निर्लेपता: राज्य सञ्चालनको आत्मा

12.6K
shares
Nabil bank

 

जहाँ राज्यको राजमार्गमा सत्ता र स्वार्थका स्यालहरू दौडिरहेका हुन्छन्, त्यहाँ निर्लेपताको निलो आकास ओझेलमा पर्छ। राज्य सञ्चालन शक्ति र सौन्दर्यको संगम हो—जहाँ न्यायको नाद, विवेकको वाणी र कर्तव्यको कर्मकाण्डले प्रशासनको आत्मा उज्यालो बनाउँछन्।

‘कूलिङ अफ पिरियड’ भनेको व्यक्तिको अवसर खोस्ने काठको कठपुतली हैन,
यो त तृष्णा र तटस्थताबीचको द्वन्द्वमा शान्तिको दीप हो,
अहंकार र अहिंसाबीचको द्वन्द्वमा विवेकको विजय।

पदको परिष्कार बिना अधिकारको अन्धोपनले शासनलाई संकीर्ण बनाउँछ।
‘हिजो सचिव, आज राजनीतिक सहायक’ बन्ने संस्कारले निजामती सेवा तटस्थताको धर्मबाट विचलित हुन्छ।
सेवा निवृत्त भएसँगै अर्को संवेदनशील कुर्सी समात्ने लालसाले राज्यलाई शुद्धताको शिखरबाट तल धकेल्छ।
त्यसैले, ‘कूलिङ अफ पिरियड’ भनेको लोभको लहरलाई संयमको किनारामा रोक्ने अस्त्र हो।
यो राज्यलाई दल, व्यक्ति र गुटका गन्धबाट मुक्त गर्ने सुगन्धित संकल्प हो।

शक्ति भनेको मात्र कुर्सीमा बस्नु होइन, त्यो त सेवा र संकल्पको संगम हो।
शक्ति तब मात्र सुन्दर हुन्छ, जब त्यो सेवामा समर्पित हुन्छ।
जुन दिन सचिव र प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिम्मेवारीलाई कर्तव्यको पूजा मान्छन्,
त्यस दिन नागरिकको आँसु सुनौलो मुस्कानमा रूपान्तरित हुन्छ।
तर जुन दिन उनीहरूले राजनीतिक शक्तिसँग समझौता गर्छन्,
त्यो दिन जनताको आशा अनि विवेकको बिरुवा ओइलिन्छ।

नेपालको आकाशमा जब लोकतन्त्रको बिहान उदायो,
त्यसको सुनौलो किरणसँगै राजनीतिक पहुँचको धुलो पनि उड्यो।
निजामती प्रशासन राजनीतिक छायामा रमाउन थाले,
यो रमाइलो क्षणिक थियो, तर यसको मूल्य चुकाउने जनताहरू बन्दै गए।
यसरी राज्यका कर्मचारी ‘स्वतन्त्र प्रशासक’ होइन,
‘दलीय गोटबन्दीका गोटी’ बन्न थाले।
यो प्रवृत्ति परिवर्तन नगरेसम्म, हाम्रो शासन शुद्ध रहन सक्दैन।

तटस्थता कुनै शुष्क नीति होइन, यो राज्य सञ्चालनको आध्यात्मिक अनुशासन हो।
जुन दिन कर्मचारीले आफ्नो विवेकलाई राजनीतिक पखेटामा बेच्छ,
त्यस दिन धर्मको दीप निभ्छ।
जुन दिन कर्मचारीले निर्णयको तराजुमा न्याय होइन, स्वार्थ तौल्छ,
त्यस दिन राज्यको आत्मा थर्थराउँछ।

‘कूलिङ अफ पिरियड’ भनेको सत्ता र स्वार्थको आँधीबाट निस्किएर,
आफ्नो विवेक र आत्मालाई निर्मल बनाउने दुई वर्षको तपस्या हो।
यो तपस्याले राज्यलाई स्वच्छ हावा दिन्छ,
संस्थाहरूलाई निष्पक्षताको सुगन्ध दिन्छ।
यो तपस्या भनेको सत्ता परिवर्तनसँगै मन्त्रालयको बाली काट्ने निश्चल हँसियालाई रोक्ने उपाय हो।

निजामती सेवा भनेको जनताको दुखमा मलम लगाउने ममतामयी माता हो।
यो सत्ताको सेवक होइन,
जनताको अभिभावक हो।
यसका कर्मचारीहरूको शक्ति न त बिक्नु पर्छ, न त झुक्नु पर्छ।
उनीहरूको विवेक र कर्म, नीति निर्माणदेखि कार्यान्वयनसम्मको कडी हुन्।
तर जब उनीहरू राजनीतिक स्वार्थका शिकार हुन्छन्,
जनताको भरोसा टुक्रिन्छ।

योजनाको ठेक्का, बजेटको बाडफाँड, स्रोतको सिफारिस—
यी सबैमा राजनीतिक पहुँचको रङ्ग मिसियो भने,
राज्यको आत्मा कुहिन्छ।
त्यसैले, कर्मचारीतन्त्रलाई आफ्नै ठाउँमा तटस्थ र पारदर्शी राख्न
नियुक्ति, बढुवा, सरुवामा पारदर्शिताको उज्यालो ल्याउनुपर्छ।

सभ्य शासनको सपना

हामी सभ्य राष्ट्र चाहन्छौं भने,
राजनीति र कर्मचारीबीचको अघोषित साँठगाँठ अन्त्य गर्नुपर्छ।
शासनमा सुशासन, सेवामा पारदर्शिता र कर्तव्यमा करुणा ल्याउनुपर्छ।
शक्ति सेवा बन्नुपर्छ, र सेवा नै शक्तिको सुन्दरतम रूप बन्नुपर्छ।
त्यसैले, ‘कूलिङ अफ पिरियड’ शक्तिको वासना र विवेकको वास्नाबीचको सेतो सीमारेखा हो।
यो सीमारेखाले संस्थाहरूलाई निष्पक्षता र विश्वासको किल्ला बनाउँछ।

हामीलाई शान्त, सुरक्षित र न्यायपूर्ण शासन व्यवस्था चाहिएको छ भने,
हामीले राजनीतिक हस्तक्षेपबाट कर्मचारीतन्त्रलाई बचाउनुपर्छ।
हामीले कर्मचारीलाई सेवक बनाउँनुपर्छ, सत्ता होइन।
हामीले राज्यलाई गुट र व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्छ,
त्यसैले निर्लेपता र निष्पक्षता नै शासनको आत्मा हो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x