर्ने अवसर खोजिन्छ, अनि यथोचित नियमन नभए यो ढोका भ्रष्टाचार, पक्षपात र गोप्य सूचनाको लूटको ‘सुलभ प्रवेशद्वार’ बन्न पुग्छ।

‘घुम्ने ढोका’को अभ्यासमा सत्ताको सर्प र स्वार्थको सिँढी सँगै खेलिरहेका हुन्छन्। सरकारी संयन्त्रबाट अवकाश पाएका वा जिम्मेवारी छोडेका वरिष्ठ अधिकारीहरू कूटनीतिक, परामर्शदाता, नियामक निकाय, संवैधानिक पदहरू वा निजी संस्थामा प्रवेश गर्छन्, जसले उनका विगतका सरकारी भूमिकाबाट प्राप्त ज्ञान, नेटवर्क र पहुँचलाई निजी लाभमा रूपान्तरण गर्ने सम्भावना बढाउँछ। यता निजी क्षेत्रका शक्तिशाली कार्यकारीहरू सरकारी संयन्त्रमा प्रवेश गर्दा तिनीहरूले ल्याउने दक्षता, कार्यकुशलता र बजार-मैत्री दृष्टिकोण लाभदायक हुन सक्छ, तर नियमनको अभावमा नीति निर्माण, बजेट विनियोजन र सरकारी खरिद प्रक्रियामा व्यवसाय-उन्मुख पूर्वाग्रह, स्वार्थ र अनैतिक साझेदारीहरू निम्त्याउने काली छायाँ पनि बन्न सक्छ।
यो अवसर र जोखिमबीचको द्वन्द्वमा, शासन र निजी क्षेत्रबीचको आवागमनले सुशासनको लहर ल्याउने कि भ्रष्टाचारको आँधी ल्याउने भन्ने प्रश्न उठ्छ। यदि नीति, पारदर्शिता र निगरानीको लयले सन्तुलन नमिलाएमा यो घुम्ने ढोका शक्तिको सुरुङ भएर फेला पर्छ।

क्यानडा र बेलायत जस्ता सुशासनसञ्चालित देशहरूले घुम्ने ढोका नियमनलाई कडा कानूनी दायरामा मात्रै होइन, आचारसंहिता र एथिक्सका मापदण्डमा बाँधेका छन्। उनीहरूले सरकारी रोजगारीपछिको रोजगारी प्रक्रियामा पारदर्शिता र नैतिकताको उच्चतम मापदण्ड पालना गर्छन्। बेलायतमा अकोबा (Advisory Committee on Business Appointments) को परामर्श बिना मन्त्री वा वरिष्ठ निजामती कर्मचारीहरू निजी क्षेत्रमा प्रवेश गर्न सक्दैनन्।
तर नेपालमा यस्तो व्यवस्थाको नाङ्गोपन छ, जहाँ शक्तिशालीहरू कानुनी फोक्सोको प्वालबाट निस्केर निजी क्षेत्रको घुम्तीमा अड्डा जमाइरहेका हुन्छन्। आचारसंहिता र नैतिक मापदण्डहरूलाई पूरक कानूनी संरचनासँग समाहित गरी कठोर कार्यान्वयन संयन्त्रसहित ल्याउन सकिए मात्र यसको जोखिम घटाउन सकिन्छ। आचारसंहिता भनेको महज कागजको अक्षर नभएर शक्ति र विवेकको नैतिक कम्पास बन्नुपर्छ।

विश्वका विभिन्न अभ्यासहरूले देखाउँछन् कि कुलिङ-अफ पिरियड्स (Cooling-off periods) भ्रष्टाचार र कन्फ्लिक्ट अफ इन्टरेस्ट रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो। बेलायत र स्पेनमा दुई वर्षसम्म सार्वजनिक पदबाट अवकाश लिएपछि संवैधानिक वा सरकारी नीति, खरिद र नियमनसँग प्रत्यक्ष सरोकार भएका निजी जागिर लिन निषेध गरिएको छ। अमेरिकामा समेत सरकारी सेवा छोडेका अधिकारीहरूलाई लबिङ वा परामर्श सेवामा सिमितता गरिन्छ।
नेपालमा यस्तो कुलिङ-अफ पिरियड्सको व्यवस्था नहुँदा ‘सत्ता र स्वार्थको सेतै आँखा भएका ब्वाँसाहरू’ निजी क्षेत्रको गोठमा पसेर राज्यको नीतिहरू बेच्न, गोप्य सूचना चुहाउन र अनुचित फाइदा पुर्याउन उन्मुक्त हुन्छन्। कुलिङ-अफ पिरियड्सलाई नेपाली निजामती ऐन र सार्वजनिक प्रशासनमा स्पष्ट र कठोर रूपमा राखी अनिवार्य पालना गराउने व्यवस्था आवश्यक छ। यसले सार्वजनिक पदाधिकारीको लोभ र निजी क्षेत्रको लोलुपतालाई ‘शीतकाल’मा राखी सुशासनको सिँढीलाई चोख्याउनेछ।

‘घुम्ने ढोका’ नियमन गर्नु भनेको कानूनी प्रक्रिया पूरा गर्नु मात्र होइन, यो सुशासनको सुगन्ध फैलाउने दायित्व हो। यसका लागि रोजगारी मापदण्ड, कुलिङ-अफ पिरियड्स, आचारसंहिता, स्वतन्त्र निगरानी संयन्त्र र पारदर्शी अनुमोदन प्रक्रियाहरू एक अर्कामा गुँजिएका तन्तु हुनुपर्छ। अघिल्लो रोजगारको प्रभाव, गोप्य सूचना र नीति निर्माणमा सत्ताको पहुँचलाई निजी क्षेत्रको हातमा जान नदिने, स्वार्थको सडन रोक्ने र सार्वजनिक हितलाई संरक्षण गर्ने अभ्यासका रूपमा यसको परिकल्पना गर्नुपर्छ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामा ‘घुम्ने ढोका’को अनियमितताको अन्त्य हुन सकेमा मात्र शासनको सिङ र नीतिको पखेटा शक्तिशाली बन्नेछन्। यस्तो नियमनले सरकारी सेवा छोडेपछि सार्वजनिक पदाधिकारीहरूलाई पनि उत्तरदायी बनाउनेछ, सुशासनप्रति उनीहरूको कर्तव्य र प्रतिबद्धतालाई बलियो बनाउनेछ र नेपालजस्तो संक्रमणशील समाजमा सुशासनको गगनचुम्बी स्तम्भ निर्माण गर्नेछ। यदि ‘घुम्ने ढोका’लाई विवेकको ताला र निगरानीको कुञ्जीले नथुन्न सकिने हो भने, शासन नांगिन्छ र लोकतन्त्रको आत्मा खिया लागेर मर्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x