भारतको बाढी–पहिरोले कुशे गाउँपालिकामा बज्रपात : एउटै वडाका १३ बेपत्ता
वि.सं.२०८२ साउन २३ शुक्रवार
shares
काठमाडौं।भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोले जाजरकोट जिल्लाको कुशे गाउँपालिका–३ का १३ जना नागरिक बेपत्ता भएका छन्। उत्तरकाशी अन्तर्गतको हर्षिल क्षेत्रस्थित थराली गाउँमा श्रावण २० गते भएको ‘क्लाउड ब्रस्ट’ (अचानक भारी वर्षा) पछिको बाढी र पहिरोमा उनीहरू हराएका हुन्।
कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै वडा नं. ३ का १३ जना तथा अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कविहीन रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “उक्त बाढी तथा पहिरोमा परेर कुशे गाउँपालिका–२ का १३ जना र अन्य वडाका केही नागरिक सम्पर्कमा नरहेकाले हराएको हुन सक्ने आशंका गरिएको छ।”
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायलाई खोज तथा उद्धार कार्यलाई द्रुत, प्रभावकारी र कूटनीतिक माध्यमबाट अगाडि बढाउन अनुरोध गरिएको छ।
उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा आएको उक्त बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।































