कर्णाली करिडोरको आध्यात्मिक पदयात्रा

15.5K
shares
Nabil bank

कर्णालीका कुहिरोले स्पर्श गर्दा मेरो छातीभित्र एउटा शून्य कराउँछ, जुन शून्यले मलाई मेरो अस्तित्वको गहिराइमा लैजान्छ।

आज यो बाटो खुलेको छ, तर बाटो मात्र खुलेको छैन, मेरो अन्तरमनको अवरोध पनि खुलेको छ।
जब म चुवाखोलामा नेपाली सेनाको बेलिब्रिजलाई हेरेर उभिएको थिएँ, म आफैँलाई हेर्दै थिएँ–
हिमालको चिसो हावाले मेरो गालामा हात राखेर सोध्थ्यो–
“यात्रा गरेको थियौ तिमीले, कि केवल सडक खोज्दै हिँडेका थियौ?”
त्यो क्षणमा मैले महसुस गरेँ, बाटो बन्नु केवल विकास होइन, यो मेरो हृदयको दरारमा हराएको तीर्थ हो, जुन आज पत्ता लागेको छ।

जब मैले जहाजमा चढेर कर्णालीको आकाश चिरेँ, मैले उत्सव ठानेँ। तर त्यो उत्सव होइन रहेछ, त्यो त कर्णालीको विवशताको सानो दृश्य रहेछ।
त्यो यात्रामा म आफ्ना पखेटाका कल्पनामा उडिरहेको थिएँ, तर कर्णालीका हर आँखा रित्तो पेट, चर्केको पाउ र अवरुद्ध आकांक्षाको आवाज चिच्याइरहेका थिए।
त्यहीँबाट सुरु भयो मेरो आत्मासाधना।

हिमालहरूको छायाँमा, म हिँडिरहेँ, हावा सँगसँगै सुइँकिरहेको थियो,
खोला झरीसँगै बगिरहेको थियो,
ढुङ्गाका पथरीला बाटाहरूमा हिँड्दा मेरा पाइलाहरूले मसँगै दर्शन सिकाइरहेका थिए।

मैले जिन्दगीलाई धेरैपटक नेतृत्व गर्न खोजेँ, तर मैले आत्मालाई काम गराउन कहिले खोजिनँ।
मैले ‘बाहिर’ परिवर्तन खोजेँ, तर ‘भित्र’ साँचो बाटो खोल्ने आँट कहिले गरेनछु।

कर्णालीको प्रत्येक ढुङ्गा मन्दिर बनेर मलाई मन्त्रोच्चारण गर्दै थियो–
“जीवन देखेजस्तो होइन, भोगेजस्तो हो।”
पानीले पखालिएको पहाडको पाखामा उभिएर मैले महसुस गरेँ, हरेक आँसु एउटा तीर्थ हो, हरेक आर्तनाद एउटा मन्त्र हो, र हरेक प्रतीक्षा एउटा पूजा हो।

जब सेनाले बाटो बनाए, १२३ किलोमिटरको दूरी मापन हुँदा,
कर्णालीका हजारौं आत्माहरूले सास फेरिदिए– उनीहरूको हुर्किएको सपना सडकमा हिँड्न तयार भयो।
त्यस दिन, मैले आफ्नो अन्तरात्मालाई पनि सडकमा हिँड्दै गरेको देखें।

हिमालको हावा भन्छ–
“अब हुम्लाबासीको लागि जहाजको कहर होइन, स्वतन्त्रताको बाटो खुल्यो।”
मेरो हृदय भन्छ–
“यो तिम्रो लागि पनि स्वतन्त्रताको बाटो हो।”

अब बाटो मात्र खुलेको छैन, मेरो आत्माको आँखा खुलेको छ।
पाठ्यपुस्तकका अक्षरहरूले कर्णालीका स्याउ बगैँचामा सुगन्ध पाउनेछन्।
तराईका केटाकेटीहरूले हिमाली हावा सुँघ्नेछन्, र हिमालले उनीहरूको सासमा आफ्नो चिसोपना मिसाउनेछ।
यो भौतिक यात्राको विजय होइन, आत्मिक यात्राको अवसान पनि होइन,
यो त बीचको एक उज्यालो क्षण हो, जहाँ म आफूलाई पुनः भेट्छु।

र म भन्छु:
“हेर त, अब मलाई कुहिरोले नरोक्ने भयो, मैले आत्मालाई आफैंको बाटोमा हिंड्न सिकाएको छु।”

कर्णाली करिडोर  सडक होइन,
यो त हिमालको मौनता र मेरो मनको अव्यक्त वेदनाबीचको सम्झौता हो।
यो त एउटा आत्मसंवाद हो, जसले मलाई भन्छ–
“यात्रा तिमीले थाल्यौ, तर बाटो तिमीलाई बदल्न थाल्यो।”

कर्णालीले मलाई सिकायो—धैर्य भनेको पर्वतको धैर्य हो, जसले आँधी र असिना सहेर पनि मौन मुस्कानमै उभिन्छ। आशा भनेको नदीको बहाव हो, जसले चट्टान र खोंचहरू पार गर्दै पनि आफ्नो गन्तव्य खोजिरहन्छ। मुक्ति भनेको बाटोमा पाइला राख्दै स्वार्थका काँडाहरू बिस्तारै झार्दै अघि बढ्नु हो, जहाँ हरेक पाइलामा जीवनका अवरोधहरू पग्लिन्छन्। कर्णालीका हावाले मलाई भन्यो—यात्रा केवल दूरी नाप्नु होइन, आत्मालाई उज्यालोमा लानु हो। हुम्लाका बाटाहरूले सिकाए—सपना केवल आँखा खोल्दा देखिने होइन, दुःख र प्रतीक्षाको कष्टबीच साँचिने हो। र हरेक यात्राले आत्मालाई फराकिलो बनाउँछ।

जब म सिमकोटमा हिउँको गन्ध सुँघ्दै थिएँ,
म सास लिँदै थिएँ केवल अक्सिजन होइन, एक आध्यात्मिकता।
आज, जब कर्णाली करिडोर खुलेको छ,
हिमालका सपनाहरूका पखेटाहरू खुलिरहेका छन्,
र मभित्रको म पनि विस्तार भइरहेको छ।

र म भन्छु:
“हे कर्णाली,
म तिमीलाई सडक सञ्जालसँग जोडिएको देखेर खुशी छु।
तर म अझ बढी खुशी छु,
कि मैले आफ्नै आत्मालाई पनि स्वतन्त्रताको सञ्जालसँग जोड्न सकेको छु।”

यो कथा, पढेका समाचारभन्दा फरक छ।
यो विकासको तथ्य मात्र होइन, चेतनाको कथा हो।
यो बाटो, गाडीका चक्का गुड्ने मात्र होइन,
हाम्रो आत्माका पखेटाहरू खुल्ने बाटो हो।
जहाँ हरेक यात्रा ध्यान बन्छ,
जहाँ हरेक रोकिएर सास फेरिएको क्षण साधना बन्छ,
जहाँ हरेक उकालो उक्लिएको क्षण मुक्ति बन्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x